काठमाडौँ / आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घटस्थापनाको उत्तम साइत आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
आश्विन शुक्ल प्रतिपदादेखि बडा दशैँ सुरु भएको मानिन्छ । समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलका अनुसार घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११.२९ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्छ ।
असोज २९ गते सोमबार झण्डा फेर्ने साइत १०.१९ बजे रहेको समितिले जनाएको छ । पश्चिम मोहडा फर्केर झण्डा फेर्नुपर्ने समितिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । कात्तिक २ गते बिहीबार पचली भैरव यात्रा गरिन्छ भने कात्तिक ४ गते शनिबार फूलपाती परेको छ ।
कात्तिक ६ गते सोमबार महानवमी पर्व मनाइन्छ भने कार्तिक ७ गते विजयादशमी परेको छ । घटस्थापनाका दिनदेखि पूजा आराधना गरिने देवीलाई यो दिन बिहान १०ः३७ बजे विसर्जन गरिने साइत छ ।
विजयादशमीका दिन साइत खोजेर टीका लगाउनेका लागि बिहान ११ः२ बजे साइत शुभ रहेको छ । विजयदशमीको टीका लगाउने व्यक्ति पश्चिम मोहडा र लगाइदिने व्यक्ति पूर्व मोहडा फर्किनुपर्ने समितिले जनाएको छ । दशमीदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसाद लगाउन सकिन्छ ।
कार्तिक १० गते शुक्रबार अखिल बलि पूर्ति गरिन्छ भने सोही रात कार्तिक ११ गते शनिबार कोजाग्रत पूर्णिमा पर्व मनाइन्छ ।