images
images

विवाहको मौसममा सुनको मूल्य घट्दा बजारमा बढ्यो चहलपहल

विवाहको मौसममा सुनको मूल्य घट्दा बजारमा बढ्यो चहलपहल

बिहिवार, मंसिर १३ २०८१
बिहिवार, मंसिर १३ २०८१
  • विवाहको मौसममा सुनको मूल्य घट्दा बजारमा बढ्यो चहलपहल
    images
    images

    काठमाडौँ / गत साताबाट नेपाली बजारमा सुनको मूल्य लगातार ओरालो गतिमा छ । मूल्यमा आएको गिरावटसँगै बजारमा चहलपहल बढ्दो छ । उपभोक्ताहरू सस्तिएको मूल्यमा सुन खरिद गर्न उत्सुक देखिन्छन् ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार कात्तिक १५ गतेसम्म नेपाली बजारमा एक लाख ७१ हजारसम्म पुगेको सुनको मूल्य मंसिर ११ मा सुन प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँ पुगेको थियो ।

    झण्डै एक महिनाको अवधिमा सुनको मूल्यमा १२ प्रतिशतले गिरावट आइसकेको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सुनको भन्सार दर २० बाट १० प्रतिशत कायम गर्ने निर्णय गरेपछि सुनको भाउमा गिरावट आएको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला १ लाख ४९ हजार ६ सय थियो । मंगलबारको तुलनामा बुधबार सुनको भाउ नौं सय रुपैयाँले बढेको हो । मंगलबार सुनको भाउ १ लाख ४८ हजार ७ सय रुपैयाँ थियो ।

    पछिल्ला दुई दिनमा मात्र सुनको मूल्य प्रतितोला १८ हजार पाँच सयले घटेको छ । आइतबार प्रतितोला १ लाख ६७ हजार दुई सय रुपैयाँमा कारोबार भएकोमा सोमबार घटेर प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ कायम भएको थियो ।

    सोमबार एकैदिन १५ हजार ९ सय रुपैयाँले सुनको भाउ घटेको हो । नेपाल सरकारले सुनमा लगाएको भन्सार महशुलमा समायोजन गरेको र अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्य घटेपछि केही समयका लागि सुन सस्तिएको नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा बताउँछन् ।

    उनले भने, “सरकारले कुनै पनि वस्तुमा कर घटाउने बढडाउने गरिरहेको हुन्छ । यसै अनुसार कुनैपनि वस्तुको मूल्य निर्धारण हुन्छ । सुनको हकमा पनि सरकारले सुनमा लाग्दै आएको कर, भन्सार दरघटाएको कारणले सुन केही समयका लागि सस्तिएको हो ।” 

    थापाका अनुसार अब भने सुन घट्ने सम्भावना कम छ । न्यूरोडमा यतिबेला सुन किन्नेहरूको चहलपलह बाक्लो छ । 

    अघिपछिभन्दा हिजोआज माग बढेको व्यवसायीहरूको भनाइ छ । न्यूरोडमा १० वर्षदेखि सुन व्यापार गर्दै आएकी विमला घिमिरे काफ्ले सुनको मूल्य घटेसँगै ग्राहकहरू झन् धेरै आउन थालेको बताउँछिन । 

    उनले भनिन, “सुनको भाउ एक लाख ७१ हजार पुग्दा खेरी मूल्य बढेर तोलाकै दुई लाख हुन्छ भन्ने हल्ला सुनेर ग्राहकहरू आत्तिएर किन्न आउने गरेकोमा तोलामा एक्कासी १५ हजारले सुन घटेर १ लाख ५१ हजार भएपछि ग्राहकहरू झनै धेरै आउन थालेका छन् ।” 

    सुनको मूल्य घट्नुमा आन्तरिक कारण रहेको औँल्याइन्छ । किनभने पटकपटक चर्को भन्सार दर बृद्धिले व्यवसायी असन्तुष्ट बन्दै आएका थिए । सरकारले भन्सार दर घटाउने निर्णय गर्दै नेपाल राजपत्रमा प्रकाशित भएको र यससँगै लागू भएपछि व्यवसायी उत्साहित छन् । 

    यसअघि पनि भन्सार दर घटाउन व्यवसायीहरूले सरकारलाई ज्ञापनपत्र बुझाएका थिए । राष्ट्र बैंक, अर्थ मन्त्रालय, प्रधानमन्त्रीलगायतका सबै समक्ष भन्सार दर घटाउन माग गरेका थिए । 

    सुनको मूल्य घटेसँगै केहीदिन यता सुन किन्नेहरूको घुँइचो लागेको सुन व्यवसायीहरू बताउँछन् । तथापि सुनको अभाव भने भएको छैन । अहिलेको महँगीलाई हेर्दा सुनको भाउ घट्नु राम्रो कुरा भएको उपभोक्ता विश्व भारती राना बताउँछिन् ।
    उनी भन्छिन्, “अहिलेको महँगी हेर्ने हो भने पनि, नेपालीहरूले सांस्कृतिक रूपमा सुन लगाउनु पर्ने हुन्छ । बिहेवारी, चाडबाड सबैमा आवश्यक नै हुन्छ । त्यसैले सुनको मूल्य घटेको राम्रो नै हो । किनभने सबै वर्गले प्रयोग गर्न सक्छन् ।” 

    भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको चार महिनामा एक अर्ब ४२ करोड ७५ लाख २८ हजार रुपैयाँ बराबरको १३३ किलोग्राम सुन आयात भएको छ । जसबाट सरकारले २८ करोड ५५ लाख सात हजार रुपैयाँ बराबर भन्सार राजस्व प्राप्त गरेको छ ।
    - सुस्मिता बानियाँ 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार