चर्चित समाचार
  • अर्थतन्त्रको पछिल्लो अवस्था : बाह्य क्षेत्र बलियो, आन्तरिकमा देखिएन सुधारको संकेत

    अर्थतन्त्रको पछिल्लो अवस्था : बाह्य क्षेत्र बलियो, आन्तरिकमा देखिएन सुधारको संकेत

    नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्क अनुसार मंसिर मसान्तसम्ममा अर्थतन्त्रको आन्तरिक भन्दा बढी बाह्य क्षेत्र सुधारोन्मुख हुँदै गएको देखिएको हो ।

    शुक्रवार, पुस २७ २०८०
    शुक्रवार, पुस २७ २०८०
  • अर्थतन्त्रको पछिल्लो अवस्था : बाह्य क्षेत्र बलियो, आन्तरिकमा देखिएन सुधारको संकेत

    काठमाडौँ / चालु आर्थिक वर्षको ५ महिनासम्म आइपुग्दा मुलुकको आर्थिक स्थिति निकै सुधारोन्मुख देखिएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्क अनुसार यस अवधिसम्ममा अर्थतन्त्रको आन्तरिक भन्दा बढी बाह्य क्षेत्र सुधारोन्मुख हुँदै गएको देखिएको हो । 

    गत वर्षदेखि नै सुधारात्मक अवस्थामा रहेको बाह्य अर्थतन्त्र चालु आर्थिक बर्षको ५ महिनाको अवधीमा झनै बलियो स्थितिमा पुगेको तथ्याङ्कले देखाएको छ । केन्द्रीय बैंकले आर्थिक वर्षको ५ महिनाको वित्तीय रिपोर्ट सार्वजनिक गर्दै मुलुकको शोधनान्तर स्थिति २ खर्ब १० अर्ब ५९ करोड रुपैयाँले बचतमा रहेको जनाएको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो शोधान्तर स्थिति ४५ अर्ब ८६ करोड रुपैयाँले बचतमा रहेको थियो । 

    त्यसो त शोधनान्तर स्थितिमा सुधार आएसँगै यता विदेशी मुद्राको सञ्चितिमा समेत सुधार आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १४.८ प्रतिशतले वृद्धि भई २०८० मंसिर मसान्तमा १७ खर्ब ६७ अर्ब ४ करोड रुपैयाँ पुगेको छ ।

    सञ्चित विदेशी मुद्राको सञ्चितिले अहिलेकै आयात रेसियोका आधारमा १४.१ महिनाको वस्तु आयात र ११.८ महिनाको वस्तु तथा सेवा आयात धान्न प्रयाप्त हुने बैंकको भनाइ छ ।

    पाँच महिनामा ६ खर्ब रेमिट्यान्स भित्रियो

    पाँच महिनामा ६ खर्ब १३ अर्ब २५ करोड रुपैयाँ विप्रेषण आप्रवाह (रेमिट्यान्स) भित्रिएको छ । यो रकम अघिल्लो बर्षको सोही अवधिको तुलनामा २७.६ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २४.५ प्रतिशतले वृद्धि भई ४ अर्ब ६२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.१ प्रतिशतले बढेको थियो ।

    घट्यो विदेशिने नेपालीको संख्या

    चालु आर्थिक वर्षको पाँच महिना १ लाख ७३ हजारभन्दा धेरैले श्रम स्वीकृति लिएका छन् । बैंकका अनुसार मंसिर मसान्तसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख ७३ हजार ५५५ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ४ हजार ३७ जना रहेका छन् । 

    अघिल्लो आर्थिक वर्षको यही अवधिमा २ लाख ३६ हजार ७७९ जनाले श्रम स्वीकृति लिएका थिए भने १ लाख १५ हजार ९४८ जनाले पुनः श्रम स्वीकृति लिएका थिए । त्यस्तै, समीक्षा अवधिमा खुद ट्रान्सफर २६.३ प्रतिशतले वृद्धि भई ६ खर्ब ६९ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २१.६ प्रतिशतले बढेको थियो ।

    मूल्यवृद्धिदर ४.९५ प्रतिशतमा सीमित ! 

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कले बजार महँगी ह्वात्तै घटेको देखाएको छ । कात्तिक महिनामा ५.३८ प्रतिशत रहेको मूल्यवृद्धि मंसिरमा ४.९५ प्रतिशतमा झरेको छ । जबकि, गत आर्थिक वर्षको समीक्षा अवधिमा यस्तो मुद्रास्फीति ७.३८ प्रतिशत थियो । 

    कात्तिक र मंसिरको मूल्यवृद्धिदर सरकारको तोकेको सीमाभित्रको हो । सरकारले चालू आवमा मूल्यवृद्धिदरलाई ६.५ प्रतिशतभित्र राख्ने लक्ष्य लिएको थियो । तर, गत साउनमा ७.५२ प्रतिशत, भदौमा ८.१९ प्रतिशत र असोजमा ७.५ प्रतिशत रहेको यस्तो दर कात्तिकयता सीमाभित्र छ । 

    यस अवधिमा खाद्य तथा पेय पदार्थको मुद्रास्फीति ५.१० प्रतिशत छ । यस्तै, गैर–खाद्य तथा सेवातर्फको मुद्रास्फीति ४.८४ प्रतिशत छ । यसबाहेक, घ्यू तेल, तरकारी र मासु तथा माछाको बजार महँगी कमी आएको तथ्याङ्क केन्द्रीय बैंकले सार्वजनिक गरेको छ ।

    आयातमा ३.४ प्रतिशतको गिरावट

    अर्थतन्त्रको बाह्य क्षेत्र सुधारमा यस वर्ष वैदेशिक व्यापार घट्नु पनि अर्को कारण बनेको छ । पाँच महिनामा कुल वस्तु आयात ३.४ प्रतिशतले कमी आई ६४२ अर्ब २१ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा २०.७ प्रतिशतले कमी आएको थियो । 

    वस्तु आयात गरिने मुलुकका आधारमा भारत र अन्य मुलकबाट भएको आयात क्रमशः १.३ प्रतिशत र २८.४ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ३२.८ प्रतिशतले बढेको केन्द्रीय बैंकको तथ्याङ्क छ । 

    वस्तुगत आधारमावस्तुगत आधारमा तयारी पोशाक, एम।एस। तार, छड, बार तथा क्वाइल, विद्युत्तीय उपकरण, लत्ताकपडा, हवाईजहाजका स्पेयर पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने सुन, कच्चा सोयाविन तेल, कच्चा पाम तेल, पेट्रोलियम पदार्थ, धान लगायतका वस्तुको आयात घटेको छ । जसले वैदेशिक व्यापार घाटासँगै शोधनान्तर स्थिति सुधारमा सकारात्मक भूमिका खेलेको छ । 

    यता निर्याततर्फ भने अघिल्लो वर्षको भन्दा पनि घटेकाले आर्थिक सुधारमा खासै भूमिका खेलेको छैन । नेपाल राष्ट्र बैंकका अनुसार पाँच महिनामा कुल वस्तु निर्यात ६.१ प्रतिशतले कमी आई ६३ अर्ब २१ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ३४.६ प्रतिशतले कमी आएको थियो ।

    1.JPG

    आन्तरिक अर्थतन्त्रमा दबाब कायमै

    नेपाल राष्ट्र बैंकका अनुसार बाह्य अर्थतन्त्रमा उल्लेख्य सुधार आए पनि आन्तरिक अर्थतन्त्रको पाटो अझै नियन्त्रणमा आउन सकेको छैन । शोधनान्तर स्थिति बचतमा हुनु, रेमिटेन्स आगमनमा वृद्धि र विदेशी विनिमय सञ्चिति बढ्नु लगायतका कारण अर्थतन्त्रका बाह्य क्षेत्रमा केही हदसम्म सुधार भएको मान्न सकिन्छ । तर, घट्दो आयात–निर्यात, कर्जा प्रवाह न्यून लगायतका कारणले अर्थतन्त्र समस्या मुक्त हुन सकेको छैन ।

    चालु आर्थिक वर्षको ५ महिनासम्ममा पनि राजस्व संकलनको लक्ष्य, पुँजीगत र विकास खर्च समेत खासै बढ्न सकेको छैन । चालु आर्थिक वर्षको बजेटमार्फत अर्थमन्त्री डा. प्रकाशशरण महतले १४ खर्ब ७२ अर्ब ४८ करोडभन्दा धेरै आम्दानीको लक्ष्य तय गरेका थिए । 

    उनले राजस्व, कर र गैरकर राजस्व तथा अनुदानमार्फत उक्त रकम असुल्ने योजना बनाएका थिए । तर, आजसम्म ४ खर्ब ६४ अर्ब रुपैयाँमात्रै उठेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । यो रकम लक्ष्यको ३१.५५ प्रतिशत मात्रै हो । 

    यस्तै, सरकारले चालु वर्षका लागि विनियोजित बजेटको ३१.६१ प्रतिशत मात्रै खर्च गर्न सकेको छ । यस अवधिमा विकास खर्च १५ प्रतिशतमा सीमित हुँदा पुँजीगत खर्च २६ प्रतिशतमा सीमित छ । 

    यता, सरकारले मंसिरसम्ममा ३७.५२ प्रतिशत चालु खर्च गरिसकेको छ । यद्यपि, चालु आर्थिक वर्षको ५ महिनाको अवधि सकिँदासमेत सरकारले चालु खर्चतर्फको आधा बजेटसमेत खर्च गर्न सकेको छैन । यसरी हेर्ने हो भने अर्थतन्त्रमा केही सुधारको संकेत देखिए पनि आन्तरिक दबाब भने कायम रहेको छ ।

    प्रमुख आर्थिक सुचकहरू (५ महिनाको)

    2.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार