काठमाडौँ / यातायात व्यवसायीले प्रयोजनविपरीतका सवारीसाधनले गरिरहेको ढुवानी तत्काल रोक्न सरकारसँग माग गरेका छन् । एउटा प्रयोजनका लागि ल्याइएका सवारीसाधन पछिल्लो समय मालवाहक वा यात्रीवाहकका रूपमा प्रयोग बढेको भन्दै त्यस्तो कार्य तत्काल रोक्न व्यवसायीले माग गरेका हुन् ।
सार्वजनिक यातायात र निजी प्रयोजनका लागि दर्ता गरिएका सवारीसाधन प्रयोजनानुसार प्रयोग गरे/नगरिएको जाँच गरी कारबाही गर्न व्यवसायीले सरकारलाई आग्रह गरे । निजी प्रयोजनका लागि दर्ता गरिएका सवारीसाधनले यात्रा र ढुवानी सेवा दिन नपाउने कानुनी व्यवस्था रहेको उनीहरूले बताए ।
सार्वजनिक र निजीका विषयमा स्पष्ट नीति नहुँदा मालवाहक सवारीसाधन चलाउन नसक्ने अवस्था उत्पन्न भएको व्यवसायीको भनाइ छ ।
बिहीबार आयोजित एक कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष सरोज सिटौलाले प्रयोजनविपरीत चलाइने सवारीसाधनलाई सरकारले कडाइ गर्नुपर्नेमा जोड दिए । उनले कृषिका लागि दर्ता गरिएका ट्याक्टरले ढुवानी गर्न नपाउने जिकिर गरे । बालुवा, गिट्टी, रड र सिमेन्ट बोक्नका लागि ट्याक्टर प्रयोग गरिएको भन्दै उनले सरकारले तत्काल रोक्नुपर्ने माग गरे ।
निजी प्रयोजनका लागि दर्ता गरिएका सवारीसाधनले ढुवानी गर्न नपाउने भनेर महासंघले सबै निकायलाई पत्र पठाएको उनले जानकारी गराए । उनले सरकारले भारतीय मालवाहक सवारीसाधनलाई ७२ घण्टाको परमिट सुविधा दिनु गलत भएको पनि बताए । ७२ घण्टामा देश नै घुमिसक्ने भन्दै नेपालमा मालवाहक सवारीसाधन घर–ग्यारेजमा थन्काउनुपरेको उनले बताए ।
“सरकारले भातीय मालवाहक सवारीसाधनलाई ७२ घण्टाको परमिट सुविधा दिएको छ । ७२ घण्टामा देश नै घुमिसक्छ । तर, नेपालमा मालवाहक सवारीसाधनहरू घर–ग्यारेजमा थन्किनुपरेको छ । त्यो मात्रै नभएर सार्वजनिक यात्रीवाहक यातायात र ट्याक्सीको हालत त्यही छ,” उनले भने, “प्रयोजनविपरीतको रातो प्लेटको सवारीसाधनलाई महासंघमा सदस्यता दिने गरेको थियो, त्यो हुँदैन । प्रयोजनविपरीत, कृषिमा सुविधा लिएर जोत्नको लागि सवारीसाधन बनाएको हो, बालुवा, गिट्टी रडछड र सिमेन्ट बोक्नको लागि गरिएको होइन । महासंघको विधानबाट हटाउनुपर्छ भनेर हटाएका छौँ । महासंघले प्रयोजनविपरीतको सवारीसाधनले प्रयोजनविपरीत यात्रा गर्न पाउँदैन । मालवाहक ढुवानी गर्न पाउँदैन भनेर महासंघले सबै सरकारी निकायहरूलाई पत्र पठाएका छौँ ।”
नेपाल यातायात राष्ट्रिय महासंघका कोषाध्यक्ष रामबाबुशिवु तामाङले सार्वजनिक यातायात व्यवसायीलाई राज्यले दुस्मन बनाउने काम गरेको बताए । प्रयोजनविपरीत सञ्चालन गरिने सवारीसाधनलाई कडाइका साथ सरकारले कारबाही गर्नुपर्ने उनले माग गरे ।
निजी प्रयोजनका लागि लिइएको सवारीसाधन त्यहीअनुसार प्रयोग गर्नुपर्ने भन्दै उनले अन्यन्त्र लगेर ढुवानीलगायत कार्य गरिए राज्यले कारबाही गर्नुपर्ने बताए ।
यस्तै, नेपाल यातायात राष्ट्रिय महासंघका मालवाहक समिति सभापति नवीन प्रजापतीले नेपालमा दिउँसोको समयमा मालवाहक सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाउनु गलत भएको बताए । मालवाहक ठूला टिपरहरू राति ९ देखि बिहान ५ बजेसम्म मात्र सञ्चालन गर्न पाउने व्यवस्था तत्काल खारेज गर्न उनले माग गरे ।