images
images

अचाक्ली मूल्यबृद्धिले ५० प्रतिशत घट्यो सुनको व्यापार, अझै कति बढ्ला मूल्य ?

अचाक्ली मूल्यबृद्धिले ५० प्रतिशत घट्यो सुनको व्यापार, अझै कति बढ्ला मूल्य ?

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँश २२ सय डलर पुग्ने अनुमान

मंगलवार, फागुन २९ २०८०
मंगलवार, फागुन २९ २०८०
  • अचाक्ली मूल्यबृद्धिले ५० प्रतिशत घट्यो सुनको व्यापार, अझै कति बढ्ला मूल्य ?

    काठमाडौँ / पछिल्लो साता सुनको मूल्यमा अचाक्ली बृद्धि भएको छ । अन्तर्राष्ट्यि बजारमा मूल्यवृद्धि भएपछि नेपाली बजार पनि प्रभावित भएको हो ।

    images
    images

    मूल्यबृद्धिका कारण अहिले नेपाली बजार भने सुनसान रहेको छ । मङ्सीरदेखि फागुनसम्म विवाहको सिजन भएको कारण यो समयमा व्यापार बढ्छ । कोभिड अगाडिका बर्षहरूमा भने यो सिजनमा सुन अभावसमेत हुने गरेको व्यवसायीहरूको अनुभव छ । तर, पछिल्लो बर्षदेखि सुनको मूल्यमा उच्च बृद्धि भएका कारण व्यापार खस्किएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँभन्दा बढीले बृद्धि भएदेखि नै माग घटेको बताए ।

    उनका अनुसार मङ्सीर महिनामा ४० प्रतिशत सुन खपत भएको भए पनि माघ र फागुनमा घटेर ३ प्रतिशतमा झर्यो । उनले भने, “बजार शून्य छ । अब विवाहको सिजन करिब करिब सकियो । विवाहको सिजनमै पनि कारोबार ५० प्रतिशतले घटेको छ । अब त हामीलाई २०८१ सालमा के होला भन्ने चिन्ता मात्रै छ ।”

    आइतबार नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख २६ हजार रुपैयाँ पुग्यो । हिजो सोमबार रहेको थियो । आज मंगलबार पनि सुनको भाउ स्थिर नै रहेको छ ।  अन्तर्राष्ट्रिय बजारमा भने १.०६ प्रतिशतले बढेर प्रतिऔँस २ हजार १८०.४७ डलर कायम भएको छ ।

    मूल्य बढेको कारण खपत पनि घटिरहेको छ । “आर्थिक मन्दी छ । अधिकांश व्यापार व्यवसाय प्रभावित छन् । नेपालीहरूको क्रयशक्ति पनि कमजोर छ । सामान्य नेपालीको पहुँच बाहिर मूल्य पुगेकोले बजार सुनसान नै छ,”उनले भने, “आम्दानी छैन । मूल्य बढेको कारणले सुनमा भन्दा नक्कली गरगहनामा आकर्षण बढ्दो छ । सुनको गरगहना बनाउने ग्राहकहरूले नयाँ किन्नुको सट्टा पुरानो मासेर नयाँ बनाउँछन् ।” उनका अनुसार नयाँ बनाउनेभन्दा बिक्री गर्नेहरू फाट्टफुट्ट आइरहेका छन् ।

    किन बढ्यो मूल्य ?

    सुनको मूल्य बृद्धि हुनुमा नेपाली बजारले खासै भूमिका खेल्दैन । अन्तर्राष्ट्यि बजारमा भएको सुनको माग र आपूर्तिले मूल्य घटबढमा मूख्य भूमिका खेल्छ । तर, सुनको माग र आपूर्ति घटबढ हुनुमा भने धेरै पक्ष जिम्मेवार हुन्छ ।

    अमेरिकासहित शक्तिशाली मुलुकहरूको ब्याजदर र स्टक मार्केट घटबढ, बिजनेस विस्तार तथा रोजगारी घटबढ, ती मुलुकहरूको अर्थतन्त्रको गति र अन्तर्राष्ट्रिय द्वन्द्व आदि यसको मूख्य जिम्मेवार हुन् ।

    अन्तर्राष्ट्रिय लगानीकर्ताहरूले सुन होल्ड गरेर राखेमा र कमोडिटी मार्केटमा हुने माग र आपूर्तिले सुनको मूल्य निर्धारण गरेको हुन्छ ।

    सन् २०२४ मा विश्वव्यापी मन्दीको डर, विवाहको सिजनका कारण सुनको माग बृद्धि हुनु, डलर परिसूचक कमजोर हुनु विश्वभरका केन्द्रीय बैङ्कहरूले सुन खरिद गर्नुलगायतका कारणले अहिले विश्व बजारमा सुनको भाउ बढेको हो ।

    हाल अमेरिकी केन्द्रीय बैङ्कले ब्याजदर घटाउने सङ्केत दिएको कारण पनि सुनको मूल्य प्रभावित बनेको पूर्व अध्यक्ष शाक्यले बताए । फेडरल रिजर्भ बैङ्कको बुधबार र बिहीबारको बैठकपछि अध्यक्ष जेरोम पावेलले दिएको एक वक्तव्यमा फेडरल रिजर्भले ब्याजदर घटाउन सुरु गर्नेबारे सङ्केत दिएका थिए ।

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा समेत अमेरिकी केन्द्रीय बैङ्क फेडरल रिजर्भले ब्याजदर घटाउन लागेको जानकारी निरन्तर दिइरहेका छन्। जसले गर्दा डलरमा आकर्षण घटिरहेको छ ।

    डलर कमजोर भएपछि सुनमा आकर्षण बढ्छ । लगानीकर्ताहरूले सुनमा लगानी सुरक्षित ठानेपछि माग बढछ । त्यस्तै, मध्यपूर्वमा जारी युद्धले पनि यसमा भूमिका खेलेको उनको भनाइ छ । यद्यपि, यो भने प्रमुख कारण नभएको शाक्यले बताए ।

    उनका अनुसार ब्याज दर घट्ने समाचारले लगानीकर्ताहरूले बैङ्कमा राखिएका पैसा झिकेर सुनमा लगानी गरिरहेका छन् ।

    भारतीय सञ्चारमाध्यमहरूले भने सन् २०२४ मा विश्वव्यापी मन्दीको डर, विवाहको सिजनका कारण सुनको माग बृद्धि हुनु, डलर परिसूचक कमजोर हुनु विश्वभरका केन्द्रीय बैङ्कहरूले सुन खरिद गर्नुलगायतका कारणले अहिले विश्व बजारमा सुनको भाउ बढेको बताइरहेका छन् ।

    अझै कति पुग्ला ?

    हाल अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य १.०६ प्रतिशतले बढेर प्रतिऔँस २ हजार १८०.४७ डलर कायम भएको छ । अब यो मूल्य बढेर २२ सय डलर पुग्ने अनुमान गरिएको छ ।

    सुनको तौल प्रतिऔँस बराबर ३१.१ ग्राम  हुन्छ । सुनबाहेक अन्य वस्तुमा भने प्रतिऔँस बराबर २८.३४ ग्रामले हिसाब गरिन्छ । त्यस्तै, प्रतितोला सुन ११.६६४ ग्राम बराबर हुन्छ ।

    यदी, सुनको मूल्य प्रतिऔँश २२ सय डलर पुगेमा नेपालमा सुनको मूल्य प्रतितोला १ लाख ३० हजार रुपैयाँ पर्न जान्छ ।

    नेपालमा रहेका सुनचाँदी व्यवसायी महासङ्घहरूले जुन दिन सुनको मूल्य तोक्ने हो, सोही दिन ११ बजेसम्म अन्तर्राष्ट्रिय बजारमा कायम हुने मूल्यलाई आधार लिन्छन् ।

    सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत सुन र चाँदीको भन्सार दर १५ प्रतिशतले वृद्धि गरेको थियो ।

    १५ प्रतिशत राजस्व र बैङ्कको ब्याजदरलगायतको खर्च गरी अन्तर्राष्ट्रिय बजारको तुलनामा नेपालमा सुनको मूल्य झण्डै १८ प्रतिशत बढी रहेको छ । यसकारण अन्तर्राष्ट्रिय बजारको तुलनामा नेपाली बजारमा सुनको मूल्य उच्च हुने गरेको छ ।

    अहिले नेपाल राष्ट्र बैङ्कले एक दिनमा २० किलोग्रामसम्म सुन आयात गर्न अनुमति दिँदै आएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार