images
images

दसैँ–तिहार सहुलियत पसल : देशभर ९८ बिक्री केन्द्र, कुन सामान कति सस्तो ? (सूचीसहित)

दसैँ–तिहार सहुलियत पसल : देशभर ९८ बिक्री केन्द्र, कुन सामान कति सस्तो ? (सूचीसहित)

बजारमा हाल प्रतिकेजी १२ सय रुपैयाँ रहेको डीडीसी घ्यू ११८० रुपैयाँमा नै उपलब्ध

सोमवार, असोज २२ २०८०
सोमवार, असोज २२ २०८०
  • दसैँ–तिहार सहुलियत पसल : देशभर ९८ बिक्री केन्द्र, कुन सामान कति सस्तो ? (सूचीसहित)

    काठमाडौँ / दसैँ, तिहार, छठलगायत ठूला चाडपर्व लक्षित गर्दै सरकारले आइतबतरदेखि काठमाडौँ उपत्यकासहित देशभर सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको छ। 

    images
    images

    आइतबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले देशभरका चाडपर्व लक्षित सहुलियत पसलको औपचारिक उद्घाटन गरेको हुन् । चाडपर्वमा नागरिकलाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट्र ट्रेडिङ तथा दुग्ध विकास संस्थानले आगामी मङ्सिर ३ गतेसम्म सहुलियत पसल सञ्चालन गरेको हो ।  

    आम उपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सहुलियत मूल्यमा उपलब्ध गराउन चाडबाड अवधिभर यस्ता पसल सञ्चालनमा ल्याउन लागिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । यस्ता पसलबाट बजार मूल्य नियन्त्रण र गुणस्तरीयता कायम गरी सरल, सहज र सर्वसुलभ रुपमा उपलब्ध गराउने उद्देश्य सरकारले राखेको छ ।

    चाडबाडको समयमा उपभोक्ता बजारमा निजी क्षेत्रको एकाधिकार हुन नदिन भन्दै सरकारले हरेक वर्ष सहुलियत मूल्य पसल सञ्चालन गर्दै आएको छ । सरकारले उद्योग, वाणिज्य, तथा आपूर्ति मन्त्रालयको मातहतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन तथा कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको दुग्ध विकास संस्थानको सहकार्यमा सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको हो । सूपथ मूल्य पसलबाट उपभोक्तालाई ७ देखि १० रुपैयाँसम्म राहत पुग्ने छ। 

    कहाँ कहाँ रहनेछन् बिक्री केन्द्र ?

    खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थानले आइतबारदेखि देशभर ९८ स्थानमा सहुलियतपूर्ण पसल सञ्चालनमा ल्याएका छन् । खाद्य व्यापार कम्पनीले अनलाइनबाट पनि सहुलियत मूल्यमा खाद्यान्न बिक्री गर्नेछ । कम्पनीले थापाथालीस्थित बागमती प्रादेशिक कार्यालयका साथै देशभरका बिक्री कक्षबाट सुपथ मूल्य पसल सञ्चालन गर्नेछ । सहुलियत मूल्य पसल सञ्चालनका लागि सरकारले खाद्य व्यापार कम्पनीलाई रु दुई करोड ३२ लाख २० हजार बजेट छुट्याएको छ । 

    खाद्य व्यवस्था तथा व्यापार कम्पनीको उपत्यकाभित्र काठमाडौँको थापाथली, रामशाहपथ, ललितपुरको नख्खु र भक्तपुरको सूर्य विनायक गरी ४ स्थानमा सहुलियत पसल सञ्चालनमा आएका छन् । उपत्यका बाहिर भने मोरङ, झापा, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, ओखलढुङ्गा, खोटाङ, सिराहा, जनकपुर, पर्सा, कास्की, तनहुँ, गोरखा, मनाङ, मुस्ताङमा सहुलियत पसल सञ्चालनमा आउनेछन् ।

    यस्तै, रुपन्देही, बाँके, दाङ, बर्दिया, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, सुर्खेत, गुल्मी, दैलेख, डोल्पा, कालीकोट, हुम्ला, जाजरकोट, जुम्ला, मुगु, कैलाली, डडेलधुरा, बाजुरा, बझाङ, अछाम, दार्चुला, महेन्द्रनगरमा पनि सहुलियत पसल सञ्चालनमा रहेको मन्त्रालयले जनाएको छ ।

    यसको साथै निःशुल्क अनलाइन होम डेलिभरी, घुम्ती सेवा, सहकारी र डिलरको माध्यमबाट तोकिएबमोजिम बिक्री वितरण गरिने मन्त्रालयले जनाएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीकाअनुसार कम्पनीको अनलाइन वेब सेवा नेपाल फूड डट जीओभी डट एनपीमा गएर अनलाइनमा खाद्यान्न अर्डर गर्न सकिन्छ । एक पटकको अर्डरमा ५ हजारदेखि २० हजार रुपैयाँसम्म प्रतिपरिवार अर्डर गरेर अनलाइनबाटै खाद्यान्न खरिद गर्न पनि सकिने छ ।

    यता साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले काठमाडौँ उपत्यकामा रहेका ८ वटा बिक्री केन्द्र र ३ वटा घुम्ती पसल गरी जम्मा ३५ स्थानमा बिक्री स्थलबाट सहुलियत पसल सञ्चालन गरेको छ । साल्ट्र ट्रेडिङ काठमाडौँ उपत्यकाको कालिमाटी, जडिबुटी, कोटेश्वरसहित ८ स्थानमा सुपथ पसल सञ्चालन गरेको छ भने तीन वटा घुम्ती सेवामार्फत् सुपथ पसल सञ्चालन गरिरहेको छ । साल्ट ट्रेडिङमार्फत बिक्री हुने सामानमा सहुलियत दिन सरकारले रु एक करोड छुट्याएको छ । त्यस्तै, उपत्यकाबाहिर धनगढी, नारायणटार सहित साल्ट टे«ेडिङका डिपो कार्यालयबाट बिक्री गरिनेछ। 

    यस्तै, दुग्ध विकास संस्थान डीडीसीले भने लैनचौर, न्यूरोड र खुमलटार, विराटनगर, जनकपुर, हेटौंडा, कोहलपुर, नेपालगञ्ज, अत्तरिया, धनगढी, बुटवल गरी जम्मा ११ स्थानबाट सहुलियत सेवा उपलब्ध गराएको छ । साथै, एकीकृत घुम्ती सेवा पसल पनि सञ्चालन हुने मन्त्रालयले जनाएको छ। 

    कुन वस्तु तथा सामानमा कति छुट ?

    खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेशन र दुग्ध विकास संस्थानको सहभागिता रहने सहुलियत पसलमा डीडीसीको घ्यू, खाद्यान्न, खाना पकाउने ग्याँस, कर्णालीको सिमी, जिउँदो खसी–च्याङ्ग्रा, गेडागुडी र दलहन, दुग्धजन्य पदार्थ जुम्लाको मार्सी चामलसम्म उपलब्ध गराइएको छ । 

    सहुलियत पसलमा कम्तीमा प्रतिकिलो २ रुपैयाँदेखि बढीमा ५० रुपैयाँसम्म छुट पाइने छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थानले दिने छुट फरक फरक छन् ।

    खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट सञ्चान हुने सहुलियत पसलमा सबै किसिमको चामल (मोटा–मसिनो–लङग्रेन), दाल, गहुँ, आटा, पिठो, मैदा, तोरीको तेल, सनफ्लावर तेल, भट्टमासको तेल र चिउरामा प्रतिकिलो ७ रुपैयाँ छुट पाइनेछ। त्यस्तै, कर्णालीको सिमी, गेडागुडी, फापरको दाना, चिनो, कागुनो र उवामा प्रतिकिलो १० रुपैयाँ छुटमा पाइनेछ। जिउँदो खसी, बोका र च्यांग्रामा पनि १० रूपैयाँ छुट पाइनेछ। यस्तै, कम्पनीले आयात गर्ने जिउँदो खसी र बोका तथा च्याङ्ग्रामा प्रतिकिलो १० रुपैयाँ छुट दिइने भएको भएता पनि  खसी बोका र च्याङ्ग्रा भने घटस्थापना पछि मात्रै उपलब्ध हुने कम्पनीले जनाएको छ । 

    यस्तै, साल्ट ट्रेडिङबाट सञ्चालन हुने सहुलियत पसलमा मूल्यमा नुन प्रति प्याकेट दुई रूपैयाँ, तेल प्रतिलिटर र चिउरा प्रतिकेजीमा ७ रूपैयाँ छुट पाइनेछ। त्यस्तै, चिनी प्रतिकिलो ९७ रूपैयाँमा बिक्री भइरहेको मन्त्रालयले जनाएको छ।  तर साल्ट ट्रेडिङले ल्याएको चिनी काठमाडौँको थापाथली बिक्री केन्द्रमा मात्रै उपलब्ध रहेको कम्पनीले जनाएको छ । कम्पनीको अनुसार यो चिनी प्रतिपरिवार २ किलोका दरले मात्रै बिक्री गरिने छ । 

    यस्तै, दुग्ध विकास संस्थानबाट सञ्चालन हुने सहुलियत पसलमा घ्यू प्रतिकेजी २०, पनिर दुई सय ग्राममा २० र पनिर पाँच सय ग्राममा ५० रूपैयाँ छुट पाइनेछ। तर पनीर ५०० ग्रामको खरिदमा ५० रुपैयाँसम्म छुट पाइने मन्त्रालयले जनाएको छ । 

    यता, कम्पनीले दसैँ–तिहार, छठलगायत ठूला चाडपर्वको उपलक्ष्यमा सुपथ मूल्य पसलबाट डीडीसी घ्यूमा अधिकतम २० रुपैयाँ छुट दिने जनाएको छ । हाल सामान्य बजारमा प्रतिकेजी १२ सय रुपैयाँ रहेको डीडीसी घ्यू १ हजार १८० रुपैयाँमा नै उपलब्ध गराउने कम्पनीले जनाएको छ । 

    अन्य कुन सामानको मूल्य कति ? हेनुस् मूल्य तालिका

    1.JPG

    बजार अनुगमनमा जोड

    सञ्चालनमा ल्याइएका सहुलियत मूल्य पसल प्रभावकारी भए–नभएको विषयमा अनुगमन गर्न समिति पनि बनाइएको छ । वाणिज्य, आपूर्ति व्यवस्था तथा उपभोक्ता संरक्षण विभागबाट पनि नियमित अनुगमनका अतिरिक्त थप अनुगमन टोली बनाई सघन रूपमा अनुगमन गर्ने उल्लेख छ ।

    खसी–बाख्राको स्वास्थ्य जाँच गर्नका लागि पशु सेवा विभाग, खाद्यान्न वस्तुको अनुगमनका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र नापतौलमा हुन सक्ने कैफियतको अनुगमन गर्न गुणस्तर नापतौल विभागले संयुक्त अनुगमन गर्ने भएका छन् । हरेक वर्ष चाडपर्वमा हुने कालोबजारी र गुणस्तरहीन सामान बिक्री हुने आशंकामा सरकारले बजार अनुगमनलाई जोड दिँदै आएको छ । 

    आम नागरिकको सुविधाका लागि सुपथ मूल्य पसल : मन्त्री रिजाल

    उद्योग तथा आपूर्ति मन्त्री रमेश रिजालले आम उपभोक्तालाई ध्यानमा राखी चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको बताएका छन्। उनले चाडपर्व लक्षित सुपथ मूल्य पसल २०८० उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले आम उपभोक्क्तालाई ध्यानमा राखी अति आवश्यक खाद्य बस्तुहरुको सहज आपुर्तिका लागि सुपथ मुल्य पसल संचालनमा ल्याएको बताएका हुन्। 

    उनले भने,‘आम उपभोक्क्तालाई ध्यानमा राखि अत्तिआवश्यक खाद्य बस्तुहरुको बजार मूल्य नियन्त्रण र गुणस्तरीय कायम गरी सरल सर्वसुलव रुपमा दैनिक उपभोग्य सामान उपलब्ध गराउँने उद्देश्यले चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको हो। ’

    sauhilayat mulya pasal.JPG

    उनले अनुगमनको क्रममा उपभोेक्ताको अधिकार तथा हित विपरित हुने कुनै पनि क्रियाकलापमा संलग्न भएको फेला परेमा जोकोहीलाई पनि सरकारले निर्मम भएर हदैसम्मको कारबाही गर्ने समेत चेतावनी दिए। उनले भने, ‘सरकारले चाडपर्व लक्षित संयुक्त बजार अनुगमन कार्यक्रमको कार्ययोजना तयार गरी निरन्तर बजार अनुगमन समेत गरिरहेको छ। अनुगमनको क्रममा उपभोेक्ताको अधिकार तथा हित विपरित हुने कुनैपनि क्रियाकलापमा संलग्न भएको फेला परेमा जो कोही भए नि सरकार निर्मम भई हदैसम्मको कारबाही गर्न पछि पदैन।’

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार