images
images

सुपर त्रिशुली परियोजना अघि नबढाउन माग राख्दै सरोकारवालाहरूद्वारा जारी ९ बुँदे धारणापत्रमा के छ ?

सुपर त्रिशुली परियोजना अघि नबढाउन माग राख्दै सरोकारवालाहरूद्वारा जारी ९ बुँदे धारणापत्रमा के छ ?

सोमवार, चैत २६ २०८०
सोमवार, चैत २६ २०८०
  • सुपर त्रिशुली परियोजना अघि नबढाउन माग राख्दै सरोकारवालाहरूद्वारा जारी ९ बुँदे धारणापत्रमा के छ ?
    images
    images

    काठमाडौँ / नदी पर्यटन तथा पर्यावरणसँग सम्बन्धित सरोकारवाला संस्थाहरूले प्रस्तावित सुपर त्रिशुली जलविद्युत परियोजना (१०० मेघावाट) को विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। नेपाल नदि संरक्षण संस्था र  नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सीज (नारा)ले संयुक्त विज्ञप्ति जारी गर्दै त्रिशुली नदीको चितवन जिल्लाको चुम्लिङ्गटार र गोरखा जिल्लाको बुटारमा प्रस्तावित उक्त परियोजनाप्रति ध्यानाकर्षण भएको जनाएको हो । 

    त्रिशुली नदीको महत्वलाई ध्यानमा राखि परियोजना निर्माणलाई अगाडि नबढाउन तथा सो परियोजनाको कुनै पनि कार्यहरू तत्काल सुरु नगराउनको नदी पर्यटन तथा पर्यावरणसँग सम्बन्धित सरोकारवाला संस्थाहरूले सर्वोच्चमा मुद्दासमेत दायर गरेको थियो । उक्त मुद्दाका सबै पक्षलाई अन्तरिक आदेशको छलफलको लागि चैत २७ गते पेसी तोकिएको छ । 

    नेपालको पर्यटन क्षेत्रको महत्त्वपूर्ण स्तम्भको रूपमा रहेको जलयात्रा व्यवसाय नदीनालाहरूमा बढ्दै गएको अतिक्रमण विशेष गरेर जलविद्युत बाँध तथा नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन्ले गर्दा सङ्कटपूर्ण अवस्थामा रहेको विषयमा बहस हुँदै आइरहेको छ । 

    सन् ६० को दशकमा स्थापना भएको नाराले जलयात्रा व्यवसायको विकास, विस्तार र प्रवर्धनका लागि कार्य गर्दै आइरहेको छ । सुपर त्रिशुली आयोजना सम्वन्धमा नाराले तलका सात बुँदामार्फत आफ्नो धारणा व्यक्त गरेको छ । 

    १. प्रस्तावित आयोजनाका कारण पर्यटकीय रोजाइका साथै अर्बौको लगानीमा सञ्चालित विश्वमा ख्यातिप्राप्त राफ्टिङ कायाकिंग व्यवसाय, प्रकृति, संस्कृति, पर्यटन र पर्यावरणको खुल्ला विश्व विद्यालयको रूपमा रहेको त्रिशुली नदि र नदि क्षेत्रमा रहेका रिभर रिसोर्ट, होटल तथा समस्त पर्यटन उद्योगमा ठुलो क्षतिको सामना गर्नु पर्नेछ। 

    सुपर त्रिशुली जलविद्युत परियोजनाको वातावरणीय प्रभाव मुल्याङ्कन प्रतिवेदनले समेत त्यस क्षेत्रमा सञ्चालनमा रहेको राफ्टिङ् तथा नदीमा आश्रित अन्य पर्यटन व्यवसायमा असर पुर्याउने उल्लेख गरेको छ तर समष्टिमा नगरी अपुरो र त्रुटिपूर्ण छ । जसका कारण नेपालको पर्यटन क्षेत्रको बारेमा विश्वभर नै नकारात्मक सन्देश प्रवाह हुने निश्चित छ ।

    २.  प्रभावित पक्षसँग समन्वय तथा छलफल नगरी गरिएको इआइए एकतर्फी रुपमा तयार गरेर मनगणन्ते तथ्य प्रस्तुत गरिएको इआइए प्रतिवेदन अपूर्ण र त्रुटीपूर्ण देखिएकाले थप अध्ययन गरि प्रतिवेदन पुनः लेखन गराउनकालागि सम्बन्धित पक्षसँग अनुरोध गर्दर्छौ। 

    विकल्पको बारेमा अध्ययन संवेदनशील छैन र वैकल्पिक उर्जाको बारेमा मौन छ र सोहि स्थानमा जलविद्युत आयोजना नै रहनुपर्ने औचित्य र कारण पनि दिइएको छैन। 

    जस्तै, उक्त प्रतिवेदनमा ६ राफ्टिङ् कम्पनी र १२ कामदार उल्लेख गरिएको छ तर, वास्ताविकतामा ६२ राफ्टिङ् कम्पनी नाराका सदस्य र ३००० हजारभन्दा बढीको सङ्ख्यामा रिभर÷राफ्टिङ् गाइड र तिनीहरूमा १५००० आश्रित परिवार, ३० अर्बभन्दा धेरै बिभिन्न पर्यटन व्यवसायमा निजी क्षेत्रको लगानी रहेको  बारेमा कुनै पनि अध्ययन नभएको, १०००० (दश हजार)भन्दा बढी मानिसहरूको प्रत्यक्ष रोजगारी, लाखौको जीविकोपार्जनको आधार गुम्ने अवस्था  रहेका र थुप्रै निजी क्षेत्रको लगानी डुब्ने तथा पर्यावरण विगार्ने, अन्तर्राष्ट्रिय समुदाय तथा नेपालको छविमा समेत प्रतिकूल असर पर्ने हुनाले तत्काल यस्ता गतिविधिहरू बन्द गर्नु आवश्यक छ । 

    यो परियोजना सुरु भएमा भविष्यका सन्ततिहरूको प्रकृति र साहसिक नदी पर्यटनसँग रमाउने अधिकारबाट बन्चित हुनेछन् । 

    त्यसैगरी, प्रतिवेदनमा जलयात्रा व्यवसाय, अन्य पर्यटकीय संरचना तथा साँस्कृतिक महत्त्वका घाटमा असर पर्न जाने उल्लेख गरी असर न्युनीकरणका उपाय अबलम्बन गरिने उल्लेख भएता पनि त्यसको विषयमा प्रष्ट रूपमा कहाँ के गरिने भन्ने विषयमा उल्लेख भएको पाइँदैन ।

    ३. व्यवसायी तथा श्रमिकहरूले मातृ नदीको रूपमा पुज्ने गरिएको नदी सन् ६० को दशकमा नेपालमा जलयात्रा पर्यटनको सुरुवात भएको यस नदी विश्वभरका जलयात्रा पर्यटकको पहिलो रोजाइमा पर्ने गरेको छ । यस नदीलाई नेपालको जलयात्रा पर्यटन सम्बन्धित व्यवसायी तथा श्रमिकहरूले मातृ नदीको रूपमा पुज्ने गरेका छन् ।

    ४. नुवाकोट जिल्लाको देविघाटदेखि चितवन र तनहुँ जिल्लामा पर्ने देवघाट सम्मको क्षेत्र धार्मिक, साँस्कृतिक, ऐतिहाँसिक, तथा भौगर्भिक रूपमा विषेश महत्वको रहेको छ । 

    नेपाल भ्रमण गर्ने ९० प्रतिशत भन्दा धेरै पर्यटकको नजरमा पर्ने यो नदीमा जलविद्युत परियोजना निर्माण हुने हो भने नेपालको साहासिक जलयात्रा पर्यटन मृतःप्राय हुने देखिन्छ भने विश्व पर्यटन समुदायमा नकारात्मक सन्देश जाने छ जसबाट नेपालले ठुलो क्षति व्यहोर्नु पर्नेछ ।

    ५. ६००० भन्दा धेरै नदीनालाहरू रहेको साथै ८३,००० मेगावाट भन्दा बढी जलविद्युत उर्जा उत्पादन गर्ने क्षमता भएको देशमा अझ बढी जलविद्युत उर्जा उत्पादन गर्न सम्भाव्य अन्य नदी तथा स्थानहरू उपलब्ध रहँदा रहँदै पनि पर्यटकीय रोजाइमा पर्ने विषेश महत्त्वको यस क्षेत्रमा परियोजना प्रस्ताव हुनु भनेको जलयात्रा पर्यटन तथा पर्यटन सम्बद्ध अन्य व्यवसायमा आवद्ध ३००० भन्दा धेरै श्रमिक तथा उनीहरूसँग आश्रित हजारौ परिवारको जिविकोपार्जनमा असर पुग्नेछ ।

    ६. त्रिशुली नदीमा जलयात्रा पर्यटनको सुरुवातको स्थानमा रहेको देविघाट देखि माथिल्लो क्षेत्रमा ९ वटा परियोजना निर्माणधिन तथा सञ्चालनमा रहेको सन्दर्भमा पर्यटकीय केन्द्रमा नै अर्को परियोजना निर्माण गर्नु बाञ्छनीय देखिदैन । 

    यसका साथै उर्जा खपत, प्रशारण तथा बजारको अभाबले गर्दा हाल उत्पादित तथा निकट भविष्यमा निमार्ण सम्पन्न हुने अन्य आयोजनाबाट उत्पादित विद्युत खेर जाने आँकलन भैरहेको सन्दर्भमा पर्यटकीय नदी खण्डमा पुनः अर्को आयोजना थपिनु सान्दर्भिक रहँदैन ।

    ७. वातावरणिय प्रभाव मूल्याङ्क प्रतिवेदन स्विकृतिको लागि प्रस्तुत गरिएको राय सुझाव अन्तर्गत ७ नं बुदाँमा उल्लेखित सुझाव कार्यान्वयनका सन्दर्भमा जलयात्रा पर्यटन व्यवसायमा संलग्न व्यवसायी तथा यससँग सम्बन्धीत एसोसिएसनसँग आजका दिनसम्म पनि कुनै समन्वय तथा छलफल आयोजना गरिएको छैन । 

    विकास निर्माणको प्रकियामा प्रत्यक्ष प्रभावित क्षेत्रमा कार्यरत हामि विभिन्न संघ, संस्था, व्यवसायी तथा सरोकारवालाहरूसँगको प्रत्यक्ष छलफल तथा सुनुवाइ नहुनु गम्भिर चासो तथा चिन्ताको विषय रहेको छ ।

    ८. विकास विरोधिको आरोप लगाएर हुने विनासको कदापि पक्षपाति हुन सक्दैनौ, हामीलाई विकासको नाउँमा नराम्रो विकास अर्थात कुविकास स्वीकार्य छैन । हाम्रो अभियान दिगो पर्यटनका लागि दिगो विकाससँग सम्वन्धित रहेको हुँदा दिगो विकासका मुलभुत पक्षहरुको बारेमा विषेश ध्यान पुर्याउनु आजको आवश्यकता हो ।

    ९. त्रिशुली नदीलाई राष्ट्रको सम्पदाको रूपमा घोषणा गर्दै नदी उपयोग नीति निर्माण गरी नदीको संरक्षण गर्नु सम्पूर्ण पर्यटन संघ संस्था तथा व्यवसायीहरूको प्रतिबद्धता रहेको छ । यसर्थ प्रत्येक प्रदेशमा पर्यटकीय तथा वातावरणको दृष्टिकोणले महत्त्वपूर्ण मानिने कम्तिमा एक नदी अथवा नदी खण्डलाई स्वतन्त्र रूपमा बग्ने सम्पदा नदीको रूपमा प्रकृतिलाई छाड्ने गरी संरक्षण गर्नको लागि जोडदार अपिल गर्दछौँ। 

    त्रिशुली नदीको नुवाकोटको देवीघाटदेखि चितवनको देवघाटसम्मको नदी खण्डलाइ पर्यटकीय सम्पदाको रूपमा प्रयोग भइ आर्थिक गतिविधिहरू सञ्चालन भइरहेको हुनाले उक्त नदी खण्डलाई सम्पदा नदी घोषणा गर्ने हाम्रो अभियान निरन्तर रूपमा जारी छ । 

    यस नदी करिडोरमा नितान्त राफ़्टिंग ब्यवसाय मात्र नभएर सयौको सङ्ख्यामा रिसोर्ट तथा होटेल, रेस्टुरेन्ट, सहासिक पर्यटन सञ्चालन गर्ने कम्पनीहरू, ट्रेकिंग कम्पनी लगायत पर्यटनसँग सम्बन्धि गाइड, पर्यटकीय बस सेवाहरु उक्त करिडोरमा सञ्चालन छन् । 

    यी सम्पूर्ण पर्यटन ब्यवसायी र पर्यटनका मजदूर र त्यस ब्यवसायको हकहितको निम्ति स्थापना भएका सम्बन्धित संघ संस्थाहरू सबैको सरोकारको विषय हो, र राष्ट्रिय गौरबको मुद्दा समेत हो। एकचोटी कल्पना गर्नुहोस् त्रिशुली नदी मासिएको खण्डमा अन्तराष्ट्रीय पर्यटन मञ्चमा नेपालको कस्तो सन्देश जाला ? 

    त्यस सन्देशले नेपालको पर्यटन प्रबर्दनमा कस्तो प्रभाव पार्ला ? हामी त्यो कल्पना पनि गर्न सक्दैनौ। 

    त्रिशुली हाम्रो मात्र हैन, भावी सन्ततीहरूको पनि नाशो हो, त्यसलार्इ जोगाउने हामी पर्यटन ब्यवसायमा संलग्न सबै व्यक्ति, संघ संस्था र कम्पनीहरूको महान कर्तव्य र दायित्व पनि हो । अन्त्यमा, “नेपाल यति सुन्दर छ कि नबिगारे पुग्छ”, तर हामी बिगार्न मै व्यस्त छौँ ।” भाबी सन्ततिको लागि भए पनि दिगो रूपमा उपभोग गर्दै उनीहरूको हक अधिकार सुनिश्चित, सुरक्षित र संरक्षित हुन अति आवश्यक छ साथै हाम्रो सोचलाई दुरगामी बनाउनु पर्दछ, नत्र भविष्यमा पछुताउनु बाहेक केही हुने छैन ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार