images
images

दशैँको मुखमा चिनीको हाहाकार, कहिले आउँछ छैन टुङ्गो

दशैँको मुखमा चिनीको हाहाकार, कहिले आउँछ छैन टुङ्गो

बजारमा चरम अभाव हुँदासमेत चिनी कहिले आउँछ भन्ने कुराको टुङ्गो भने अहिलेसम्म लागेको छैन ।

बिहिवार, असोज २५ २०८०
बिहिवार, असोज २५ २०८०
  • images
    images
    दशैँको मुखमा चिनीको हाहाकार, कहिले आउँछ छैन टुङ्गो

    काठमाडौँ / दशैँको मुखमा बजारमा चिनीको हाहाकार देखिएको छ। चाडपर्वको समयमा दैनिक उपभोग्य वस्तु सजिलै र सुपथ मूल्यमा पाउनु अपवाद नै हो। प्रायः नेपालीको भान्सामा दैनिक प्रयोगमा आउने चिनी अहिले नजिकैको किराना पसलमा मात्रै नभई सरकारले सुरु गरेको सुपथ मूल्य पसलमा पनि पाइदैन ।

    images
    images

    सरकारले चाडपर्वको माहोल सुरु भएपछि ५० हजार टन चिनी नेपाल सरकार – भारत सरकार (जीटूजी)मार्फत भारतबाट ल्याउने घोषणा गर्‍यो । त्यहीअनुसार उसले भारतलाई साउन ५ मा पत्रसमेत पठायो । 

    तर त्यसअघि नै भारतले चिनी निर्यातमा बन्देज लगाइसकेको थियो । उखुको अफसिजन भएको र भारतमै चिनीको मूल्य बढ्न थालेपछि नियन्त्रण गर्न भन्दै भारतले जुन १ देखि अक्टोबर ३१ सम्म निर्यातमा रोक लगाएको हो । भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपाली बजारमा चिनीको कालोबजारी सुरु भएको थियो । त्यसपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले अर्थमन्त्रालयलाई चिनी ल्याउन बजेट छुट्याउन आग्रह गर्दै पत्र पठायो । तर, अर्थ मन्त्रालयले बजेट स्वीकृत गर्न समय लगायो । 

    त्यसो त स्वदेशी उद्योगीहरूले भदौ नलाग्दै आफुहरूसँग चिनीको स्टक सकिएको हुँदा वैकल्पिक व्यवस्था गर्न भनेका थिए । तर सरकारले त्यतिबेला चासो नदिएको नेपाल सुगर मिल्स एसोसिएसनका राजकुमार अग्रवाल बताउँछन् । उनका अनुसार नेपालमा उत्पादित चिनीले ८ महिना धान्छ । 

    यस बर्ष भने ९ महिनासम्म पुग्ने उनले बताए । “उखु उत्पादन बढ्यो भने १२ महिना धान्ने चिनी नेपालमै उत्पादन गर्न सकिन्छ । तर, सरकारले किसानलाई दिने भनेको सफ्सिटी अहिलेसम्म दिएको छ । बार्षिक ५ करोड राजस्व बुझाउने चिनी फ्याक्ट्रीहरूको कुरा पनि सुनेको छैन,” अग्रवालले गुनासो पोखे । 

    यता, सरकारले चिनी उद्योगीले व्यापारीलाई बेचिसकेको तर उद्योगको गदोममै भएको चिनी लिएर भए पनि बजारमा बिक्री गर्ने योजना बनाएको छ । उद्योगीले खरिद गरेर लगिसकेको चिनी सरकारले खरिद गरेरै भए पनि बजारमा पठाउने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । अहिले पेप्सी, कोकाकाला र केही बिस्कुट उद्योगले खरिद गरेर राखेको करिब १० हजार टन चिनी लिएर भए पनि बजारमा पठाउने गरी छलफल भएको मन्त्रालयको भनाइ छ । 

    चिनी कहिले आउँछ निश्चित छैन 

    बजारमा चरम अभाव हुँदासमेत चिनी कहिले आउँछ भन्ने कुराको टुङ्गो भने अहिलेसम्म लागेको छैन । दुई सरकारी कम्पनी साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले १०–१० हजार मेट्रिक टन चिनी आयातका लागि प्रक्रिया थालेका थिए । यी दुवै कम्पनीले असोज १० गते ग्लोबल टेन्डर आह्वान गरेको थियो । तर प्रक्रिया लामो हुँदा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको चिनी कहिले आइपुग्छ भन्ने टुङ्गो छैन । खाद्य व्यवस्था तथा व्यापार कम्पनीकी प्रवक्ता सर्मिला न्यौपाने भन्छिन्, “चिनी खरिदको निर्देशन भदौ अन्तिममा आयो । जसकारण हामीले समयमा खरिद प्रक्रिया सुरु गर्न सकेनौ ।” अघिल्लो बर्षहरूमा पनि टेन्डर नपर्दा खाद्यले साल्ट ट्रेडिङ कम्पनीसँग चिनी लिएर बिक्री गर्ने गरेको उनले बताइन् । यस बर्ष साल्ट ट्रेडिङसँग नै चिनी सकिएपछि बिक्री वितरण बन्द भएको उनको भनाइ छ । “खाद्यबाट सुरु गरेको प्रक्रियाअनुसार अहिले चिनी आउने सम्भावना छैन । तिहारमा वा तिहारपछि चिनी आइपुग्छ,” प्रवक्ता न्यौपानेले भनिन् । 

    साल्ट ट्रेडिङसँग करिब ४ सय टन मात्र चिनी रहेको छ तर बजारमा एक महिनामा ३० हजार टन चिनी चाहिन्छ । साल्टले आफुसँग भएको चिनी एक÷दुई केजी उपभोक्तालाई बिक्री गरिरहेको छ । कम्पनीका प्रवक्ता कुमार राजभण्डारी भन्छन्, “हामीसँग भएको चिनी बजारमा पठायो भने एक दिन पनि पुग्दैन त्यसैले उपभोक्ताहरूलाई एक÷दुई किलोका दरले बिक्री गरिरहेका छौँ ।”

    इन्डियामा निर्यात प्रतिबन्ध लागेपछि सरकारबाट स्वीकृति पाएपछि निकालेको टेन्डरमा इन्डियाको नपरेको उनले बताए । अहिले साल्टले कम्पनी छानिसकेको छ तर लागत बढ्ने देखेपछि अहिले के गर्ने भन्ने अन्यौल भएको उनले बताए । “अन्य देशबाट आउने चिनी धेरै महङ्गो हुन्छ । यस विषयमा मन्त्रालयमा छलफल गरेर मात्रै निर्णय गर्न सकिन्छ । थप अनुदान पाइयो भने मात्रै चिनी ल्याउन सकिन्छ” प्रवक्ता राजभण्डारीले भने । उनका अनुसार साल्टले चिनी ल्याउने नल्याउने अहिलेसम्म टुङ्गो लागेको छैन । 

    वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका सूचना अधिकारी निर्देशक तथा प्रवक्ता आनन्दराज पोखरेलले उद्योगी व्यापारीहरूसँग भएको चिनी बजारमा फ्लो गराउने प्रयास भइरहेको बताए । उनले भने, “उद्योगीहरूले आन्तरिक सल्लाह गरेर खबर गर्ने भनेका छन् ।” भएका स्टक सुपथ मूल्य पसलबाट बजारमा गएका छन् तर त्यो पर्याप्त नभएको उनी बताउँछन् । आयात गर्ने भनेको पहिलो खेपको चिनी दशैँसम्म आइसक्ने उनले जिकिर गरे । उनी भन्छन्, “चिनीलगायतका खाद्यपदार्थहरू कतिबेला सकिन्छ भनेर अनुमान गर्न गाह्रो रैछ । अर्ली बजेटिङ गर्नुपर्छ नभए बजेट स्वीकृत हुने अवस्था रहन्न ।” 

    उद्योगीहरूले सरकारलाई खबर गरिसकेपछि छलफल भएर बजेट छुट्याउन समय लागेका कारण ढिला भएको उनले बताए । माग भएजति बजेट अर्थ मन्त्रालयले दिन नसकेको र खरिदको प्रकियामा जान ढिला भएको कारण बजारमा चिनीको अभाव देखिएको उनी बताउँछन् । “सरकारले फण्डको छुट्टै खालको व्यवस्था गर्नुपर्ने हुन्छ । निजी क्षेत्रको जस्तो छिटो निर्णय सरकारको हुँदैन, त्यसैले पनि ढिला भयो ”उनले भने । 

    चीन र अन्य देशबाट आयात गरिएका चिनीको न्यूनतम मूल्य १५० रुपैयाँ पर्न जाने स्थिति हुन्छ । अहिले बजारमा अभाव भएपछि मूल्य फरक फरक भएको उनले बताए । उपत्यका बाहिर भने प्रतिकेजी ११०÷११५ रुपैयाँमा चिनी उपलब्ध हुने उनको दावी छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार