images
images

कात्तिकमा ७.२६ प्रतिशतले घट्यो घरजग्गाको कारोबार, राजस्वमा पनि धक्का

कात्तिकमा ७.२६ प्रतिशतले घट्यो घरजग्गाको कारोबार, राजस्वमा पनि धक्का

कात्तिकमा देशभरको मालपोत कार्यालयबाट २६ हजार ४६ संख्यामा मात्रै घरजग्गा किनबेच भएको छ !

शुक्रवार, मंसिर १ २०८०
शुक्रवार, मंसिर १ २०८०
  • कात्तिकमा ७.२६ प्रतिशतले घट्यो घरजग्गाको कारोबार, राजस्वमा पनि धक्का

    काठमाडौँ / घरजग्गा कारोबारमा कमी आउँदा राजस्व सङ्कलन प्रभावित भएको छ । भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्याङ्क अनुसार गत बर्षको कात्तिक महिनाको तुलनामा भने यस वर्ष सोही अवधिमा घरजग्गा कारोबारमा ७.२६ प्रतिशतले कमि आएको हो । 

    गत वर्ष कात्तिकमा देशभर २७ हजार नौ सय ३९ संख्यामा घरजग्गा किनबेच भएको थियो भने यस वर्ष सोही अवधिमा २६ हजार ४६ संख्यामा मात्रै घरजग्गा किनबेच भएको छ। 

    यस्तै, चालु आवको असोज महिनामा देशभरका मालपोत कार्यालयबाट ३९ हजार ८ सय ८१ संख्यामा घरजग्गा किनबेच भएको थियो भने भदौ महिनामा ३५ हजार ६८६ वटा घरजग्गा किनबेच भएको थियो । उक्त तथ्याङ्क हेर्दा कात्तिक महिनामा कारोबार निकै कम भएको स्पष्ट देखिन्छ ।

    विभागको अनुसार कात्तिक महिनामा देशभर २६ हजार घरजग्गा किनबेच हुँदा १८ हजार ५९३ वटा घरजग्गा रोक्का भएको छ भने १५ हजार २५९ वटा घरजग्गा फुकुवा भएको छ । साथै, सोही अवधिमा देशभर २२ वटा अपार्टमेन्ट किनबेच भएको छ ।

    जग्गा तथा आवास विकास महासंघका (एनएचएलडिएफ)का अध्यक्ष भेषराज लोहनीका अनुसार कात्तिक महिनामा घरजग्गा कारोबार घटेपनि मंसिरदेखि भने वृद्धि हुने बताएका छन् । असारदेखि भदौसम्म घरजग्गा खरिदबिक्रीका लागि अफसिजन मानिन्छ । र, कात्तिक महिनामा चाडपर्वहरूको कारण बिदा धेरै भएकोले घरजग्गाको कारोबार घटेको उनले बताए । 

    उनी भन्छन्, “कार्तिकमा चाडपर्वका कारण सार्वजनिक विदा धेरै छ, त्यसैले कारोबार घट्न पुगेको हो तर मंसीरदेखि पुनः कारोबार बढ्ने हाम्रो अनुमान छ ।” जग्गा वर्गीकरणमा भएको ढिलाइ र विश्वव्यापी आर्थिक मन्दीको असरका कारण काठमाडौँ उपत्यकासहित देशभर घरजग्गा कारोबारमा सुस्तता आएको थियो । 

    उनले मंसिरमा घरजग्गाको कारोबार बढ्नुमा कित्ताकाट खुल्नु, बैंक कर्जाको ब्याजदर घट्नु  र रोमिट्यान्स बढ्नु मुख्य कारणहरू रहेको बताएको छन् ।  २०७९ जेठ २३ गतेदेखि भू–उपयोग नियमावली लागू भएपछि जग्गा व्यवस्थापन नयाँ ऐन–नियममा निर्देशित भएको थियो। स्थानीय भू–उपयोग परिषदबाट जग्गा वर्गीकरणको काम सुरु भएपछि जग्गाको कित्ताकाट रोकिएको थियो। 

    उक्त नियमावली अनुसार सबै स्थानीय तहलाई जग्गा कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन गरी विभिन्न विधामा वर्गीकरण गर्न भनिएको थियो। तर सरकारले तोकेको र थप गरिएको समयमा समेत सबै स्थानीय तहहरूले वर्गीकरणको काम सकेनन्। लामो समय जग्गा किनबेच ठप्प भयो।

    यसले अर्थतन्त्रमा नकारात्मक असर परेको भन्दै गत वैशाख ५ को मन्त्रिपरिषद बैठकले भू–उपयोग नियमावली संशोधन गरेर देशभर कित्ताकाट खोल्ने निर्णय गरेको हो। सरकारले २०८१ को साउनसम्मका लागि कित्ताकाट खुला गरेको अवस्था छ । त्यतिन्जेलसम्म देशभरका ७५३ वटा स्थानीय तहले जग्गाको वर्गीकरण गर्नुपर्नेछ।

    यस्तै, अधिकंश वाणिज्य बैंकहरूले पनि मंसिर महिनाको लागि ब्याजदर घटाएका छन् । वाणिज्य बैंकहरूले अहिले आधारदरको एक प्रतिशतदेखि अधिकतम पाँच प्रतिशतसम्म ब्याज लिएका छन्। पहिले भने आधारदरमा ६ देखि ८ प्रतिशतसम्म प्रिमियम लिने गरेका थिए। 

    यता, अघिल्लो वर्षको तीन महिनाको तुलनामा चालु वर्षको सोही अवधिमा ३० प्रतिशतले वृद्धि भई ३ खर्ब ६५ अर्ब ३४ करोड पुगेको छ । रेमिटेन्स बढ्दाको सोझो प्रभाव घरजग्गामा देखिने राष्ट्र बैंकको एक अध्ययन प्रतिवेदनले देखाएको हो । कित्ताकाट खुल्नु, बैंकको ब्याजदर घट्नु र रेमिट्यान्स बढ्नु लगायतका कारणले अहिले घरजग्गाको कारोबारमा सुधारको सङ्केत देखिएको छ ।

    राजस्व सङ्कलन पनि घट्यो ! 

    कात्तिक महिनामा घरजग्गाको कारोबार कम भएसँगै राजस्व संकलनमा उच्च प्रभाव परेको छ । तथ्याङ्कअनुसार कात्तिक महिनामा २ अर्ब १६ करोड ३८ लाख ६७ हजार ५ सय ६४ रुपैयाँ मात्रै राजस्व संकलन गरेको छ । गत आर्थिक बर्षको कात्तिक महिनामा तीन अर्ब ७६ लाख २५ हजार नौ सय १६ रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।

    यस्तै, २०७८ साल कात्तिकमा देशभरका मालपोत कार्यालयबाट  पाँच अर्ब ४९ करोड ५१ लाख ८३ लाख १८ रुपैयाँ र २०७७ साल कात्त्किमा तीन अर्ब छ करोड २५ लाख ६३ हजार सात सय २७ रुपैयाँ बराबरको कारोबार भएको थियो । यता, चालु आर्थिक बर्षको असोज महिनामा भने ४ अर्ब ८ करोड ६६ लाख २९ हजार ४३७ रूपैयाँ राजस्व संकलन गरेको विभागको तथ्याङ्क छ । 

    सरकारलाई घरजग्गा कारोबारबाट सेवा कर, रजिस्ट्रेसन दस्तुर, पुँजीगत लाभकर लगायत विभिन्न शीर्षकमा राजस्व प्राप्त हुन्छ। विभागले कात्तिकमा २० करोड १५ लाख रुपैयाँ सेवा करवापत उठाएको छ । त्यसैगरी, १ अर्ब ३७ करोड ८ लाख रुपैयाँ रजिष्ट्रेशन दस्तुर, ७७ करोड ९ लाख रुपैयाँ पूँजीगत लाभकर र अन्य विभिन्न सेवावापत गरी २ अर्ब बढी राजस्व संकलन गरेको छ । साथै, सोही अवधिमा विभागले २० करोड २२ लाख रुपैयाँ विभिन्न सेवा छुट दिएको छ ।

    कात्तिकमा सबैभन्दा बढी लगनखेल मालपोत कार्यालयबाट राजस्व संकलन गरेको छ । लगनखेल मालपोत कार्यालयले कात्तिकमा १८ करोड ९४ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । यस्तै, डिल्लीबजार मालपोत कार्यालयबाट १८ करोड १५ लाख रुपैयाँ, भक्तपुर मालपोत कार्यालयबाट १४ करोड २६ लाख रुपैयाँ, चावहिल मालपोतबाट १३ करोड १८ लाख रुपैयाँ र कलंकी मालपोत कार्यालयबाट १२ करोड ४४ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

    काठमाडौँमा कहाँ कति भयो किनबेच ?

    काठमाडौँमा ६ वटा मालपोत कार्यालय छन्ः कलंकी, चाबहिल, डिल्लीबजार, मनमैजु, टोखा र साँखु। यी कार्यालयहरूलाई भौगोलिक आधारमा निश्चित ठाउँहरू तोकिएको छ । ती ठाउँका जग्गासम्बन्धी सबै काम तिनै कार्यालयले गर्छन्।

    काठमाडौँमा भएको कारोबारमध्ये सबैभन्दा बढी कलंकी मालपोत कार्यालयबाट छ। कलंकी कार्यालयबाट कात्तिकमा ३ सय ७१ संख्यामा घरजग्गा कारोबार भएको छ । यस कार्यालयको क्षेत्राधिकारभित्र काठमाडौँ महानगरपालिकाको वडा नम्बर १३, १४ र १५, कीर्तिपुर, चन्द्रागिरी, दक्षिणकाली र नागार्जुन नगरपालिका पर्छन् ।

    दोस्रो ठूलो कारोबार गर्नेमा चाबहिल मालपोत कार्यालय छ। यस कार्यालयबाट कात्तिकमा दुई सय ६७ संख्यामा कारोबार भएको छ। आलापोट, इन्द्रायणी, गागलफेदी, डाँछी, सुन्दरीजल लगायतका क्षेत्र यसका कार्यक्षेत्र हुन्।

    त्यस्तै, तेस्रोमा साँखु मालपोत कार्यालय हो। यस कार्यालयबाट कात्तिकमा दुई सय १ संख्यामा घरजग्गा कारोबार भएको छ। यसको कार्यक्षेत्र बुढानीलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी र मनोहरा नगरपालिका हुन् । यता, डिल्लीबजार कार्यालयबाट एक सय १७ संख्यामा घरजग्गा किनबेच भएको छ। यस कार्यालयले काठमाडौँ महानगरको वडा नम्बर ६, ७, १३, १४ र १५ बाहेकका सबै वडा हेर्छ । 

    यस्तै, टोखा कार्यालयबाट ८९ संख्यामा घरजग्गा किनबेच भएको छ । यसले बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ६ र ७, टोखा नगरपालिका, तारकेश्वर नगरपालिका वडा नम्बर १ हेर्छ । चालु आर्थिक बर्षको कात्तिक महिनामा मनमैजु कार्यालयबाट कात्तिक महिनामा घरजग्गको कारोबार शुन्य रहेको छ । यो कार्यालयको क्षेत्र तारकेश्वर नगरपालिकाको वडा–१ साङ्लाबाहेकका सबै वडा हुन्।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार