काठमाडौँ / दक्षिण कोरियाको एक विमानस्थलमा १८१ जना सवार विमान दुर्घटना हुँदा कम्तीमा २८ जनाको मृत्यु भएको बताइएको छ । योनहाप समाचार एजेन्सीका अनुसार देशको दक्षिण पश्चिममा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान धावनमार्गबाट चिप्लिएर पर्खालमा ठोक्किएको जनाइएको छ ।
१७५ यात्रु र छ जना चालक दलका सदस्य रहेको जेजु एयरको विमान थाइल्याण्डको बैंककबाट फर्किरहेको र अवतरण गर्ने क्रममा दुर्घटना भएको बताइएको छ।
अन्यको उद्धार कार्य जारी रहेको समाचारमा उल्लेख छ । आइतबार बिहान दुर्घटना भएको विमानमा रहेका यात्रुहरूमा १७३ जना दक्षिण कोरियाली र दुई जना थाई नागरिक थिए।
दुर्घटनाको कारण स्पष्ट नभए पनि चरा ठोक्किएर वा अवतरण गियर बिग्रिएर दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
सामाजिक सञ्जालमा अपलोड गरिएको अप्रमाणित फुटेजमा विमान धावनमार्गबाट चिप्लिएर पर्खालमा ठोक्किएको देखिन्छ, त्यसपछि त्यसको केही भाग एकाएक विस्फोट हुन्छ।आकाशमा कालो धुवाँको ठुलो मुस्लो उडिरहेको समेत देखिन्छ।