चर्चित समाचार
  • देशमा निराशा र बेरोजगारी दर्पण : कामको खोजीमा दसैँ नमनाइ विदेशिए ५६ हजार नेपाली

    देशमा निराशा र बेरोजगारी दर्पण : कामको खोजीमा दसैँ नमनाइ विदेशिए ५६ हजार नेपाली

    हरेक महिना १० हजार विद्यार्थीले छाड्छन् देश !

    सोमवार, कार्तिक १३ २०८०
    सोमवार, कार्तिक १३ २०८०
  • देशमा निराशा र बेरोजगारी दर्पण : कामको खोजीमा दसैँ नमनाइ विदेशिए ५६ हजार नेपाली

    काठमाडौँ / नेपालीहरूको महान चाडपर्वको समयमा पनि विदेशिने नेपालीहरूको संख्यामा भने कमि आएको छैन । पहिले–पहिले विदेश र सहरबजारबाट दसैँ र तिहार जस्ता चाडपर्व मनाउन जन्मथलो गाउँमा फर्कने चलन थियो । पछिल्लो केहि बर्ष यता यो परम्परा फेरिदै गएको छ । 

    विगतमा दसैँको समयमा काठमाडौँ उपत्यका खाली गरेर गाउँ आउनेहरूको ट्रेन्ड फेरिएर अहिले गाउँ–काठमाडौँ छाडेर रोजगारीको खोजीमा अर्थात श्रम बेच्न खाडी मुलुक तथा युरोप, अस्ट्रेलिया, जापान, क्यानाडा, अमेरिका लगायत विश्वका विकसित र राम्रा भनिएका मुलुकमा जाने प्रवृत्ति बढ्दै गइरहेको छ । 

    स्वदेशमा रोजगारीको अवसर नहुँदा नेपाली युवाहरू धमाधम विदेश जाने क्रम रोकिएको छैन । मुलुकमा बेरोजगारी बढ्दै गएपछि वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ सुरु भएयता अर्थात तिन महिनामा (साउनदेखि असोजसम्म) मात्रै एक लाख ६२ हजार ६९४ जना युवाहरू रोजगारीकै खोजीमा विदेश गएका छन् ।

    चालु आर्थिक बर्षको तिन महिनामा विदेशिनेहरूको तथ्याङ्क हेर्ने हो भने असोज महिनामा सबैभन्दा धेरै बाहिरिएका छन् । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार असोज महिनामा ५६ हजार २३५ जनाले श्रम स्वीकृति लिएर विदेशिएका हुन् । असोज महिनामा ३८ हजार ९४२ जनाले नयाँ श्रम स्वीकृति लिई विदेशिएका छन् भने १७ हजार २९३ जनाले पुनः श्रम स्वीकृति लिई विदेशिएका छन् । जसमध्ये ४९ हजार ३९८ जना पुरुष र ६ हजार ८३७ जना महिला कामको खोजीमा विदेशिएका छन् । यता गत आर्थिक बर्षको असोजमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ६२ हजार ७०६ थियो । 

    यता चालु आ.व.को साउन र भदौँ महिनामा पनि सोही हाराहारीमा बिदेसिएका थिए । साउन महिनामा ५५ हजार ५७५ जना र भदौँ महिनामा ५० हजार ८८४ जनाले श्रम स्वीकृति लिएर विदेशिएका छन् । यो नयाँ श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति लिनेसमेतको संख्या हो । यस्तै, गत आ.व.को साउन, भदौँ र असोजमा दुई लाख दुई हजार नेपाली विदेशिएका थिए । 

    वैदेशिक रोजगारको इतिहासमै गत आ.व.को भदौँ महिनामा सबैभन्दा बढि ७६ हजार ४०३ नेपालीले वैदेशिक रोजगारमा जान सरकारबाट श्रम स्वीकृती लिएका थिए । यो संख्या वैदेशिक रोजगार तथ्याङ्क राख्न सुरु गरेयता २९ बर्षकै उच्च थियो । तथ्याङ्क अनुसार वैदेशिक रोजगारीको ३० बषको इतिहासमा गत आ.व.मा सबैभन्दा धेरै युवा रोजगारी खोज्दै विदेश गएका थिए । चालु आ.व.मा भने यो संख्या ५५ हजारमा सिमित भएको छ । 

    झापाबाट मात्रै बाहिरिए २ हजार ६ सय युवा

    तथ्यांकअनुसार असोज महिनामा मात्रै जिल्लागतको क्रममा सबैभन्दा बढी दुई हजार ६ सय ७३ जना युवाहरू झापाबाट वैदेशिक रोजगारीका लागि बिदेसिएका छन् । त्यस्तै, धनुषाबाट दुई हजार ६ सय २९ जना नेपालीहरू वैदेशिक रोजगारीको लागि विभिन्न मुलुक गएको विभागका तथ्यांकले देखाएको छ । मोरङबाट दुई हजार तीन सय १८, सिराहाबाट दुई हजार एक सय १३, महोत्तरीबाट एक हजार आठ सय ६०, रूपन्देहीबाट एक हजार सात सय ८३ र सर्लाहीबाट एक हजार पाँच सय ५९, सप्तरीबाट एक हजार तीन सय ५५, चितवनबाट एक हजार तीन सय ५२ जना र कपिलवस्तुबाट एक हजार एक सय ९४ जनाले श्रम स्वीकृति लिई बिदेसिएका छन् । 

    कुन देशको लागि कतिले लिए श्रम स्वीकृति ? 

    वैदेशिक रोजगारीका लागि असोज महिनामा सबैभन्दा बढी संयुक्त अरब इमिरेट्स (युएई), साउदी अरेबिया, कतार र मलेसियाका लागि श्रम स्वीकृति लिएका छन् । असोजमा युएईका लागि १३ हजार ९ सय ५ जना र साउदी अरेबियाका लागि ११ हजार १ सय २३ जनाले श्रम स्वीकृति लिएका छन् । यस्तै, कतारका लागि १० हजार ६ सय १० जना र मलेसियाका लागि सात हजार ९ सय ९ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्याङ्क छ । पछिल्लो समय वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या मलेसिया भन्दा खाडी देशतिर बढ्न थालेको विभागको तथ्याङ्कले जनाएको छ ।  

    त्यसैगरी, कुवेतका लागि तीन हजार ७ सय ८१ जना नेपालीले श्रम स्वीकृति लिएका छन् । यस्तै माल्टाका लागि एक हजार एक सय ६० जनाले, जापानका लागि एक हजार ४८ जना, क्रोसियाका लागि ९ सय ७० जना, रोमानियाका लागि सात सय ४ जना, बहराइनका लागि ६ सय आठ जनाको स्वीकृति लिएका छन् । त्यस्तै साइप्रसका लागि ५ सय ३३ जनाले स्वीकृति लिएको विभागको तथ्यांक छ । असोजमा बिदेसिएका अधिकांश नेपाली युवा दक्ष योग्यताका छन् । विदेसिने क्रममा दक्ष योग्यताका ३८ हजार सात सय ३८ जना रहेका छन् भने अदक्ष योग्यताका १२ हजार पाँच सय २६ जना नेपाली युवा रहेका छन् ।  

    हरेक महिना १० हजार विद्यार्थीले छाड्छन् देश ! 

    नेपालमा उच्च शिक्षाको भविष्य राम्रो भए तापनि पढाइसँगै कमाइ गर्ने योजनाअनुसार अधिकांश विद्यार्थी माध्यमिक शिक्षा (कक्षा १२) उत्तीर्ण हुनासाथ विदेशिने गरेका छन् । उच्च शिक्षा अध्ययन गर्न हरेक महिना १० हजार विद्यार्थीले मुलुक छाड्छन् । यो संख्या भारतबाहेकको हो । शिक्षा मन्त्रालयलअन्तर्गत वैदेशिक अध्ययन अनुमति शाखाले उपलब्ध गराएको तथ्यांकअनुसार दैनिक करिब २ सय बढीले नो अब्जेक्सन लेटर (एनओसी) लिने गरेका छन् ।

    चालु आर्थिक वर्षको ३ महिनासम्ममा अर्थात साउनदेखि असोजसम्मको तथ्यांक अध्ययन गर्दा प्रत्येक महिना करिब १० हजारको संख्यामा विद्यार्थीले एनओसी लेटर लिने गरेका छन् । गत आर्थिक बर्षको असारमा ११ हजार २ सय १७ एनओसी लेटर लिएकोमा चालु आर्थिक बर्षको पहिलो महिना साउनमा १० हजार १ सय ८२ जनाले नो अब्जेक्सन लेटर लिएका छन् । यस्तै, भदौ र असोजमा मासिक करिब १० हजारले एनओसीलेटर लिएका छन् । तथ्यांकअनुसार वार्षिक करिब १ लाख १० हजार विद्यार्थीले एनओसी लेटर लिने गरेका छन् ।

    एनओसी लिएका अधिकांश विद्यार्थी उच्च शिक्षा अध्ययन गर्न अस्ट्रेलिया, अमेरिका, स्विजरल्यान्ड, बेलायत, जापान, जर्मन, साइप्रस, क्यानडा, चीनलगायत ९० भन्दा बढि मुलुकमा गएका हुन् । पछिल्लो समय नयाँ मुलुक रोमानियामा अध्ययन गर्न पनि एनओसी लेटर लिएका छन् ।

    ५ बर्षमा करिब साढे ३ लाखले लिए नो अब्जेक्सन सर्टिफिकेट
     
    ५ बर्षमा ३ लाख ४८ हजार ९ सय २० जनाले नो अब्जेक्सन सर्टिफिकेट अर्थात एनओसी लिएका छन् ।  विगतमा पढेलेखेकाहरू खाडी मुलुक र मलेसियामा गएर काम गर्ने गरेकामा अहिले १२ उत्तीर्ण हुने बित्तिकै नो अब्जेक्सन सर्टिफिकेट अर्थात एनओसी लिएर पीआर लिन र उत्तै बस्नका लागि विकसित मुलुक जानेको संख्या बढेको छ । 
     
    विगतमा खाडी र मलेसिया जानेले रेमिट्यान्स पठाउने गरेकाले चिन्ता नभएकोमा अहिले विकसित मुलुकमा जाने प्रवृत्ति बढ्न गई उत्तै बस्ने भएकाले नेपालबाट जनसंख्यासँगै पुँजी पनि नफर्किने गरी बाहिरिएको छ । जस कारण ‘ब्रेन ड्रेन’को खतरा पनि बढ्दै गइरहेको छ । ‘ब्रेन ड्रेन’एक प्रकारको बसाइसराइ हो, जसले आर्थिक रूपमा पिछडिएको देशका दक्ष मानिसहरू राम्रो अवसरको खोजीमा विकसित देशहरूमा सर्ने गर्दछ । यो पनि बसाइसराइ कै आर्थिक परिणाम हो।
     
    तथ्याङ्क अनुसार गत आर्थिक बर्षको अन्तयसम्ममा १ लाख १० हजार २ सय १७ जना विदेशमा अध्ययनका लागि अनुमति लिएका थिए । जसमा सबैभन्दा धेरै अष्ट्रेलियाका लागि ३३ हजार ९ सय ९१ जनाले नो अब्जेक्सन लेटर (एनओसी) लिएका थिए ।

    कुन आर्थिक बर्षमा कतिले लिए एनओसी ?
     
    आर्थिक बर्ष २०७५/०७६– ६३ हजार २५९
    आर्थिक बर्ष २०७६/०७७– ३३ हजार ३७  
    आर्थिक बर्ष २०७७/०७८– २७ हजार ९७८        
    आर्थिक बर्ष २०७८/०७९– १ लाख १४ हजार ४२९        
    आर्थिक बर्ष २०७९/०८०– १ लाख १० हजार २१७  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार