कोशी प्रदेशमा ड्रागन फल खेती गर्ने बढ्दै, कुन जिल्लामा कति हेक्टरमा हुदैछ खेती ?

कोशी प्रदेशमा ड्रागन फल खेती गर्ने बढ्दै, कुन जिल्लामा कति हेक्टरमा हुदैछ खेती ?

मंगलवार, असार १८ २०८१
मंगलवार, असार १८ २०८१
  • images
    images
    कोशी प्रदेशमा ड्रागन फल खेती गर्ने बढ्दै, कुन जिल्लामा कति हेक्टरमा हुदैछ खेती ?

    बेलबारी (मोरङ) / ड्रागन फलले बजार पाउन थालेपछि कोशी प्रदेशमा यसको खेती गर्नेहरुको सङ्ख्या पनि बढेको छ । 

    कृषि विकास निर्देशनालय कोशी प्रदेशका अनुसार हाल प्रदेशका विभिन्न जिल्लामा एक सय ८६ हेक्टर क्षेत्रफलमा ड्रागन फलको खेती भइरहेको र एक सय १० हेक्टरबाट उत्पादन भइरहेको छ । 

    प्रदेशका १४ जिल्लामध्ये विशेषगरी छ जिल्लामा ड्रागन फलको खेती भइरहेको छ । झापामा ६० हेक्टर, मोरङमा ३५ हेक्टर, सुनसरीमा २५ हेक्टर, भोजपुरमा छ हेक्टर, इलाममा ११ हेक्टर, सङ्खुवासभामा ३७ हेक्टर जमिनमा यसको खेती भइरहेको कृषि विकास निर्देशनालय कोशी प्रदेशका योजना शाखाका अधिकृत काजिमान प्रधानले जानकारी दिए । 

    आर्थिक वर्ष २०७९/८० मा प्रदेशभरबाट एक हजार दुई सय १९ दशमलव २२ मेट्रिक टन ड्रागन फल उत्पादन भएको अधिकृत प्रधानले बताए । 

    बजारमा यसको माग उच्च भएको कारण पछिल्लो समय यसको खेतीप्रति किसानको आकर्षण बढ्दो रहेको कृषि विकास निर्देशनालय कोशी प्रदेशका प्रमुख प्रकाशकुमार डाँगीको भनाइ छ । 

    मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप शाह पनि ड्रागन फल उत्पादनमा सक्रिय छन् ।

    बिदाको समयमा बिहानैदेखि खेतबारीमा भेटिने मोरङको बेलबारी घर भएका शाह केराबारी गाउँपालिका–९ घङ्गरुमा जग्गा भाडामा लिएर कृषि फार्म सञ्चालन गरेका छन् । शाहसहित दुई जना मिलेर ओसिस स्मार्ट एग्रो फार्ममार्फ ड्रागन फलको खेती गरिरहेका छन् । 

    खेती सुरु गरेको दुई वर्षबाटै राम्रो आम्दानी हुन थालेको उनको भनाइ छ । कूल १५ कठ्ठा जमिनमा लगाइएको ड्रागन फलमध्येबाट छ कठ्ठामा पहिलो चरणको उत्पादन सुरु भएको छ ।

    वैशाखदेखि असोज मसान्तसम्म उत्पादन दिने उनले बताए । हालसम्म पाँच सय केजीभन्दा धेरै उत्पादन भइसकेको शाहले जानकारी दिए । 

    बारीमै थोकमा प्रतिकिलो तीन सयका दरले उक्त फल बिक्री भइरहेको उनले बताए । उनले दुई वर्षअघि झापाबाट ड्रागन फलको बिरुवा ल्याएर यसको खेती सुरु गरेका थिए । खेतीमा कुनै रासायनिक विषादी प्रयोग नगरेको उनको भनाइ छ । 

    कोरोना महामारीको सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि लागू भएको बन्दाबन्दीमा निर्माण व्यवसाय छाडेर ड्रागन फल खेतीमा लाग्नुभएका मोरङ सुनवर्शी नगरपालिका–१ का गणेश राई यतिबेला कृषि पेसाबाट सन्तुष्टि मिलेको बताउछन् । 

    तत्कालीन समयमा ठूलो जोखिम लिएर रु एक  करोडको लगानीमा फर्म सञ्चालनमा ल्याएको र अहिले तुर्छा ड्रागन फ्रुट तथा बहुउद्देश्यीय कृषी फर्ममार्फत ड्रागन फलको खेती राम्रो भइरहेका बताए । 

    उनको फार्ममा यतिबेला दैनिक छ जना कामदार ड्रागन फल टिप्दै गरेको भेटिन्छन् । राईले चार वर्षअघि तीन विघा जमिनमा तीन हजार ड्रागन फलका विरुवा लगाएका छन् । हाल महिनामा तीनदेखि चार पटकसम्म फल टिप्ने गरेको उनको भनाइ छ । 

    एकपटकमा करिव तीन क्विन्टल फल टिप्दै गरिएको उनले बताए । सुरु थोकमा प्रतिकेज रु तीन सय ५० मा बिक्री गर्ने गरिएकोमा हाल प्रतिकेजी रु तीन सयका दरले बिक्री भइरहेको उनको भनाइ छ । 

    राईले भने, “ड्रागन फलको खेती सुक्खा र पानी नजम्ने ठाँउमा गर्दा राम्रो हुन्छ एक पटकको लगानीबाट कम्तीमा २५ वर्षसम्म आम्दानी गर्न सकिन्छ ।”  

    मेक्सिको र दक्षिण अमेरिकाबाट नेपाल भित्रिएको सिउँडी प्रजातिको फल दुई किसिमको हुने कृषि विकास निर्देशनालय कोशी प्रदेशका बागवानी विकास अधिकृत टोनि वर्देवाले बताए । 

    उनका अनुसार यसको हाँगा काटेर अन्यन्त्र रोप्नुपर्ने हुन्छ । ड्रागन फलमा प्रशस्त मात्रामा भिटामिन सी पाइन्छ । 

    – विवेक मिश्र, रासस

    [यस न्युजमा पहिले फोटो गलत भएकोले सञ्चाइएको छ ।]

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार