images
images

राष्ट्रिय हितमा सबै शक्तिको साझा धारणा आउनुपर्छ : नेत्री राजभण्डारी

राष्ट्रिय हितमा सबै शक्तिको साझा धारणा आउनुपर्छ : नेत्री राजभण्डारी

मंगलवार, कार्तिक २१ २०८०
मंगलवार, कार्तिक २१ २०८०
  • राष्ट्रिय हितमा सबै शक्तिको साझा धारणा आउनुपर्छ : नेत्री राजभण्डारी

    काठमाडौँ / नेपाली कांग्रेसकी नेत्री सपना राजभण्डारी राष्ट्रियता र राष्ट्रिय हितका विषयमा देशका सबै राजनीतिक शक्तिको साझा धारणा आउनुपर्ने बताउछिन् । 

    images
    images

    जनता र देशका हितका सवालमा सबै शक्ति एकै ठाउँमा उभिनुपर्नेमा जोड दिँदै उनले एक पक्षले उठाएका विषयलाई अर्काले खण्डन गर्दै जुहारी खेल्ने काम भइरहेकामा त्यसमा सुधारको खाँचो औँल्याइन् । 

    उनी भन्छिन्, “मुलुकको हित हुने विषयमा सरकार, प्रमुख प्रतिपक्षलगायत सबै पक्ष एक ठाउँमा उभिनुपर्छ, अहिले त्यस्ता विषयमा समेत सदनमा दलहरूबीच जुहारी खेलेजस्तो अनुभव हुन्छ ।”

    नेत्री राजभण्डारीले नेतृत्वले देश, समाज र जनतालाई ठिक बाटाबाट डोहोर्याउन पार्टीको आन्तरिक जीवनमा प्रशिक्षण दिनुपर्नेमा जोड दिइन् । 

    प्रतिनिधिसभामा समानुपातिक प्रणालीबाट निर्वाचित उनले विभिन्न विधि र प्रक्रिया रहेका कारण राजनीतिकरूपमा बाहिरबाट कल्पना गरिएजस्तो आफूले सदनमा महसुस गर्न नपाएको बताउँदै कानुन निर्माणका हिसाबले जति काम गर्नुपर्थ्यो, त्यो अनुभव गर्न पाइएन भनिन् ।

    पछिल्लो निर्वाचन परिणामले प्रमुख राजनीति दलप्रति जनतामा केही वितृष्णा आएको पक्षलाई नकार्न नमिल्ने बताउँदै सांसद राजभण्डारीले आस्थाका आधारमा नभई जनताकेन्द्रित कार्यक्रम ल्याएर तिनमा उत्साह भर्न सकिने धारणा राखिन् । 

    उनको कार्यक्षेत्र विश्वसम्पदा सूचीमा सूचीकृत काठमाडौँ उपत्यकाको नेवारी समुदायको सांस्कृतिक सम्पदा, जात्रा, डबली, मठमन्दिर भएको क्षेत्र छ । 

    नेपाल विद्यार्थी सङ्घबाट राजनीति यात्रा प्रारम्भ गरेकी उनले काठमाडौँ जिल्लामा पार्टी सङ्गठन विस्तारमा सक्रियपूर्वक योगदान पुर्याउँदै आएकी छन् । उनका अनुसार सहरी र सानो निर्वाचन क्षेत्र भएकाले खानेपानीबाहेक विकास निर्माणका हिसाबले मतदाताको खासै गुनासो आएको छैन । 

    निर्वाचन क्षेत्र नं ८ का मतदाता कल्चर संरक्षणसम्बन्धी विषय धेरै उठाउँछन् । विश्वसम्पदा सूचीमा सूचीकृत हनुमानढोका, स्वयम्भूसहित यहाँ नेवारी कल्चर धेरै छ, इन्द्रजात्रा र अरू जात्रा तथा गुठीका संरक्षणको विषय प्रखररूपमा उठ्ने गरेको छ ।

    पुरातात्त्विक महत्त्व बोकेको क्षेत्र भएकाले यसको संरक्षण र संवद्र्धन गर्नु राज्यको दायित्व भएको विचार प्रकट गर्दै उहाँले ती संरचना र संस्कृतिलाई जोगाउन र व्यवस्थित गर्न सकिएमा संसारकै आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न सकिने प्रशस्तै सम्भावना बोकेको छ भनिन् ।

    सदनमा शून्य, विशेष र आकस्मिक समयमा विभिन्न महत्त्वका जल्दाबल्दा विषय उठाइए तापनि सम्बोधन भने नभएको गुनासो गर्दै नेत्री राजभण्डारीले असल जनप्रतिनिधि बन्न कानुन निर्माणको जिम्मेवारी पूरा गर्दै जनताका समस्या बुझ्ने र सम्बोधनमा लाग्नुपर्नेमा जोड दिइन् । 

    सांसद राजभण्डारीले सदनमा हुने बहसको प्रत्यक्ष प्रसारणको व्यवस्था भई जनताले नजिकबाट नियालिरहेकाले अभिव्यक्ति र प्रस्तुतीकरणमा देखिने अशोभनीय विषयलाई तत्काल सुधार गर्न तत्तत् राजनीतिक दलका नेतृत्वले सांसदलाई सुझाव र प्रशिक्षण दिनुपर्ने खाँचो औँल्याइन् । 

    कांग्रेस नेता नवीन्द्रराज जोशीकी धर्मपत्नीले महिला भएकै कारण सदनमा अवसर प्राप्त गर्ने सन्दर्भमा असहजता भोग्नु नपरे पनि बोल्न समय दिँदा कहिलेकाहीँ आफ्नो नाम पछि परेको हो कि भन्ने अनुभूति सुनाइन् ।

    एक प्रसङ्गमा नेत्री राजभण्डारीले भनिन्, “अहिले निर्वाचन प्रणाली खर्चिलो छ, निष्ठाको राजनीतिक ओझेलमा परेको पनि सुनिएको छ, आचारसंहिता पालना राम्रोसँग हुन सकेन । राम्रो अभ्यासलाई होइन, नराम्रा विषयलाई अनुसरण गरिँदा यो अवस्था आएको हो ।”

    विधेयक ल्याउने विषयमा सांसदलाई पूर्वजानकारी दिने तथा त्यसबारे छलफल गर्ने र बुझाउने विषय संसदीय दलमा खासै नहुने गरेको पनि बताइन् । उनले भ्रष्टाचारका कारण जनतालाई छिटोछरितो र सुलभरूपमा सेवा प्राप्त गर्न चुनौती खडा भइरहेको अनुभव पनि सुनाइन् । 

    उनले भनिन्, “भ्रष्टाचार, अनियमितता र महँगीविरुद्ध जनताले निरन्तर खबरदारी गर्नुपर्ने देखिएको छ । अन्यायविरुद्ध आवाज नउठाएसम्म गलत कार्य रोकिँदैन । सांसदले पनि सदनमा आफ्नो आवाज मुखरित गर्नुपर्छ ।”

    अहिले विदेश पलायनको स्थिति हेर्दा केही वर्षमै युवा, विद्यार्थी मुलुकमा रहलान् र भन्ने प्रश्न उब्जिरहेको बताउँदै सांसद राजभण्डारीले मुलुकको ठूलो जनशक्ति युवालाई पढाइ सकिनेबित्तिकै रोजगारीको सुनिश्चिता दिलाउन विभिन्न राष्ट्रिय कार्यक्रम ल्याउन आवश्यक रहेको बताइन् । 

    उनले भनिन्, “विद्यार्थीलाई स्वदेशमै गुणस्तरीय शिक्षा दिने, बन्द रहेका उद्योग पुनः सञ्चालन गर्ने, थप रोजगारीका क्षेत्र विस्तारलाई प्राथमिकता दिने गर्नुपर्छ, यसले तिनमा देशभक्ति बढाउँछ र रोजगारी पनि दिलाउँछ ।”

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार