images
images

निर्माण व्यवसायीलाई भुक्तानी रोक्दाको असर आर्थिक बृद्धिमा, तेस्रो त्रैमाससम्मको बृद्धिदर कति ?

निर्माण व्यवसायीलाई भुक्तानी रोक्दाको असर आर्थिक बृद्धिमा, तेस्रो त्रैमाससम्मको बृद्धिदर कति ?

विद्युत र ग्याँस उद्योगको वृद्धिदर सबैभन्दा धेरै

बिहिवार, साउन ३ २०८१
बिहिवार, साउन ३ २०८१
  • निर्माण व्यवसायीलाई भुक्तानी रोक्दाको असर आर्थिक बृद्धिमा, तेस्रो त्रैमाससम्मको बृद्धिदर कति ?

    काठमाडौँ / सरकारले आर्थिक बर्ष (आव) २०८०/८१ मा निर्माण व्यवसायीको भुक्तानी रोक्दा त्यसको असर आर्थिक बृद्धिदरमा परेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार निर्माण क्षेत्र सबैभन्दा धेरैले ऋणात्मक हुँदा आव २०८०/८१ को तेस्रो त्रैमाससम्ममा नेपालको आर्थिक वृद्धिदर खुम्चिएको हो । सो अवधिमा अर्थतन्त्रको वृद्धिदर २.२ प्रतिशत मात्रै भएको कार्यालयको तथ्याङ्क छ । 

    आव ०७९/८० को सोही अवधिमा अर्थतन्त्रको वृद्धिदर २.५ प्रतिशत रहेको थियो । तेस्रो त्रैमाससम्ममा आर्थिक वृद्धिदर मापन गर्ने कृषि बाहेकका चार महत्त्वपूर्ण क्षेत्रमा एक साथ ऋणात्मक वृद्धिदर कायम भएको छ ।

    गत आर्थिक वर्षको तेस्रो त्रैमासिक (माघ, फागुन र चैत महिना) मा व्यापार,  उत्पादनमूलक उद्योग, निर्माण, खानी तथा खनिज क्षेत्रमा ऋणात्मक वृद्धिदर देखिएको छ । निर्माणसहित अर्थतन्त्रका आधा दर्जन क्षेत्र ऋणात्मक रहँदा आव ०८०/८१ को तेस्रो त्रैमासमा आर्थिक वृद्धिदर खुम्चिन पुगेको प्रतिवेदनमा उल्लेख छ । 

    गत आर्थिक वर्षभरिमा भने कार्यालयले ३.८७ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण यस अघि नै गरिसकेको छ । दोस्रो त्रैमासिकको तुलनामा तेस्रो त्रैमासिकको वृद्धिदर एक प्रतिशत भन्दा तल रहेकोले यो वृद्धिदर पनि हासिल हुन चुनौतिपूर्ण रहेको देखिन्छ ।

    तथ्याङ्क कार्यालयका अनुसार मौसमी प्रभाव समायोजित कुल ग्राहस्थ उत्पादन तेस्रो त्रैमासमा दोस्रो त्रैमासको तुलनामा ०.८ प्रतिशत मात्र रहने अनुमान छ । 

    जम्मा १८ मध्ये आठवाटा क्षेत्रका वृद्धिदर दोस्रो त्रैमासिकको तुलनामा नकारात्मक रहने अनुमान कार्यालयले गरेको छ । जसमा कृषि, खानी, विद्युत, निर्माण, यातायात र सुचना तथा सञ्चार क्षेत्रको वृद्धिदर नकारात्मक रहने अनुमान छ ।

    यो त्रैमासिकमा अर्थतन्त्रको धनात्मक वृद्धि हुनुमा गहुँ, आलु, नगदे बाली तथा फलफूल उत्पादनमा भएको वृद्धिलाई प्रमुख कारणको रूपमा हेरिएको छ । त्यस्तै, पर्यटन आगमनमा भएको वृद्धिसँगै होटेल क्षेत्रको कुल मूल्य अभिवृद्धिमा भएको बढोत्तरीले पनि सहयोग पुर्याएको तथ्याङ्क कार्यालयले उल्लेख गरेको छ ।

    यी हुन् ऋणात्मक रहेका क्षेत्रहरू 

    निर्माण, उद्योग, व्यापार तथा खानी र उत्खनन्का क्षेत्रको बृद्धिदर नकारात्मक रहने प्रक्षेपण पनि कार्यालयले गरेको छ । निजी क्षेत्रले बजारमा माग नभएको कारण उत्पादन घटाउनुपर्ने अवस्था आएको गुनासो गरिरहको बेला क्षेत्रले संकुचन बेहोर्ने स्थिति आएको प्रतिवेदनमा उल्लेख छ ।

    कार्यालयको तथ्याङ्क अनुसार यस अवधिमा निर्माण क्षेत्र सबैभन्दा धेरैले ऋणात्मक रहन पुगेको छ । प्रतिवेदन अनुसार तेस्रो त्रैमासमा यस क्षेत्रमा ११.२ प्रतिशतको संकुचन देखिएको छ । अघिल्लो वर्षको सोही त्रैमासमा निर्माण क्षेत्र ५.५ प्रतिशतले मात्र ऋणात्मक थियो । 

    यस्तै, चालु आवको पहिले त्रैमासमा भने यस क्षेत्र ६.९ प्रतिशतले धनात्मक रहेको थियो ।  सरकारले पूँजीगत बजेट खर्च गर्न नसकेको र निर्माण व्यवसायीलाई काम गरेबापत भुक्तानी नगरेको र घरजग्गाको कारोवारमा मन्दी आएको कारण निर्माण क्षेत्र प्रभावित भएको देखिएको छ ।

    यता, यस त्रैमासमा खानी तथा उत्खनन् क्षेत्रमा समेत ४.८ प्रतिशतको संकुचन देखिएको छ । अघिल्लो वर्षको सोही त्रैमासमा यो क्षेत्रमा मात्र २.७ प्रतिशतको संकुचन थियो भने चालु आवको पहिलो र दोस्रो त्रैमास भने क्रमशः ११ र २.१ प्रतिशतले धनात्मक रहेको थियो । 

    होलसेल व्यापार र सवारी मर्मत क्षेत्र समेत २.७ प्रतिशतले ऋणात्मक रहेको छ भने, उत्पादनमूलक क्षेत्र समेत यो त्रैमासमा ऋणात्मक रहेको छ । यस त्रैमासमा २ प्रतिशतले ऋणात्मक रहेको यो क्षेत्र अघिल्लो वर्षको सोही त्रैमासमा १.७ प्रतिशतले ऋणात्मक रहेको थियो ।

    विद्युत र ग्याँस उद्योगको वृद्धिदर सबैभन्दा धेरै 

    अर्थतन्त्रका कुल १८ ओटा औद्योगिक वर्गिकरणमध्ये १४ ओटा औद्योगिक क्षेत्रहरूको कुल मूल्य अभिवृद्धि वृद्धिदर धनात्मक रहेको छ । गहुँ, आलु, नगदे बाली तथा फलफुल उत्पादनमा आएको बृद्धि र पर्यटन आगमनको भएको बृद्धिसँगै होटल क्षेत्रको कुल मूल्य अभिवृद्धिमा भएको बढोत्तरीले तेस्रो त्रैमासिकमा अर्थतन्त्रमा धनात्मक बृद्धि हुने प्रक्षेपण गरिएको कार्यालयले जनाएको छ ।

    यस अवधिमा विद्युत र ग्याँस उद्योगसँग सम्बन्धित क्रियाकलापको वृद्धिदर सबैभन्दा धेरै रहेको छ । यस क्षेत्रको वृद्धिदर ३७.१५ प्रतिशत रहेको प्रतिवेदन रहेको छ । अघिल्लो आवको सोही अवधिमा यस क्षेत्र २१.८ प्रतिशतले ऋणत्मक रहेको थियो । 

    यस्तै, आवास तथा भोजन सेवाको १९.१ प्रतिशत वृद्धिदरसहित दोस्रो धेरै वृद्धि हुने औद्योगिक क्षेत्र रहेको छ ।  यातायात तथा भण्डारण क्षेत्रको वृद्धिदर १५ प्रतिशत रहेको छ भने अन्य सेवाका क्रियाकलापहरू (कला, मनोरन्जन लगायतका क्रियाकलापहरू)को वृद्धिदर ८.३५ प्रतिशत रहेको छ ।

    त्यसैगरी, निक्षेप तथा कर्जामा भएको वृद्धिसँगै वित्तिय तथा बीमा सेवाको वृद्धिदर ६.१ प्रतिशत रहेको छ । यता, अर्थतन्त्रमा सबैभन्दा बढी हिस्सा ओगटेको कृषि, वन तथा मत्स्य क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदर तीन प्रतिशत हुने प्रारम्भिक अनुमान कार्यालयको छ । 

    यस्तै, कार्यालयको अनुसार गहुँ, आलू, नगदे बाली तथा फलफूल उत्पादनमा भएको वृद्धिले यसको वृद्धिदर सकारात्मक रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार