images
Logo
images
images
images

गर्मी शुरु भएसँगै कुपिन्डे तालमा आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै, कसरी पुग्ने ?

गर्मी शुरु भएसँगै कुपिन्डे तालमा आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै, कसरी पुग्ने ?

सोमवार, बैशाख ३ २०८१
सोमवार, बैशाख ३ २०८१
  • images
    images
    गर्मी शुरु भएसँगै कुपिन्डे तालमा आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै, कसरी पुग्ने ?

    दाङ / सल्यान जिल्लाको बनगाड कुपिन्डे नगरपालिका-८ मा अवस्थित कुपिन्डे तालमा गर्मी छल्न जाने आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै छ । यस याममा गर्मी छल्न तथा मनमोहक सो तालको अवलोकन गर्न दाङ, सल्यानका पर्यटक बढ्न थालेका हुन् ।

    images
    images

    स्थानीयहरूका अनुसार अहिले दैनिक सयौँको सङ्ख्यामा यहाँ पर्यटक पुग्ने गरेका छन् । पछिल्लो समयमा सामाजिक सञ्जाल तथा अन्य विभिन्न सञ्चारका माध्यमबाट यस तालको प्रचार पनि भइरहेकाले यसको अवलोकन गर्नुको साथै डुङ्गा सयरका लागि आन्तरिक पर्यटक जाने गरेका स्थानीयले जानकारी दिएका छन् ।

    चारैतिर वनजङ्गल र ती जङ्गलको बीचमा अवस्थित छ, कुपिन्डे ताल । हरियाली जङ्गल र मिलेका डाँडाका बीचमा रहेको पो तालको मनमोहक दृश्यले सबैलाई लोभ्याउने गरेको छ । हुनत अरू याममा पनि पर्यटक त्यहाँ पुग्ने गरेका छन् ।

    यतिखेर झन् गर्मी सुरू भएकाले शीतलताको अनुभूति लिन र तालको अवलोकन गर्न पर्यटकहरू त्यहाँ जाने गरेका छन् । त्यहाँ पुगेपछि तालको कञ्चन पानीले पर्यटकलाई लोभ्याउने गर्दछ । साथै पर्यटकहरू डुङ्गामा सयर गर्ने, तस्बिर खिच्ने र तालको अवलोकन गरी रमाउने गर्दछन् ।

    पर्यटकीय तथा धार्मिक, सांस्कृतिक महत्वको स्थलका रूपमा समेत चिनिने कुपिन्डे ताल अवलोकनका लागि तुलसीपुर उपमहानगरपालिका -६ बाट यहाँ पुग्नुभएका २३ वर्षीय नवीन अधिकारी तालको अवलोकनबाट आनन्दको अनुभूति गरेको बताए ।

    उनले भने, ‘यति राम्रो प्रकृतिको मनोरम दृश्य देख्न पाउँदा नलोभिने कोही हुँदैन । हामी पनि समय समयमा यहाँ परिवारकै साथमा आउने गर्दछौँ । यस ताललाई सबै मिलेर संरक्षण गरी अझ राम्रो बनाउनुपर्छ, यसबाट थप पर्यटक आकर्षित हुनेछन् ।’

    अधिकारीले चार घण्टा समय ताल क्षेत्रमा बिताएको बताए । तालको सुन्दरताबाट लोभिएको उनले सुनाए । प्राकृतिक रूपमा मनोरम ताललाई स्वदेश तथा विदेशमा चिनाउन प्रचारप्रसार गर्नुपर्ने तुलसीपुर उपमहानगरपालिका-६ का ४७ वर्षीय राधा रजौरेले बताए ।

    उनले यस दहको संरक्षण र पर्यटकीय संरचनाको निर्माण गर्न सके विदेशी पर्यटक पनि आकर्षित हुनसक्ने धारणा राखे । उनले भने, ‘यसलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्न सके सल्यानको मात्र नभइ छिमेकी जिल्लाका मुहार फेरिन पनि सक्छ । मनमोहक दह र यस वरपरको प्राकृतिक सौन्दर्यले सबैलाई आकर्षित गर्न सक्दछ ।’

    सल्यान जिल्लाका विभिन्न धार्मिक मठ मन्दिरमा दर्शन तथा पूजाआरधना गर्न गएका भक्तजनहरू कुपिन्डे दह र यहाँको बराह मन्दिरसम्म पुग्ने गरेका छन् ।त्यसैले यस ताललाई धार्मिक तथा पर्यटकीय पर्यटनसँग जोड्न सकिने यहाँ आउने पर्यटकको भनाइ छ ।

    बाँकेको कोहलपुरबाट सो दह घुम्न साथीहरूसँग पुग्नुभएका ४८ वर्षीय भीमप्रसाद रेग्मी तालमा रमाइरहेका थिए । उनी तालमा डुङ्गा चढेर जलविहार गर्ने र तस्बिर लिने काममा व्यस्त थिए ।

    ताल हेर्न पुगेकी तुलसीपुर उपमहानगरपालिका-५ की ४८ वर्षीया राधा योगीले तालको संरक्षण तथा विकासका लागि ध्यान दिन स्थानीय सरकार र कर्णाली प्रदेश सरकारलाई आग्रह गरिन् । उनी भन्छिन्, ‘ताल हाम्रो अद्वितीय सम्पत्ति हो, यसको संरक्षण र सम्बद्र्धनका लागि सरकारको ध्यान पुग्नु जरूरी छ ।’

    तालसम्म पुग्ने मोटरबाटो कच्ची रहेकाले त्यस बाटोलाई कालोपत्र गर्न र ताल वरपर होटल तथा चमेना गृह सञ्चालन गर्न सकिएमा ताल घुम्न जाने पर्यटकलाई सुविधा पुग्ने उनले बताइन् ।

    कुपिन्डे ताल संरक्षण समितिका अध्यक्ष चेतबहादुर कुँवरले विसं २०६७ मा मात्रै यो तालको चर्चा सुरू भएको बताए । उनका अनुसार यस तालको आफ्नै विशेषता छ ।

    वरिपरि घना जङ्गल भए पनि यसमा एउटा पनि पात खसेको भेटिँदैन । पात खस्नासाथ आफैँ किनारमा पुग्छन् या यहाँका चराले छेउसम्म धकेल्दै लैजाने गरेको पनि देखिन्छ । यो ताल चखेवा, पानी हाँस र स्थानीय जातका माछाको बासस्थान पनि हो ।

    कुपिन्डे तालको गहिराइ ६९ मिटर, लम्बाइ एक हजार दुई सय मिटर र चौडाइ सरदर साढे तीन सय मिटर छ । तालको क्षेत्रफल भने यकिन छैन । तालमा पानी कहाँबाट आउँछ र कहाँबाट बाहिरिन्छ भन्ने स्पष्ट रूपमा देखिँदैन । स्थलगत रूपमा हेर्दा यसको मुहान देखिँदैन र निकास पनि भेटिँदैन ।

    देखिने गरी तालको निकास नभए पनि पश्चिमतर्फको भागबाट जङ्गलको भित्रभित्रै पानी रसाएर जाने गरेको हुनसक्ने अनुमान छ । बनगाँड कुपिन्डे नगरपालिकाका नगरप्रमुख कर्णबहादुर बुढाथोकीले तालको विकासका लागि आफू लागिपरेको बताए ।

    उनले तालजङगलको बीचमा रहेको, यहाँ जलचर जीवजन्तु समेत रहेका तथा जमिन वनको भागमा पर्ने भएकाले वातारणीय प्रतिवेदन तयार गरेर तालको संरक्षण तथा विकासको योजना बनाइने बताए ।

    प्रतिवेदन स्वीकृत भएर आएपछि गुरूयोजना तयार गरी भौतिक पूर्वाधार निर्माणका काम थालिने जानकारी पनि उनले दिए । साथै यसवर्ष बाटो मर्मतका लागि नगरपालिकाबाट बजेट विनियोजन गरिएको र आगामी दिनमा आधारभूत विकासका लागि बजेट विनियोजन गरिने उनको भनाइ थियो । 

    – नारायणी रजौरे, रासस

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार