काठमाडौँ / मैदा उद्योगले आयात गर्ने कच्चा पदार्थ गहुँमा लागेको २.५ प्रतिशत अग्रिम आयकर थेग्न नसक्ने नेपाल मैदा उद्योग संघले जनाएको छ । बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा संघले आर्थिक बर्ष २०८१/८२ को बजेटमार्फत गहुँ आयातमा लाग्ने अग्रिम आयकरको बोझ उद्योगले थेग्न नस्कने जनाएको हो ।
गहुँबाट आँटा, सुजि, चक्की आंटा, चोकर जस्तो खाद्य बस्तु उत्पादन गर्ने उद्योगलाई यो अग्रिम आयकरको भारले प्रत्यक्ष मार पर्ने संघले उल्लेख गरेको छ ।
सरकारको घोषणाले कृषिमा आधारित मैदा उद्योगलाई प्रत्यक्ष असर पर्ने भएकोले मैदा उद्योगको कच्चा पदार्थ गहुँमा लागेको अग्रिम आयकर हटाउन उद्योगीहरूले माग गरेका छन् ।
औद्योगिक प्रयोजनको लागि भारतबाट गहुँ आयात हुने गर्छ ।
तयारी मैदा र भन्सार महसुल र गहुँको अग्रिम आयकर हेर्दा कच्चा बस्तुभन्दा तयारी बस्तु आयात गर्न सस्तो पर्ने र मैदाको कर कम हुने देखिएको उद्योगीहरू बताउँछन् ।
यसले गर्दा स्वदेशी मैदा उद्योग धारासायी हुने संघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
कृषिमा आधारित मैदा उद्योगबाट उत्पादित मैदा आँटामा मुलुक आत्मनिर्भर छ ।
“कच्चा पदार्थ गहुँ र तयारी मैदा आयातमा समान कर लगाउँदा भोलिका दिनमा स्वदेशी मैदा उद्योग धमाधम बन्द भई ठुलो लगानी जोखिममा पर्न जान्छ,” संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “नेपाल सरकारसंग संघको अनुरोध छ व्यापारिक प्रयोजनको लागि आयात गरीने गहुँ र मैदामा कर लगाउदा हुन्छ। तर स्वदेशी उद्योगले औद्योगिक प्रयोजनको लागि आयात गर्ने गहुँमा अग्रिम आयकर नलगाउन संघको अनुरोध छ ।”
गहुँमा अग्रिम आयकर लगाउँदा पर्ने असर
१. बिगत ५ बर्षदेखि देशमा आत्मनिर्भर भएको मैदा उद्योगमा भारी नोक्सानी भई उद्योग बन्द हुने ।
२. समायोजन नगरेको रकम (अग्रिम आयकर र बर्षको तिर्नु पर्ने आयकरको व्यालेन्स रकम) अर्को बर्षको लागि अग्रेशन गर्न अनुमति दिएको छैन र यसलाई खर्चको रूपमा पनि बुक गर्न सकिदैन । यसमा आयकरको ऐनको प्रावधान प्रष्ट छैन ।
३. अग्रिम आयकरको रकम जुनकी आयकरबाट असुल गर्न मिल्ने अवस्था छैन। त्यसमा पनि विक्री गर्नु भन्दा पूर्व लागतको रूपमा अग्रिम आयकरलाई जोडन एकाउन्टिङ प्रिन्सिपलको आधारमा नमिल्ने भएकोले यहाँ लागत बढी र बिक्री रकम घट्न आउछ जुन कि कुनै हालतमा उपयुक्त देखिदैन ।
४. अतिरिक्त महसुलले मैदा आटाको मूल्य बढन गई आयातित मैदासंग प्रतिस्पर्धा गर्न नसक्ने ।
५. मैदा/आटा/चोकरको अवैध आयातलाई प्रोत्साहन मिल्छ र राज्यको राजश्वमा नकारात्मक असर पर्न जान्छ ।
६. अर्बौको स्वदेशी लगानी डुब्ने सम्भावना र रोजगारीमा प्रत्यक्ष असर पर्छ ।
७. स्वदेशी मैदा उद्योग बन्द हुँदा आयातित मैदा÷आँटा चोकरमा भर पर्नुपर्ने र उपभोक्ताले गुणस्तरिय पिठो खानबाट बन्चित हुने ।छ ।