काठमाडौं/ काठमाडौंको बालाजु स्थित चमतीमा ग्रील तथा स्टील व्यवसायीहरुले बृहत निशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न गरेको छ । ग्रील तथा स्टील क्षेत्रका व्यवसायी मजदुरहरुले लामो समय प्रकाशको विकिरणसँग जुध्नुपर्दछ । जसले आँखामा समस्या आउने सम्भाबना बढि हुन्छ ।
उक्त आँखा शिबिर कार्यक्रम ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपाल र त्रिपुरश्वर आँखा अस्पतालको समन्वयसहित ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौंँ पश्चिम क्षेत्र अन्तर्गत ५ वटा इकाई समितिहरुको सहयोगमा ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौंले आयोजना गरेको हो ।
आँखा शिबिर कार्यक्रमलाई सम्बोधन गर्दै ग्रील तथा स्टील व्यवसायी महासंघका अध्यक्ष ठूलो बाबु श्रेष्ठले यस क्षेत्रका लागि निशुल्क आँखा शिबिर कार्यक्रम एकदमै महत्वपूर्ण रहेको बताए । हामी ग्रील क्षेत्रका उद्योगी मजदुरहरु सबैले कामको सुरुवात आँखाबाटै गर्नुपर्दछ । यसर्थ कामको शिलशिलामा प्रकाशको विकिरणले असर गरेको हुन सक्छ चोटपटक लाग्छ, समय समयमा आँखा जाँच अति आवश्यक छ, उनले भने, ‘ग्रील तथा स्टील क्षेत्रका ब्यवसायी मजदुरहरुले आँखा शिबिरबाट लाभ लिनुपर्दछ ।
अध्यक्ष श्रेष्ठले व्यवसायी मजदुरहरुका हितमा विभिन्न कार्यक्रमहरु लिएर महासंघ अघि बढिरहेको बताए । ‘हामीले विभिन्न मन्त्रालय विभाग तथा अन्य सम्बन्धित क्षेत्रहरुमा ज्ञापन पत्र बुझाएका छौं, उनले भने, ग्रील तथा स्टील क्षेत्रका विषयमा पटक पटक ध्यानाकर्षण गराएका छौं उनले भने, अहिले आर्थिक मन्दीको चपेटमा हाम्रो क्षेत्र पनि परेको छ । व्यवसायीहरु समस्यामा छन् । सरकारले यसको ध्यान दिनुपर्दछ ।’
यसै प्रसंगमा महासंघका अध्यक्ष ठूलो बाबु श्रेष्ठले हामी व्यवसायीहरुले पनि व्यवसाय नविकरण गर्ने, स्वच्छ पारदर्शी काम गर्नु पर्ने बताए । सिटिभिटीबाट मजदुरहरुको सीपको आधारमा ग्रेडिङ प्रणाली भए अझै सहज हुने समेत बताए ।
अन्त्यमा महासंघले व्यवसायीहरुको हितार्थ विभिन्न समितिमार्फत काम गरिरहेको दावी गरे ।
यस्तैगरी निशुल्क आँखा शिबिर कार्यक्रममा सिटीभिटीका उपासचिब गोबिन्द श्रेष्ठले ग्रील तथा स्टील व्यवसायीहरुले आँखा शिबिर जस्तो सामाजिक कार्य गरेकोमा स्वागत गरे । उनले यो क्षेत्र वर्कसप मात्रै नभएर इन्जिनियरिङ क्षेत्र नै भएकोले महत्व बुझ्नुपर्ने बताए ।
उपसचिब श्रेष्ठका अनुसार हामी विदेशमा गएर भाँडा माझ्न तयार हुनुभन्दा सम्मानजनक रुपमा स्वदेशमै रहने कोशिस गर्नुपर्दछ, उनले भने, अब योग्यता र सीपको आधारमा कामको दक्षता बढाउनु पर्दछ ।’ उद्यमबाट व्यवसायीहरुले उद्योगतर्फ लम्किन आग्रह गर्दै उनले भने गुणस्तर र क्षमता बृद्धिमा व्यवसायीहरु जानु पर्दछ ।