बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको संगमस्थलका रूपमा रहेको खप्तड क्षेत्र प्राकृतिक सौन्दर्यको खानी हो ।
खप्तड सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकिय स्थलका रूपमा रहेको छ। साथै, खप्तड बाबाले तपस्या गरेको पवित्र ठाउँपनि हो। यहाँ २२ वटा पाटन र ५३ वटा थुम्काहरू तथा त्यहाँको सौन्दर्यले खप्तड भूस्वर्गझैं लाग्छ ।
पौराणिक कालमा सिद्ध तथा ऋषिमुनिहरूले तपस्या गरेको यस क्षेत्रलाई पुराणमा समेत खेचरादी पर्वतका रूपमा वर्णन गरिएको छ।समुद्र सतहबाट ३ हजार मिटर उचाइमा रहेको खप्तड क्षेत्रको क्षेत्रफल २ सय २५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।
खप्तड क्षेत्रमा खप्तड बाबाको कुटी, त्रिवेणी नदी, खप्पर दह, शिवमन्दिर, सहस्र लिंग, गणेशस्थान, नागढुंगा, केदारढुंगाजस्ता धार्मिक स्थलहरूले खप्तड क्षेत्रलाई निकै प्रख्यात बनाएका छन् । खप्तड क्षेत्रमा ठूला र साना गरी २२ वटा फाँटहरू छन् जुन यहाँका प्रमुख आकर्षण हुन् ।
दुईसय ६० प्रजातीका चरा, पाचँसय किसिमका जडिबुटी, बिभिन्न किसिमका फूलहरुले सिंगारिएको खप्तड धर्तिकै स्वर्ग भूमि भन्दापनि हुन्छ । जैबिक बिबिधताले भरिपूर्ण यो ठाँउ प्रकृति प्रेमि, अनुसन्धानकर्ताहरुको लागि महत्वपूर्ण छ । यसको संरक्षण गर्न सरकारले सन १९८४ मा खप्तड राष्ट्रिय निकुञ्जको घोषणा गरेको थियो ।
अहिले नेपाली सेनाले यसको संरक्षण गरी राखेको छ । खप्तड क्षेत्रलाई अझ ब्यवस्थित गर्न र पर्यटन बिकासका पूर्बाधार तयार गर्न सरकारले २०६३ सालमा खप्तड क्षेत्र पर्यटन बिकास समिति गठन गरेको हो । खप्तड आश्रम, त्रिवेणी, सहस्रलिङ्ग, खडुली, डडुली, माईको थान, खापर मष्टा माण्डु, खापर दह, नागढुङ्गा, डाँफेकोट यहाँका धार्मिक तथा पौराणीक स्थलहरु हुन ।
यस ठाउँमा ब्रहमलिन १००८ खप्तड स्वामी श्री सच्चिनानन्द सरस्वतीले तपस्या र साधना गरेकाले यस क्षेत्रको महत्व अझ बढाएको छ । त्यहाँ उनले प्रयोग गरेका कपडा, लत्ता, जुत्ता, पादुका, ओछयानको रुपमा प्रयोग गरेका मृग, बाघ, भालु, कस्तुरी आदिका छाला, संगीतका साधन हेर्न पाईन्छ । समग्रमा खप्तड आफै प्रकृतिको एक जीबित संग्राहालय पनि हो ।
अहिलेको समय केही हरियाली रहेको खप्तड क्षेत्र पुस महीनापछि सेताम्मे हिउँले ढाकेको देख्न सकिन्छ । जेठदेखि असारसम्म विशाल फाँटहरूमा रंगीचंगी फूलले ढाकिन्छ खप्तड । खप्तडमा खप्तड बाबाले ५० वर्ष बिताएका थिए । खप्तड पुगेर हेर्नैपर्ने मुख्य ठाउँ खप्तड बाबा आश्रम पनि हो।
त्यहाँ बाबाको मूर्तिका साथै बाबाले प्रयोग गरेका केही सामानहरु पनि देख्न सकिन्छ । उक्त ठाउँमा बाबाले योग र ध्यान गरेका थिए र थुप्रै किताबहरु पनि लेखेका थिए । उनले धर्मविज्ञान, विचार विज्ञान, स्वास्थ्य विज्ञान, म र मेरो कर्तव्य, नारीधर्म र पुरुषधर्म, आत्म ज्ञान, योग विज्ञान, वेदान्त विज्ञान, आरोग्य विज्ञानलगायत पुस्तक लेखेका छन् ।
यस क्षेत्र भित्र खप्तड राष्ट्रिय निकुञ्ज, नागढुंगा, खापर दह, सहस्र लिंग, त्रिवेणीधाम, पाटन, खप्तड दह (ताल), खप्तड बाबाको आश्रम तथा विभिन्न किसिमका वनस्पतीहरु र चराचुरुंगीहरु रहेका छन्। खप्तड राष्ट्रिय निकुञ्ज पश्चिम नेपालको सेती अञ्चलका ४ पहाडी जिल्लाहरू बझाङ जिल्ला, बाजुरा जिल्ला, डोटी जिल्ला र अछाम जिल्ला संगम स्थलमा अवस्थित छ।
खस्रेभ्यागुता र बझांगे पाहा गरी दुई प्रजातिका रैथाने उभयचर, बाघबुट्टे निगांलो पाइने यो नेपालको एक मात्र राष्ट्रिय निकुञ्ज हो । विश्वकै दुर्लभ जातिको हरियो छेपारो यहाँ पाइन्छ । बाह्रै महिना पानीको सतह एकै नासको हुने विशेषता रहेको १ सय ५० मिटर लम्बाई ५० मिटर चौडाई रहेको खप्तड दह छ भने ५२ वटा ताल (दह) रहेका छन्।
–खप्तडको ऐतिहासिकता
पौराणिककालमा ऋषिमुनिहरूले तपस्या गरेको यो क्षेत्रलाई ‘खेचरादी’ पर्वतका रूपमा वर्णन गरिएको छ । खेचरादी पर्वतको नाम विस्तारै अपभ्रंश हुँदै खप्तड रहन गएको किंवदन्ती छ । पौराणिकताअनुसार पाण्डवहरूले १४ वर्ष वनबास बस्दा केही समय खप्तडमा पनि बिताएका थिए । खप्तडमा भीमले हलो जोत्दा माटोबाट थुम्का (झोती) बनेको कथन छ ।
खप्तडमा रहेको केदार ढुङ्गा पनि पाण्डप भाइ भीमले भारतको केदारनाथबाट गादो (शरीरमा लगाएको अगाडिपट्टिको भाग) मा बोकेर ल्याएको स्थानीयहरू बताउँछन् । त्रिवेणी पाटनमा केदारढुङ्गा राखेपछि त्यो ठाउँमा पानीको मूल फुटेको किंवदन्ती छ ।
यसरी नै खप्तडमा रहेका चर्चित स्थान सीतापाइला, छिन्तेढुङ्गा, जेठी बहुरानी ढुङ्गा, नागढुङ्गा, सहस्त्रलिङ्ग, खप्तड दह, त्रिवेणी, डाँफेकोट, बलेमेला, माइकाथान, सुकी दहलगायतका चर्चित ठाउँहरूको छुट्टै पौराणिकता रहेको छ । त्योमध्ये केही स्थानमा भने स्थानीयले शिवको रूपमा पूजाआजा गर्छन् ।
खप्तडमा के–के पाइन्छ ?
बझाङ, बाजुरा, अछाम र डोटीको सङ्गमस्थल खप्तड राष्ट्रिय निकुञ्जले मध्यपहाडी वातावरण, वनस्पति र वन्यजन्तुको प्रतिनिधित्व गर्दछ । यो क्षेत्रमा झुलेसल्लो, खस्रु, पाउमेल, निगाला, भोजपत्र, गुराँस, रानीसल्लो, ठिगेसल्लो, लौठसल्लालगायतका रूख–वनस्पति पाइन्छन् भने कालकुट, पाँचऔंले, नीरमसी, सतुवा, वायुजडी, हत्वाजडी, गँदाल्नो, वनप्याजजस्ता सयौँ प्रकारका जडीबुटी पाइन्छन् । हरियो छेपारो, खस्रे भ्यागुता, बझाङे पाहा आदि दुर्लभ जीवदेखि भालु, बँदेल, कस्तुरी, चितुवा आदि जनावर खप्तडमा प्रशस्तै भेटिन्छन् ।
तथ्याङ्कमा हेर्दा खप्तडमा वन क्षेत्र १९९.७३, घाँसेमैदान १३.४७, कृषिभूमि ९ र झाडी बुट्यान २.८ वर्गकिमीमा फैलिएको छ । खप्तडमा ३८२ प्रकारका रूख, वनस्पति तथा जडीबुटी पाइन्छन् । जसमा रूख ५७, बुट्यान ७८, घाँसपात २०३, लहरा आठ र उन्यु १९ प्रजातिको भएको खप्तड राष्ट्रिय निकुञ्ज कार्यालयको तथ्याङ्कमा उल्लेख छ । कार्यालयको तथ्याङ्कअनुसार १२ वटा गुफा भएको खप्तड क्षेत्रमा दुई सय ८७ प्रजातिका पक्षी, २३ प्रजातिका स्तनधारी, १७ प्रजातिका सरिसृप र छ उभयचर प्रजातिका वन्यजन्तु पाइन्छन् ।
कसरी पुग्ने ?
काठमाडौंदेखि धनगढी ६५० किमी बसयात्रा गरेपछि धनगढीदेखि डोटीको सिलगढीसम्म ८ घण्टाको बस चढ्नुपर्छ । अथवा नेपालगञ्जबाट हवाईजहाजद्वारा डोटी उत्रिन पनि सकिन्छ। यदि हेलिकोप्टरको व्यवस्था गर्न सकिन्छ भने सोझै खप्तडमा पनि अवतरण गर्न सकिन्छ।
बसबाट यात्रा गर्नेहरुको लागि भने सिलगढीबाट पैदल यात्रा सुरु हुन्छ । डोटीको सिलगढीदेखि शुरु भएको पैदल यात्राको पहिलो दिन झिगराना पुगिन्छ र दोस्रो दिन खप्तड राष्ट्रिय निकुञ्ज प्रवेशसँगै त्रिवेणी मन्दिर पुगिन्छ । बगलेगसम्म जीप पनि चल्ने भएकाले जीप रिजर्भ गरेर पनि जान सकिन्छ।
झिंग्रानादेखि देखिन थाल्छन मनोरम दृश्य । अनि विश्वमै दुर्लभ हरिया रङका छेपाराहरु । त्यहाँबाट घना जंगलै जंगल पाँच घन्टा हिँडेपछि बीचपानीमा बस्नुपर्ने हुन्छ ।
बीचपानीमा तीनओटा खोलाको संगममा त्रिवेणी मन्दिर छ । त्रिवेणी मन्दिरबाट खप्तडका प्रख्यात मानिने गणेश मन्दिर, घोडादाउने पाटन, सहस्रलिंग, नागढुंगा, केदारढुंगा तथा खप्तड बाबाको आश्रम स्थल हेर्न पाइन्छ ।
खप्तडमा दुईओटा साना होटल छन् । ती होटल खप्तड मेलामा मात्र खुल्छन् । यहाँ बास बस्नका लागि चारओटा धर्मशाला छन् ।
खप्तड कुन समय जाँदा उपयुक्त ?
खप्तडमा बर्षैभरी घुम्न सकिन्छ । जेठ, असार रसाउनमा खप्तडका पाटनहरु भुईफुलले ढक्कमक्क हुन्छन । रंगिचंगी अनगिन्ति फूलहरु पाटनमा कार्पेट बिच्छ्याईसरी नै लाग्छ । असोज, कार्तिक, मंसिर, पुष, माघ, फागुनसम्म हिउले ढाकिएको दृश्यले खप्तड कम सुन्दर देखिदैन ।
चौतर्फी फूलेका लालीगुरासले फागुन चैत र बैशाखमा खप्तड ध्वजापताकाले सिंगारेको बेहुली मण्डप झै लाग्छ । खप्तडमा सात थरीका लाली गुरास फुल्छन । खप्तडको डाँफे कोट र भ्यु टावरबाट भारतको नन्दादेवी हिमालदेखि दार्चुलाको अपी, बझाङ सैपाल र बाजुराको बडी मालिका लगायत एक दर्जनभन्दा बढि हिमाल हेर्न पाइन्छन ।
खर्च र समय कति ?
काठमाडौँबाट खप्तड पुग्न, घुम्न र फर्कन ठूलो खर्च लाग्दैन । काठमाडौँबाट हवाइजहाजमा धनगढी पुग्न एक घण्टामा छ–आठ हजारसम्मको टिकट मूल्य लाग्छ । त्यस्तै धनगढी–बझाङ हवाई टिकट रु पाँच हजार तोकिएको छ । हवाई यात्रामा करिब १२ हजार खर्च हुन्छ बझाङको देवल विमानस्थल पुग्न । त्यसै दिन खप्तड पुग्न सकिन्छ । विमानस्थलबाट खप्तड पुग्नसम्म बाटोमा खाना, खाजामा बढीमा दुई हजार खर्च हुन्छ । हवाईयात्रा गर्दा काठमाडौँबाट बझाङ पुग्न १४ हजार खर्च हुन्छ ।
बसमा जाँदा राजधानीबाट दुई हजार दुई सयमा १५ घण्टापछि कैलालीको अत्तरिया पुगिन्छ । अत्तरियाबाट खप्तड जानका लागि खप्तड राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रसम्म एक हजार पाँच सयसम्म गाडी भाडा लाग्छ । बेलुका अत्तरियाबाट हिँड्दा भोलिपल्ट बिहान बझाङको तमैल बजार पुगिन्छ ।
तमैलबाट दिउँसो १२ बजेसम्ममा खप्तडछान्नाको मेल्तडी पुगिन्छ । मेल्तडी खाना–खाजा खाएर केहीबेर आराम गरेर हिँडेपछि दिउँसो २–३ बजे खप्तड पाटन पुगिन्छ । बुकिङ गाडीमा भने अत्तरियाबाट एकै दिनमा खप्तडछान्ना र भोलिपल्ट बिहानै खप्तडमा घामझुल्कै (बिहान घामका किरण पर्नु पुग्ने सकिन्छ ।
डोटीबाट खप्तड जाँदा अत्तरियाबाट बुकिङ गाडीमा १० घण्टामा झिग्राना बजार पुगिन्छ । त्यहाँ खान बस्नका लागि राम्रो सुविधा भएका खप्तड होमस्टेलगायतका होटल छन् । सार्वजनिक यातायातमा जान अत्तरियाबाट झिग्रानासम्म रु एक हजार एक सयसम्म गाडीभाडा लाग्छ । हवाईजहाजमा कैलाली–दिपायल रु पाँच हजार लाग्छ ।
काठमाडौँबाट खप्तड गएर काठमाडौँ फर्किँदा एक साताको भ्रमण अवधिमा हवाईजहाज भएर जाँदा न्यूनतम रु ४० हजार खर्च लाग्छ भने गाडीबाट जाँदा न्यूनतम रु २० हजारमा खप्तड भ्रमण गर्न सकिन्छ ।
–आवश्यक सामग्री
खप्तडमा खाने–बस्ने प्रबन्ध राम्रो छ । तर, पनि पाल, स्लिपिङ ब्याग, ड्राइफुड, ज्याकेट, रेनकोट, ऊनीको टोपी, मोजालगायतका न्याना कपडा बोक्नुपर्ने हुन्छ । त्यस्तै बडी, लोसन तथा प्राथमिक स्वास्थ्य सामग्री पनि अनिवार्य लैजानुपर्छ । खप्तडको मौसम पानी पर्दा सहनै नसक्ने चिसो हुन्छ । क्षण–क्षणमै मौसम परिवर्तन हुन्छ ।
१० मिनेटको फरकमा पानी पर्ने र घाम लाग्ने गर्छ । पानी परेपछि ती रमाइला फाँटहरू एकैछिनमा जलासयमा परिणत हुन्छन् । तर, पानी धेरैबेर रोकिँदैन । पानी पर्न छाड्नेबित्तिकै जमिन सुक्खा भइहाल्छ । यो खप्तडको विशेषता हो ।