अत्यधिक गर्मीका कारण रोपेको कोदो सुकेर नष्ट, किसान चिन्तित

अत्यधिक गर्मीका कारण रोपेको कोदो सुकेर नष्ट, किसान चिन्तित

शुक्रवार, जेठ ३२ २०८१
शुक्रवार, जेठ ३२ २०८१
  • images
    images
    अत्यधिक गर्मीका कारण रोपेको कोदो सुकेर नष्ट, किसान चिन्तित

    केही दिनयताको अत्यधिक गर्मी र खडेरीका कारण पर्वतका कृषकले रोपेको कोदो बारीमै सुक्न थालेको छ। जिल्लाका अधिकांश भागमा जेठ दोस्रो सातादेखि कोदो रोपाइँ सुरु भएको थियो। लामो समयसम्म नपरेको वर्षा र अत्यधिक गर्मीका कारण रोपेको कोदो सुकेर नष्ट भएको कृषकले गुनासो गरेका छन्।

    images
    images

    पर्वतमा धानबालीपछि कोदो दोस्रो मुख्य बाली हो। बारीमा लगाएको मकै गोडमेल गरेर कोदो रोपेका कृषक वर्षा नभएपछि चिन्तित हुन थालेका छन् । जनशक्तिको अभावमा बल्लतल्ल रोपेको कोदो खडेरीले नष्ट गरिदिएको कुश्मा नगरपालिका– १२ की कृषक राधाकुमारी सापकोटाले बताइन्। ‘दुई दिन लगाएर कोदो रोपियो, यही वेला पानी परेन, पूरै सुकेर नष्ट भइसक्यो,’ उनले भनिन्।

    एकपटक रोपेको ठाउँमा फेरि वर्षा भएपछि पुनः रोप्नुपर्ने अवस्था आएको कृषकले गुनासो गरेका छन्। पर्वतका ६१ वटै वडामा कोदोखेती हुँदै आएको छ। पछिल्लो केही वर्षयता कोदोको माग गाउँ, सहर र विदेशमा समेत निर्यात हुने क्रम बढेपछि पर्वतमा कोदो खेतीतर्फ आकर्षण बढ्दै गएको छ। कोदो रोपेर धान रोप्ने तयारी गरेका कृषक बारीमै कोदो सुकेर नष्ट भएपछि भने समस्यामा परेका फलेवास नगरपालिका– ५ का कृषक धर्मराज पौडेलले बताए।

    धानखेती हुने ठाउँमा सिँचाइको सुविधा हुने भए पनि पर्वतका अधिकांश क्षेत्रको बारीमा भने वर्षाकै भरमा खेती गरिँदै आएको छ। खडेरीसँगै अत्यधिक गर्मीले जनजीवनसमेत प्रभावित बनेको छ। पर्वतमा यस वर्ष सबैभन्दा धेरै ३५ डिग्री सेल्सियससम्म तापक्रम पुगेको छ।

    कृषि ज्ञान केन्द्र पर्वतका बागवानी विकास अधिकृत शंकर पौडेलले जिल्लाका अधिकांश ठाउँमा कोदो रोपाइँ भइरहेको बताए। खडेरीका कारण रोपेको कोदो सुक्दै गएको गुनासो आएको भन्दै पौडेलले क्षतिको यकिन विवरण भने आइनसकेको बताए। पालिकामार्फत खडेरीले कोदोखेतीमा पुर्‍याएको क्षतिको तथ्यांक संकलनको काम भइरहेको उनको भनाइ छ। कार्यालयले गत वर्षदेखि कोदोबाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत कृषकलाई विभिन्न सहयोगसमेत गर्दै आएको छ।

    पर्वतमा झापे, डल्ले, मंसिरे र स्थानीय जातको कोदो उत्पादन हुँदै आएको छ । जिल्लाको आठ हजार तीन सय ४० हेक्टर क्षेत्रफलमा कोदोको उत्पादन हुने अधिकारीले बताए। गत वर्ष पर्वतमा आठ हजार तीन सय १० मेट्रिक टन कोदो उत्पादन भएको थियो। जसमध्ये पाँच हजार एक सय ७५ मेट्रिक टन कोदो निर्यात भएको कार्यालयले जनाएको छ।

    कोदो बाली लगाउने वेला वर्षा नहुँदा आगामी वर्ष उत्पादनमा केही गिरावट आउन सक्ने कार्यालयले जनाएको छ। कोदोको बिउ निर्धारित समयमै रोप्न सकिएन भने उत्पादन कम दिने कार्यालयको भनाइ छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार