images
images

दशैं अगाडि नै लाभांश बाँड्दै वाणिज्य बैंकहरु, एभरेष्ट बैंकले सबैभन्दा धेरै दिँदा अन्यले कति देलान् ?

दशैं अगाडि नै लाभांश बाँड्दै वाणिज्य बैंकहरु, एभरेष्ट बैंकले सबैभन्दा धेरै दिँदा अन्यले कति देलान् ?

बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत आवको नाफाबाट ०.४६ प्रतिशतदेखि ४०.५० प्रतिशतसम्म लाभांश वितरण गर्ने क्षमता बैंकहरूसँग छ ।

मंगलवार, भदौ २६ २०८०
मंगलवार, भदौ २६ २०८०
  • images
    images
    दशैं अगाडि नै लाभांश बाँड्दै वाणिज्य बैंकहरु, एभरेष्ट बैंकले सबैभन्दा धेरै दिँदा अन्यले कति देलान् ?

    काठमाडौँ / यस वर्षको लाभांश सिजन सुरु भइसकेको छ । गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट विभिन्न बैङ्क तथा वित्तीय कम्पनीहरूले लाभांश घोषणा गरिरहेका छन् । यस वर्ष अधिकांश वाणिज्य बैंकहरुले दशैं अगाडि लाभांश बाँड्ने भएको छ । नेप्सेमा सुचीकृत अर्थात सञ्चालनमा रहेका १९ वटा वाणिज्य बैंकहरुमध्ये माछापुच्छ्रे बैंकले सबैभन्दा अगाडि लाभांश घोषणाको गरेको हो । 

    images
    images

    माछापुच्छ्रे बैंकले लाभांश घोषणा गरेसँगै एभरेष्ट बैंक, एनआईसी एसिया बैंक र सानिमा बैंकले लाभांश वितरणका लागि राष्ट्र बैंकसँग प्रारम्भिक सहमति माग गरेका छन् । राष्ट्र बैंकले सहमति भने दिइसकेको अवस्था छैन । बैंकहरूले गत आर्थिक वर्षको वासलात (वित्तीय विवरण) लाई अन्तिम रूप दिएर राष्ट्र बैंकमा पेस गरेका छन् भने केहीले पेस गर्ने तयारीमा छन् । यदि बैंकहरूले पेस गरेको वासलात केन्द्रीय बैंकले स्वीकृत पछि बैंंकहरूले धमाधम लाभांश घोषणा गर्नेछन् । 

    बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत आवको नाफाबाट ०.४६ प्रतिशतदेखि ४०.५० प्रतिशतसम्म लाभांश वितरण गर्ने क्षमता बैंकहरूसँग छ । गत वर्ष दुई बैंक बाहेक सबै बैंकको खुद नाफा बढेको छ। प्रकाशित वित्तीय विवरणअनुसार ७ बैंकको लाभांश क्षमता १० प्रतिशतभन्दा बढी देखिएको छ भने बाँकी ११ बैंकको लाभांश क्षमता १० प्रतिशत भन्दा कम र २ वटा बैंकको ऋणात्मक देखिएको छ । गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार एभरेष्ट बैंकले लगानीकर्तालाई सबैभन्दा धेरै लाभांश बाँड्न सक्ने क्षमता रहेको देखिएको छ।

    यस वर्ष मलमास रहेका कारण दशैं कार्तिकमा पुगेको छ त्यसकारण लाभांश बाँड्न सक्षम वाणिज्य बैंकहरुले दशैं अगाडि नै लाभांश वितरण गरिसक्ने छन।गत आर्थिक बर्ष २०७९/८० को असार मसान्तसम्मा २० वटा वाणिज्य बैंकहरूले ७० अर्ब बढी खुद नाफा आर्जन गरेका छन् । यो नाफा अघिल्लो आर्थिक बर्ष २०७८/७९ को तुलनामा २६.९३ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक बर्षको असार मसान्तसम्ममा बैंकहरूको यस्तो नाफा ५६ अर्ब १७ करोड २३ लाख ५६ हजार रुपैयाँ थियो । 

    कुन बैंकले बति दिदैछ लाभांश ? 

    १. माछापुच्छ्रे बैंक

    माछापुच्छ्रे बैंंकले सबैभन्दा सुरुमा अर्थात यस बैंकले चालु आर्थिक बर्षमा आफ्ना शेयर धनीलाई लाभांश घोषणा गर्ने पहिलो बैंकले हो । माछापुच्छ्रे बैंकले गत वर्षको नाफाबाट १३.३ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलब ७ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । अघिल्लो आर्थिक वर्षको नाफाबाट माछापुच्छ्रे बैंकले लाभांश वितरण गर्न पाएको थिएन। 

    माछापुच्छ्रे बैंकले वर्षभरी क्यापिटल एडिक्वेसी रेसियो (सीएआर) ८.५ प्रतिशत कायम गर्न नसक्दा राष्ट्र बैंकले लाभांश वितरणमा रोक लगाएको थियो। गत आर्थिक वर्ष १ अर्ब ८५ करोड खुद नाफा कमाएको माछापुच्छ्रेको वितरणयोग्य नाफा १ अर्ब ५६ करोड रहेको थियो। बैंकले वितरणयोग्य नाफा बराबरकै आम्दानी वितरण गर्ने प्रस्ताव गरेको हो ।

    माछापुच्छ्रे बैंकले प्रकाशित गरेको चौथो त्रैमासको वित्तीय विवरण अनुसार यस बैंकसँग असार मसान्तसम्म १ अर्ब ५६ कारेड ८७ लाख ४४ हजार रुपैयाँ वितरण योग्य नाफा रहेको देखिन्छ । चुक्ता पुँजी १० अर्ब २५ करोड ७१ लाख ५५ हजार रुपैयाँको आधारमा १५.२९ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता रहेको छ । यस्तै, माछापुच्छ्रे बैंकले कर्मचारीका लागि २९ करोड ४७ लाख रुपैयाँ बोनस छुट्याएको छ । 

    २. एभरेष्ट बैंक

    गतवर्षको नाफाबाट एभरेष्ट बैंकसँग सबैभन्दा बढी लाभांश दिनसक्ने क्षमता रहेको देखिएको छ । गत आवमा ४ अर्ब ३३ करोड रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको छ । चुक्ता पुँजी १० अर्ब ६९ करोड ८० लाख ९४ हजार रुपैयाँको आधारमा यस बैंकसँग लगानीकर्ताहरूलाई ४०.५० प्रतिशत लाभांश वितरण गर्ने सक्ने क्षमता रहेको छ ।बैंकले आफ्नो क्षमता बराबरको लाभांश वितरणका लागि राष्ट्र बैंकसँग प्रारम्भिक सहमति माग गरेको छ।

    बैंकले बोनस र नगद लाभांश मिश्रित गरेर नै प्रस्ताव गर्ने गर्दछ र यस वर्ष पनि सोही अनुपातमा नै लाभांश प्रस्ताव हुने सम्भावना छ । बैंकले नगद लाभांश नै धेरै प्रस्ताव गर्नेछ । अघिल्लो वर्ष पनि बैङ्कले आफ्ना सेयरधनीहरुलाई १३ प्रतिशत बोनस र ७.६८ प्रतिशत नगद लाभांश बाँडेको थियो । यस्तै,  एभरेष्ट बैंकले ५ अर्ब २३ करोड रुपैयाँ कर्मचारी बोनसको लागि छुट्याएको छ । गत आर्थिक बर्षमा यस बैंकले ३ अर्ब ३९ करोड ३१ लाख ५४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

    ३. एनआईसी एसिया बैंक

    गत आवको असार मसान्तसम्ममा एनआईसी एसिया बैंकको वितरणयोग्य नाफा रकम ३ अर्ब ६९ करोड ८८ लाख ३४ हजार रुपैयाँ रहेको छ । चुक्ता पुँजी ११ अर्ब ५६ करोड ४० लाख ५ हजार रुपैयाँको आधारमा एनआईसी एसिया बैंकसँग ३१.९९ प्रतिशत लाभांश वितरण गर्ने क्षमता रहेको देखिन्छ । 

    यस बैंकले विगत दुई आर्थिक वर्षदेखि पुँजी कोष अनुपात कायम गर्न नसकेको ले यसपटक भने राष्ट्र बैंकसँग करिब ३२ प्रतिशत लाभांश वितरणका लागि अनुमति माग गरेको छ। बैंकले वितरणयोग्य नाफा सबै वितरण गर्ने गरी राष्ट्र बैंकसँग लाभांश वितरणको अनुमति माग गरेको केन्द्रीय बैंक स्रोतले जनाएको छ।राष्ट्र बैङ्कले प्रारम्भिक स्वीकृति दिए एनआईसी एशियाले यस वर्ष झन्डै ३२ प्रतिशत लाभांश बाँड्न सक्नेछ ।

    यता, कर्मचारीहरूलाई बढी बोनस बाढ्नेको तेस्रो सूचीमा एनआईसी एशिया बैंक परेको छ । बैंकले गत आर्थिक वर्षमा कर्मचारीको बोनसको लागि ७१ करोड ९७ लाख रुपैयाँ छुट्याएको हो ।गत आर्थिक वर्षमा एनआईसी एशिया बैंकले ४ अर्ब ६५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

    ४. सानिमा बैंक

    गत आवको असार मसान्तसम्म सानिमा बैंकको वितरण योग्य मुनाफा १२ अर्ब ४६ करोड १ लाख १५ हजार रुपैयाँ रहेको तथ्याङ्क छ । २ अर्ब २० करोड ९६ लाख ७४ हजार रुपैयाँ चुक्ता पुँजी रहेको सानिमासँग १७.७३ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता रहेको छ । 

    १७ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्ने सानिमा बैंकले पनि राष्ट्र बैंकसँग लाभांश वितरणका लागि प्रारम्भिक अनुमति माग गरेको छ। बैंकले गत वर्ष पनि १० प्रतिशत बोनस शेयर नै वितरण गरेको थियो ।

    ५. स्टयाण्डर्ड चार्टर्ड बैंक

    स्टयाण्डर्ड चार्टर्ड बैंक सबैभन्दा धेरै लाभांश बाँड्नसक्ने बैंकको सूचीमा तेस्रो नम्बरमा छ। गत आवमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको वितरण योग्य नाफा २ अर्ब ७३ करोड ३९ लाख ३६ हजार रुपैयाँ रहेको को छ । बैंकको कायम चुक्ता पुँजी ९ अर्ब ४२ करोड ९४ लाख ५४ हजार रुपैयाँको आधारमा यस बैंकले आफ्ना सेयरधनीलाई २८.९९ प्रतिशत लाभांश वितरण गर्न क्षमता रहेको देखिन्छ । बैंकले पनि नगद लाभांशलाई नै जोड दिने गर्दछ । सम्भवत यस वर्ष पनि नगद नै दिनेछ ।

    यस्तै, स्ट्यान्डर्ड चार्टर्ड बैंकले कर्मचारी बोनसको लागि ५ अर्ब ५९ करोड ५० लाख रुपैयाँ छुट्याएको छ । यस बैंकले गत आर्थिक बर्षमा ३ अर्ब ५२ करोड ५४ लाख १७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । 

    ६. कृषि विकास बैंक

    गत आवमा कृषि विकास बैंकसँग २ अर्ब ७१ करोड ५६ हजार रुपैयाँ वितरण योग्य नाफा रहेको छ । चुक्ता पुँजी १३ अर्ब ४५ करोड १६ लाख ७४ हजार रुपैयााको आधारमा यस बैंकले आफ्ना लगानीकर्ताहरूलाई १४.९२ प्रतिशत लाभांश वितरण गर्न क्षमता रहेको देखिन्छ । यस्तै, कृषि विकास बैंकले २४ करोड ४५ लाख रुपैयाँ कर्मचारीहरूको बोनसको लागि छुट्याएको छ

    ७. नबिल बैंक

    नाफा लगायतको सूचकमा नम्बर वान रहेको नबिल बैङ्क भने लाभांश वितरण क्षमताको मामलामा सातौँ स्थानमा छ । विगतमा सर्वाधिक लाभांश वितरण गर्दै आएको नबिल बैंकको लाभांश क्षमता यसपटक घटेको छ। गत आवको असार मसान्तसम्म नबिल बैंकसँग ३ अर्ब ९६ करोड १० लाख ९९ हजार रुपैयाँ वितरण योग्य मुनाफा रहेको छ । चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख ९७ हजार रुपैयाँको आधारमा नबिल बैंकले आफ्ना लगानीकर्ताहरूलाई १४.६४ प्रतिशत लाभांश वितरण गर्ने सक्ने क्षमता राख्दछ । 

    यस बैंकले अघिल्लो आर्थिक वर्ष करिब ३० प्रतिशत लभांश वितरण गरेको थियो । गएको आर्थिक वर्ष सर्वाधिक ७ अर्ब ५२ करोड नाफा गरेको नबिलको लाभांश वितरण क्षमता करिब ५० प्रतिशतले घटेको छ। विगतमा अत्याधिक बोनस सेयर वितरण गरेको र अघिल्लो वर्ष नेपाल बंगलादेश बैंकलाई १ बराबर ०.४ स्वाप अनुपातमा प्राप्ति गरेकाले बैंकको चुक्ता पुँजी वृद्धि हुँदा यस बैंकको लाभांश क्षमता घटेको हो। 

    यता, गत आर्थिक वर्ष २०७९/०८० को नाफाबाट कर्मचारीलाई सबैभन्दा बढी बोनस बाँड्नेमा ‘नम्बर वान’ नबिल बैंक परेको छ । गत आर्थिक वर्षको नाफाबाट नबिल बैंकले १ अर्ब १९ करोड ८२ लाख रुपैयाँ कर्मचारीहरूको बोनसको लागि छुट्याएको छ । यस्तै, नबिल बैंकले कर्मचारीहरूको लागि कुल ३ अर्ब ४९ करोड ४४ लाख रुपैयाँ खर्च गरेको छ । नबिल गत वर्ष नाफा कमाउने बैंकहरूमा सबैभन्दा अग्रस्थानमा छ । यस कारण पनि यसले दिने बोनस सबैभन्दा बढी देखिन्छ । बेहि बर्ष अघि मात्रै नबिलले नेपाल बंगलादेश बैंकलाई गाभेको थियो ।

    ८. नेपाल एसबीआई बैंक

    लाभांश क्षमताका आधारमा भने नेपाल एसबिआई बैङ्क भने आठौँ स्थानमा छ ।गत आवको अन्त्यसम्ममा नेपाल एसबीआई बैंकको वितरण योग्य मुनाफा २ अर्ब ७३ करोड ३९ लाख ३६ हजार रुपैयाँ रहेको छ । सो अवधिसम्म यस बैंकसँग ९ अर्ब ४२ करोड ९४ लाख ५४ हजार रुपैयाँ चुक्ता पुँजी रहेको छ । सो आधारमा नेपाल एसबीआई बैंकले सेयर धनीलाई १३.९३  प्रतिशत लाभांश वितरणको क्षमता राख्छ । यस्तै, नेपाल एसबिआई बैंकले ३५ करोड ७८ लाख रुपैयाँ कर्मचारीहरूको बोनस वापत रकम छुट्याएका छन् ।

    ९. राष्ट्रिय वाणिज्य बैंक

    सरकारी स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंकको वितरण योग्य मुनाफा गत आवमा १ अर्ब ८१ करोड २८ लाख ७३ हजार रुपैयाँ रहेको छ । समीक्षा अवधिमा १५ अर्ब ६३ करोड ७३ लाख ७७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकसँग ११.५९ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता रहेको छ । यद्यपि, सरकारको लगानीको बैंक भएकोले यस बैंकले सर्वसाधारणमा भने लाभांश वितरण गर्दैन । यस्तै, राष्ट्रिय वाणिज्य बैंकले कर्मचारीको लागि ३६ करोड ९७ लाख रुपैयाँ कर्मचारीहरूको बोनस वापत रकम छुट्याएका छन् ।

    Dividend1bank.JPG

    पाँच बैंकले १० प्रतिशतभन्दा कम लाभांश दिने, बैंकहरू कुन–कुन ? 

    गत आर्थिक वर्षको खुद नाफाबाट ५ वाणिज्य बैंकले ५ देखि १० प्रतिशतको हाराहारीमा मात्रै लाभांश वितरण गर्ने क्षमता राखेको छ । सिद्धार्थ बैंक, सिटिजन्स बैंक, ग्लोबल आइएमई बैंक, लक्ष्मी सनराइज बैंक र एनएमबि बैंक कम लाभांश वितरण गर्ने सम्भावना भएका बैंकहरू हुन्।

    गत वर्ष एनएमबी बैंक, सिटिजन्स बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र कुमारी बैंकले नगद लाभांश मात्रै बाँडेको थियो । यस वर्ष पनि एनएमबी बैंक र सिटिजन्स बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंकले त्यही प्याटर्नमा लाभांश बाँडने अपेक्षा गर्न सकिन्छ । 

    १. सिद्धार्थ बैंक

    गत आवको असार मसान्तसम्म सिद्धार्थ बैंकको वितरणयोग्य मुनाफा ७९ करोड ५७ लाख ६५ हजार रुपैयाँ रहेको छ । चुक्ता पुँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार रुपैयाँ रहेको यस बैंकसँग आफ्ना सेयरधनीलाई ५.६५ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता रहेको छ । यस्तै, सिद्धार्थ बैंकले ५ अर्ब १० करोड ९० लाख रुपैयाँ कर्मचारी बोनसको लागि छुट्याएको छ भने गत आर्थिक बर्षमा यस बैंकले  ३ अर्ब १९ करोड १ लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएको छ । 

    २. सिटिजन्स बैंक

    सिटिजन बैंकको वितरणयोग्य मुनाफा असार मसान्तसम्म ९७ करोड ३३ लाख ६३ हजार रुपैयाँ रहेको छ । चुक्ता पुँजी १४ अर्ब २० कारेड ९ लाख ७४ हजार रुपैयाँ रहेको यस बैंकसँग ७.३० प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता रहेको छ । यस्तै, सिटिजन्स बैंकले ३३ करोड ४८ लाख रुपैयाँ कर्मचारीहरूको बोनस वापत रकम छुट्याएका छन् ।

    ३. एनएमबि बैंक

    एनएमबी बैंकको वितरणयोग्य मुनाफा गत आवको असार मसान्तसम्म १ अर्ब ५० करोड १८ लाख ९० हजार रुपैयाँ रहेको छ । बैंकको कायम चुक्ता पुँजी १८ अर्ब ३६ करोड ६७ लाख ६ हजार रुपैयाँको आधारमा बैंकले सेयर धनीलाई ८.१८ प्रतिशत लाभांश वितरणको क्षमता राख्छ । एनएमबि बैंकले ५ अर्ब ४२ करोड रुपैयाँ बोनस रकम छुट्याएको छ । यस बैंकले गत आर्थिक बर्षमा गत ३ अर्ब ४१ करोड ४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । 

    ४. ग्लोबल आइएमई बैंक

    ग्लोवल आईएमई बैंकसँग गत आवको असार मसान्तसम्म २ अर्ब ९५ करोड ६९ लाख ५६ हजार रुपैयाँ रहेको छ । बैंकको हाल कायम चुक्ता पुँजी ३५ अर्ब ७७ करोड १० लाख ६० हजार रुपैयाँ रहेको छ । सो आधारमा ग्लोबल आइएमई बैंकसँग ८.२७ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता रहेको छ । 

    गत आर्थिक वर्ष सबैभन्दा सर्वाधिक धेरै नाफा गर्ने बैंकको सूचीमा रहेको ग्लोबल आइएमई बैंकले लाभांश वितरण क्षमता १० प्रतिशतभन्दा न्यून रहेको छ। यस बैंकले जनता बैंक र बैंक अफ काठमाण्डूलाई १ बराबर १ स्वाप अनुपातमा एक्वायर गरेकाले पनि बैंकको चुक्ता पुँजी बढेको हो। यस्तै, गत आर्थिक वर्षको नाफाबाट ग्लोबल बैंकले १ अर्ब १२ करोड २६ लाख रुपैयाँ बोनसका लागि छुट्याएको छ भने ग्लोबल आईएमई बैंकले ३ अर्ब १ करोड ५० लाख रुपैयाँ कर्मचारीका लागि खर्च गरेको वा छुट्याएको छ । 

    ५. लक्ष्मी सनराइज बैंक

    हालसालै एकीकृत कारोबार गरेका लक्ष्मी सइनराज बैङ्कको लाभांश क्षमता ८.९४ प्रतिशत देखिएको छ । गत आवको असार २९ गते एकीकृत कारोबार सुरु गरेको लक्ष्मी सनराइज बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ९३ करोड ७१ लाख ३१ हजार रुपैयाँ रहेको छ । २१ अर्ब ६७ करोड २ लाख ३८ हजार रुपैयाँ चुक्ता पुँजी रहेको लक्ष्मी सनराइज बैंकसँग ८.९४  प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता रहेको छ ।यस्तै, लक्ष्मी सइनराज बैंकले ३५ करोड ५० लाख रुपैयाँ कर्मचारीहरूको बोनस वापत रकम छुट्याएका छन् ।

    ३ बैंकको लाभांश क्षमता ५ प्रतिशत भन्दा कम 

    १.  प्रभु बैंक

    चौथो त्रैमासको वित्तीय विवरण अनुसार प्रभु बैंकसँग १६ करोड १६ लाख ५५ हजार रुपैयाँ वितरण योग्य नाफा रहेको छ । गत आवको असार मसान्तसम्म चुक्ता पुँजी २३ अर्ब ५४ करोड २४ लाख ९० हजार रुपैयाँ रहेको यस बैंकसँग ०.६९ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता रहेको देखिन्छ । यस्तै, प्रभु बैंकले ४५ करोड २६ लाख रुपैयाँ र सानिमा बैंकले ४१ करोड १९ लाख बोनसको लागि रकम छुट्याएको छ ।

    २. नेपाल इन्भेष्मेन्ट मेगा बैंक

    गत आवमा नेपाल इन्भेष्मेन्ट मेगा बैंकसँग १५ करोड ८३ लाख ३८ हजार रुपैयाँ वितरण योग्य नाफा रहेको तथ्याङ्क छ । चुक्ता पुँजी ३४ अर्ब १२ करोड ८५ लाख ९५ हजार रुपैयाँको आधारमा यस बैंकसँग ०।४६ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता रहेको छ । यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले भने कर्मचारीका लागि बोनस छुट्याएको छैन । 

    ३. प्राइम बैंक

    प्राइम बैंकसँग गत आवको असार मसान्तसम्म २० करोड ४८ लाख ३९ हजार रुपैयाँ वितरण योग्य नाफा रहेको छ । चुक्ता पुँजी १९ अर्ब ४० करोड २५ लाख ७५ हजार रुपैयाँ रहेको यस बैंकसँग १।०६ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता रहेको छ । यस्तै, प्राइम बैंकले ३७ करोड ५ लाख रुपैयाँ कर्मचारीहरूको बोनस वापत रकम छुट्याएका छन् ।

    बिग मर्जरमा गएका २ वाणिज्य बैंक लाभांश बाँड्न असमर्थ

    गएको आर्थिक वर्षबाट बिग मर्जरमा गएका वाणिज्य बैंक लाभांश वितरण गर्न नसक्ने अवस्थामा देखिएका छन्। हिमालयन बैंक र कुमारी बैंकको वितरणयोग्य नाफा ऋणात्मक रहेकाले यी दुवैले लाभांश वितरण गर्न सक्दैनन्।

    गत आर्थिक बर्षमा कुमारी बैंकको कायम चुक्ता पुँजी २६ अर्ब २२ करोड ५८ लाख ६१ हजार रुपैयाँको आधारमा बैंकले सेयर धनीलाई लाभांश दिने क्षमता ऋणत्मक छ । गत चौथो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा ८४ करोड ८३ लाख रुपैयाँ ऋणत्मक रहेको तथ्याङ्क छ । यस्तै, कुमारी बैंकले ३४ करोड १५ लाख रुपैयाँ कर्मचारीहरूको बोनस वापत रकम छुट्याएका छन् ।

    यस्तै, हिमालयन बैंकको कायम चुक्ता पूँजी २१ अर्ब ६५ करोड ६६ लाख १५ हजार रुपैयाँको आधारमा बैंकले आफ्ना शेयर धनीलाई लाभांश दिने क्षमता ऋणत्मक छ । गत चौथो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा ७१ करोड १४ लाख रुपैयाँ ऋणत्मक रहेको छ । 

    कुन बैंकले कति दिदैछ बोनस ? 

    Dividend1bank.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार