काठमाडौँ / लामो समयदेखि ओझेलमा परेको र हाल ढिलासुस्तीको शिकार बनेका अलपत्र आयोजना पूरा गराउन १२ बुँदे मागसहित अछाम जिल्लाका विकासप्रेमीहरू संघीय राजधानी काठमाडौँ आइपुगेका छन् । अछाममा दर्जन बढी आयोजना अलपत्र परेपछि त्यहाँका विकासप्रेमीहरू सङ्घर्ष समिति गठन गरेरै काठमाडौँ आएका हुन् ।
अलपत्र विकास आयोजना सरोकार संघर्ष समिति, पूर्वी अछामका संयोजक पुष्प न्यौपानेले २०२८ सालदेखि, ५० सालदेखि र ७० सालदेखि टेण्डर भएर पनि बजेट हराएको उल्लेख गर्दै शक्ति अभ्यास नपुगेको बताएका छन् ।
पूर्व अछामका सबै जनप्रतिनिधिहरूलाई आफूहरूको पूर्ण समर्थन रहने भन्दै उनले जनप्रतिनिधिहरूलाई विकासको लागि थप बल पुर्याउने जिकिर गरे । न्यौपानेका अनुसार समितिले अघि सारेका मागहरूमा जंगलघाट कर्णाली पुल यथाशिघ्र यही आर्थिक बर्षबाट निर्माण सुरु गर्नुपर्ने रहेको छ ।
त्यस्तै, सञ्चय कोषले तयारी गरेको ४३९ मेगावाटको वेतन कर्णाली सरकारी लगानीमै यथाशीघ्र अगाडि बढाईनुपर्ने, २ पटक टेण्डर आह्वान भइसकेको टुनिवगर पक्की पुल र टेण्डर प्रकृयामा रहेको तल्लो डुङ्गेश्वर पक्की पुल सकेसम्म एउटै प्याकेजमा टेण्डर दिई यही आर्थिक बर्षबाट निर्माण थालनी गरिनुपर्ने समितिको माग छ ।
झण्डै डेढ दशकदेखि अलपत्र परेको ९ सय मेगावाटको अपरकर्णाली जि.एम.आर.ले चाँडो निर्माण कार्य सुरू गरोस वा राज्यले वैकल्पिक व्यवस्था गरी निर्माण प्रकृयामा ल्याउनुपर्ने आफुहरूले माग राखेको संयोजक न्यौपानले बताए ।
यस्तै, समितिले दशकौँदेखि ओझेलमा परेको र हाल ढिलासुस्तीको शिकार बनेको अछाम–कैलालीको सबैभन्दा छोटो सडक चिसापानी–जंगलघाट–मंगलसेन सडक खण्डलाई पूर्णता दिन पर्याप्त बजेटको व्यवस्था गरिनुपर्ने मागसमेत अघि सारेको छ । साथै, प्रदेशले गौरव आयोजनाका रूपमा घोषणा गरेको बडीमालिकासम्मको सोही सडकखण्डमा पर्याप्त वजेट छुट्याईनुपर्ने पनि समितिको माग छ ।
समितिले अघि सारेका अन्य मागहरूमा विगत लामो समयदेखि अलपत्र कमलबजार एयरपोर्टको निर्माण कार्य सम्पन्न गरी सेवा सुचारूको वातावरण बनाईनुपर्ने, पूर्वी अछामको पश्चिमी भाग ढकारीलाई समेत जोड्नेगरि सेती लोकमार्ग निर्माण कार्यलाई तीब्रता दिईनुपर्ने, विनायक पञ्चदेवलको पुरातात्विक अवस्थालाई जिवित राख्दै त्यसको बाहिरी संरचना प्राचीन शैलीमै पुनर्निर्माण गरिनुपर्नेलगायतका छन् ।
त्यस्तै, जिल्लाका पाण्डव शैलीका देवालयहरूको संरक्षण गर्दै पाण्डव पदमार्ग विकास गरि धार्मिक पर्यटनको वातावरण निर्माण गरिनुपर्ने, तितौडा, त्रिपुरेश्वरीलगायत यस क्षेत्रका धार्मिक स्थलहरूको प्रवद्र्धन र संरक्षण गरिनुपर्ने र बाँच्कोटको मौलो, जिल्लाका विभिन्न स्थानमा खेलिने भुओ, होरी, देउडालगायत लोक सँस्कृतिको जगेर्ना गर्न र ‘पुख्र्यौली थलोमा एकपटक जाऔं’ भन्ने नारासहित अछामलाई विभिन्न जातजातिको पर्यटकीय क्षेत्र बनाउन र मध्यकालिन खस क्षेत्रको उद्गम अछामको इतिहास लेखनका लागि एउटा अधिकार सम्पन्न इतिहासविदहरूको समिति निर्माण गरिनुपर्ने संयोजक न्यौपानले बताए ।
यस्तै, अछाम जिल्ला तुर्माखाँत गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष तथा संघर्ष समितिका सह–संयोजक पदमबहादुर बिसीले समितिले आफ्ना माग पूरा गराउनको लागि प्रभावकारी भूमिका निर्वाह गर्ने बताए ।
संघर्ष समितिले उक्त क्षेत्रको विकास निर्माणका कामलाई सहजता, समन्वय र सहकार्यका लागि वातावरण निर्माण गर्ने जनाईएको छ । ढिला सुस्ती भएका आयोजनाको हकमा केन्द्रदेखि स्थानीयस्तरसम्म उक्त समितिले कामलाई तीब्रता दिन दबावमुलक कार्यक्रमहरू तय गर्ने पनि जनाईएको छ ।
संघर्ष समितिमा विकास आयोजना प्रभावित क्षेत्रका राजनीतिक दलका प्रतिनीधि, वडा अध्यक्ष वा सो वडाका जिम्मेवार व्यक्तिहरू, इच्छुक भएमा आयोजना प्रभावित पालिकाको अध्यक्ष, सामुदायिक बन, विद्यालय व्यवस्थापन, मुआव्जा प्राप्त गर्ने जग्गा धनी, नागरिक समाज, वुद्धिजीवी, समाजका अगुवा वा सामाजिक अभियान्ता, दलित र महिला लगायतबाट समावेशी आधारबाट सदस्य रहने जनाईएको छ ।
संघर्ष समिति ५१ सदस्यीय रहेको छ । जसमा पुष्पराज न्यौपाने संयोजक छन् । यस्तै, पदम बहादुर वि.सी. सह–संयोजक र धरणीधर जैसी सचिवको जिम्मेवारीमा छन् ।