images
images

पैदलमार्ग सुधार गर्दै महानगरः फुटपाथ बनाउन दुई अर्ब १५ करोड बजेट, कहाँ–कहाँ हुँदैछ मर्मत ?

पैदलमार्ग सुधार गर्दै महानगरः फुटपाथ बनाउन दुई अर्ब १५ करोड बजेट, कहाँ–कहाँ हुँदैछ मर्मत ?

महानगरले ३२ वटै वडामा गएर तयार गरेको लागत अनुमान अनुसार सबै सडक खण्डमा गरेर सवा दुई अर्ब लगानीमा पैदल मार्ग सुधार गरी व्यवस्थित गर्न लागेको हो ।

सोमवार, असोज २२ २०८०
सोमवार, असोज २२ २०८०
  • images
    images
    पैदलमार्ग सुधार गर्दै महानगरः फुटपाथ बनाउन दुई अर्ब १५ करोड बजेट, कहाँ–कहाँ हुँदैछ मर्मत ?

    काठमाडौँ / काठमाडौँ महानगरपालिकाले पैदल मार्गलाई यात्रुमैत्री बनाउन २ अर्ब १५ करोड लागनी गरेर निर्माण, मर्मत तथा सुधारको काम गर्ने भएको छ । यसका लागि सबैजसो सडक खण्डको लागत अनुमान तयार भइसकेको महानगरपलिकाले जनाएको छ । 

    images
    images

    महानगरले ३२ वटै वडामा गएर तयार गरेको लागत अनुमान अनुसार सबै सडक खण्डमा गरेर सवा दुई अर्ब लगानीमा पैदल मार्ग सुधार गरी व्यवस्थित गर्न लागेको हो ।

    निर्माण कार्यका लागि जारी सूचनाबाट आएका र छनौट भएका केही निर्माण व्यवसायीसँग सम्झौता भइसकेको छ । मापदण्ड र निर्माण पक्षको क्षमताजस्ता प्राविधिक पक्षबाट काम हुन नसक्ने देखिएपछि केही सडकको पुनः बोलपत्रको सूचना भएको छ । केही सार्वजनिक सूचना प्रकाशनको चरणमा छन् । 

    kathmandu footpath 1.JPG

    पैदल यात्रा गर्ने यात्रीको सहजताका लागि गएको आर्थिक बर्षबाट थालिएको कामलाई यस बर्ष थप तीब्र बनाइएको महानगरले जनाएको छ । सार्वजनिक निर्माण विभागले पैदल मार्गको संरचना निर्माण तथा सुधारका लागि काम गरिरहेको छ । यसअन्तर्गत मार्गमा रंगीन ब्लकहरु छापिनेछन् । दरबारमार्ग क्षेत्रमा भने ग्रेनाइट छापिनेछ ।  

    काठमाडौँ महानगरपालिका क्षेत्रभित्र करिब १ हजार ३ सय किलोमिटर सडक सञ्जाल छ । यसमध्ये ८ मिटरभन्दा कम चौडाइ भएको १ हजार किलोमिटर सडक महानगरपालिकाको स्वामित्वमा आएको छ । बाँकी सडक संघीय सरकारअन्तर्गतको डिभिजन सडक कार्यालयको स्वामित्वमा छ । सडक जसको भए पनि पैदल मार्ग निर्माण, सम्भार र व्यवस्थापनमा महानगरपालिकाले काम गरिरहेको छ । 

    कुन क्षेत्रमा लगानी कति  ? 

    फुटपाथ निर्माण र व्यवस्थित गर्न महानगरको सार्वजनिक निर्माण विभागले वडा नम्बर २९ को पुतलीसडक, अनामनगरलगायत क्षेत्रमा काम भइसकेको जनाएको छ ।

    विभागका अनुसार ४ करोड ५५ लाख रुपैयाँ लागतमा वडा नम्बर २६ लैनचौरबाट वडा नम्बर १६ सोह्रखुट्टे हुँदै बालाजुसम्मको सडक किनारा दुवैतर्फ काम भइरहेको जनाएको छ । यस्तै, २६ नम्बर वडाकोे लैनचौरबाटे लाजिम्पाट, महाराजगञ्ज हुँदै चक्रपथसम्मको खण्डको कामका लागि सम्झौता भइसकेको छ । जसको लागत १० करोड रुपैयाँ रहेको विभागले जनाएको छ । 

    kathmandu footpath.JPG

    यस्तै २८ नम्बर वडाको प्रदर्शनी मार्गमा काम थालनी भएको छ । यसको लागत ३ करोड ७८ लाख रुपैयाँ हो । ११ नम्बर वडाकोे त्रिपुरेश्वरदेखि २२ नम्बर वडाको सुन्धारा, वडा नम्बर २७ र २८ को सिमाना महाबौद्ध, रत्नपार्क, जमल हुँदै लैनचौरसम्मको सडक खण्डका १८ करोड रुपैयाँ लगानीमा फुटपाथ बनाउन निर्माण पक्षसँग सम्झौता भइसकेको महानगरले जनाएको छ ।

    १७ नम्बर वडाको नयाँ बजार खण्डमा पर्ने जग्गा एकीकरण आयोजना क्षेत्रभित्र करिब ११ करोड लागतमा फुटपाथको काम हुँदैछ । ४ नम्बर वडाको बालुवाटार सडक खण्डमा निर्माण कार्य गर्नका लागि ६ करोड ३५ लाख रुपैयाँमा सम्झौता भइसकेको छ । यस्तै तीनकुनेदेखि सिनामंगल, त्रिभुवन विमानस्थल प्रवेशद्वार, सञ्चारग्राम, तीलगंगा हुँदै ८ को गौशालासम्मका लागि पनि महानगगरले ६ करोड ६९ लाख रुपैयाँ लागतमा फुटपाथ निर्माण सम्झौता गरिसकेको छ ।

    १० नम्बर वडाको नयाँ बानेश्वरदेखि पुरानो बानेश्वरसम्मको मार्गका लागि ३ करोड २३ लाख रुपैयाँ लागतमा काम हुने महानगरले जनाएको छ । वडा नम्बर ११ थापाथलीदेखि टेकु हुँदै १३ नम्बर वडाको कालीमाटीसम्मको सडक खण्डमा पनि ६ करोड लागतमा फुटपाथ निर्माण हुने भएको छ ।

    २८ नम्बर वडाको बागबजारदेखि चारखाल, डिल्लीबजार पिपलबोट, मैतीदेवी चोक, सेतो पुल, पुरानो बानेश्वर, भीमसेनगोला हुँदै सिनामंगल सडक खण्डका लागि १० करोडमा फुटपाथ निर्माण लागत अनुमान रहेको छ ।

    कालीमाटीदेखि सोल्टी मोड हुँदै कलंकीसम्म, गौशालादेखि चावहिलसम्म, गौशालादेखि रातोपुलसम्मको सडक खण्डलाई एउटै प्याकेजमा राखेर महानगरले फुटपाथ निर्माण गर्ने तयारी महानगरले गरेको छ । यसका लागि १० करोड लागत अनुमान गरेर ठेक्का आह्वान भइसकेको भएता पनि पहिलो पत्र प्रकाशन गरिएको बोलपत्रबाट चाहिएको निर्माण पक्ष प्राप्त नभएपछि पुनः खरिद प्रक्रियामा लगिएको महानगरले जनाएको छ ।  

    सार्वजनिक निर्माण विभागका अनुसार विशालनगरको भित्री सडकमा १ करोड ३५ लाख रुपैयाँ लागतमा काम सुरु भएको छ । ६ नम्बर वडाको महांकाल ओरालोदेखि मिलन चोकसम्मका लागि ८० लाख रुपैयाँ फुटपाथ निर्माण अनुमान लागत रहेको छ ।

    छुटेका पैदलमार्ग निर्माण गर्न २५ करोड रुपैयाँ

    1.JPG

    महानगरले माथि उल्लेख गरेको बाहेक छुटेका पैदल मार्ग निर्माण गर्नका लागि २५ करोड रुपैयाँ विनियोजन गरेको जनाएको छ । यस्तै, सुधार गर्न, मर्मत गर्नका लागि १५ करोड रुपैयाँ विनियोजन भएको छ । यसको खरिद प्रक्रियाअन्तर्गत सूचना प्रकाशन भइसकेको महानगर सडक विभागले जनाएको हो । 

    महानगरले प्रयोगकर्तामध्ये सडकमा पैदल यात्रीको पहिलो अधिकार हुने भन्दै पैदल यात्रामा रहने यात्रीलाई कुनै पनि खालको अवरोध नहोस् भन्ने उदेश्यको साथ सडक व्यापारलाई निषेध समेत गरिसकेको छ ।

    सडकको किनारामा कसैले पनि कुनै खालका व्यापार गर्न नपाउने महानगरले बताएको हो ।  यसअघि सडकमा खुला व्यापार र ठेला व्यापारले हिँड्न कठिन थियो । सहरी सौन्दर्य र व्यवस्थापनमा प्रतिकुलता थपेको थियो । यी सबै खालका प्रतिकुलताको सामना गरेर पूर्वाधार निर्माण हुन सक्ने वातावरण तयार भएको महानगरले जनाएको छ । 

    यो संगै अबको केहि समयपश्चात बर्खायाममा हिलो र घाम लागेका बेला धुलो उड्ने वातावरणमा सुधार आउने महानगरको भनाइ छ । महानगरको यो प्रयासको दिगोपना र लगानीको सुरक्षाका लागि एकीकृत सहरी विकासको अभ्यास थालनी आवश्यक रहेको जनाएको छ । 

    माइतीघरदेखि तीनकुनेसम्म साइकल लेन

    काठमाडौँ महानगरपालिकाले माइतीघरदेखि बानेश्वर हुँदै तीनकुनेसम्म साइकल लेन समेत निर्माण गर्ने भएको छ । माइतीघर मण्डलादेखि नयाँ बानेश्वर हुँदै तीनकुनेसम्म १८ करोड रुपैयाँ लागतमा पैदल मार्ग र साइकल लेन निर्माण हुने सार्वजनिक निर्माण विभागले जनाएको छ ।

    बालमन्दिरदेखि नक्साल नारायण चौर, हात्तीसार, कमलपोखरीहुँदै डिल्लीबजार क्षेत्रसम्मका लागि ६ करोड रुपैयाँ लागतमा फुटापथ बन्ने भएको छ । धोबीखोला कोरिडोरको कपन सिमानादेखि बागमती दोभानसम्मको खण्डका लागि ११ करोड रुपैयाँ लागत महानगरले अनुमान गरेको छ ।

    १५ नम्बर वडाको डल्लु आवास क्षेत्रमा ७७ लाख रुपैयाँमा उपभोक्ता समितिबाट काम भइरहेको विभागले जनाएको छ । महानगर क्षेत्रभित्र करिब १ हजार ३ सय किलोमिटर सडक सञ्जाल छ । यसमध्ये ८ मिटरभन्दा कम चौडाइ भएको १ हजार किलोमिटर सडक महानगरपालिकाको स्वामित्वमा आएको छ ।

    बाँकी सडक संघीय सरकार अन्तर्गतको डिभिजन सडक कार्यालयको स्वामित्वमा छ । सडक जसको भए पनि पैदल मार्ग निर्माण, सम्भार र व्यवस्थापनमा महानगरपालिकाले काम गरिरहेको महानगरको सार्वजनिक निर्माण विभागले जनाएको छ ।

    महानगरले लागत अनुमान र बोलपत्र आह्वानमा छुटेका फुटपाथ निर्माण गर्नका लागि २५ करोड रुपैयाँ विनियोजन गरेको छ । यस्तै फुटपाथ सुधार गर्न, मर्मत गर्नका लागि १५ करोड रुपैयाँ विनियोजन गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार