चीनको गान्सु छिङआइ प्रान्तमा गएको ६.२ म्यागनेच्युडको शक्तीशाली भूकम्पमा परी कम्तीमा १११ जनाको ज्यान गएको सरकारी सञ्चार माध्यामहरूले जनाएका छन् । उनीहरूका अनुसार सोमबार राति गान्सु प्रान्तको जातीय काउन्टीमा ६।२ म्याग्नेच्युडको भुकम्प गएको थियो ।
भूकम्पमा परि करिब दुई सय जना घाइते भएको न्युयोर्क टाइम्सले चिनियाँ राज्य मिडियालाई उद्धृत गर्दै उल्लेख गरेको छ ।
राष्ट्रपति सी चिनफिङले वेपत्ताको खोज तथा पीडितहरूको उद्धार गरी प्रभावित जनताको जीउ धनको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित पक्षलाई विशेष निर्देशन दिएको ग्लोबल टाइमम्सले उल्लेख गरेको छ । यसै क्रममा राज्य परिषद्ले भूकम्प राहत मुख्यालय तथा आपत्कालीन व्यवस्था मन्त्रालयले राष्ट्रिय भूकम्प आपतकालीन प्रतिक्रियालाई स्तरोन्नति गरेको छ ।
भूकम्पले घर, सडक तथा अन्य पूर्वाधारमा क्षति पुगेको प्रत्यक्षदर्शीले बताएका छन् । उनीहरूका अनुसार कतिपय स्थानमा विद्युत तथा खानेपानी समेत अवरुद्ध भएको छ । प्रान्तीय अग्नि तथा उद्धार विभागले ८८ दमकल, १२ वटा कुकुर परिचालन खोज तथा उद्धार कार्यलाई तीव्रता दिएको छ । साथै एक हजारभन्दा बढी उपकरणको प्रयोग गर्दै पाँच सय ८० उद्धार कर्ता खटाएको छ ।
गान्सुका पार्टी प्रमुख हु चाङसेङ र गान्सु गभर्नर रेन झेन्हे उद्धार र राहतको निरीक्षण गर्न विपतग्रस्त क्षेत्रमा पुगेका छन् ।