काठमाडौँ / कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।
बिहीबार दिउँसो मुख्यमन्त्री कार्कीको तर्फबाट अधिवक्ता सुप्रेक्षा जोशीले रिट दायर गरेकी हुन् ।
नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीलाई मुख्यमन्त्रीको जिम्मेवारीमा कुनै पनि कामकारबाही नगर्न नगराउन र आफूलाई यथावत् रूपमा मुख्यमन्त्रीको जिम्मेवारी वहन गराउन केदार कार्कीले माग गरेका छन्।
रिटमा नेपालको संविधानको धारा १३३ (२) (३) बमोजिम उत्प्रेषण, परमादेशलगायत उपयुक्त आदेश जारी गर्न माग गरिएको छ । रिटमा प्रदेश प्रमुखको कार्यालय, प्रदेश प्रमुख परशुराम खापुङ, सभामुख अम्बरबहादुर विष्ट, नेकपा एमालेका प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की तथा सङ्कल्प प्रस्तावका समर्थकहरूलाई विपक्षी बनाएको छ ।
‘संसदीय व्यवस्थामा संसदले मात्र सरकारको गठन र अन्त्य गर्न सक्ने हुन्छ। प्रदेश प्रमुखले वैशाख २६ गते गर्नुभएको आह्वान संविधानको अतिक्रमण एवं निज प्रदेश प्रमुखलाई नभएको अधिकार र क्षेत्राधिकार प्रयोग गरी भएको स्पष्ट छ,’ रिटमा भनिएको छ, ‘वैधानिक तवरबाट नियुक्त मुख्यमन्त्री अपदस्त हेतु विपक्षीहरू बीच भएको मध्यरातको गठमेलको आधारमा गरिएको आव्हान संविधानको विल्कुल प्रतिकुल छ।’