images
images

आव २०८०/८१ मा १.३३ प्रतिशतले घट्यो वैदेशिक व्यापार, आयात–निर्यात दुवैमा गिरावट

आव २०८०/८१ मा १.३३ प्रतिशतले घट्यो वैदेशिक व्यापार, आयात–निर्यात दुवैमा गिरावट

पेट्रोलियम पदार्थ आयातमा मात्र साढे ३ खर्ब बाहिरियो

सोमवार, साउन ७ २०८१
सोमवार, साउन ७ २०८१
  • आव २०८०/८१ मा १.३३ प्रतिशतले घट्यो वैदेशिक व्यापार, आयात–निर्यात दुवैमा गिरावट

    काठमाडौँ / न्यून मागको दबाब झेलिरहेको अर्थतन्त्रले गति लिन नसक्दा आयातसँगै निर्यात व्यापार पनि खुम्चिँदै गएको छ । भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापार तथ्याङ्कले अर्थतन्त्रले गति लिन नसकेको पुष्टि गरेको हो । 

    विभागको सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालको वैदेशिक व्यापार २ करोड ३५ लाख रुपैयाँले ओरालो लागेको छ । गत आर्थिक वर्ष (आव) २०८०/८१  १७ खर्ब ४५ अर्ब ३६ करोड ६७ लाख ७२ हजार रुपैयाँको वैदेशिक व्यापार भएको छ । 

    यो अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा २ करोड ३५ लाख ५ हजार रुपैयाँ कम हो । भन्सार विभागका अनुसार यस आवमा वैदेशिक व्यापारको आधार १.३३ प्रतिशतले कम भएको छ । आर्थिक वर्ष २०७९/८० मा १७ खर्ब ६८ अर्ब ८७ करोड २४ लाख रुपैयाँको वैदेशिक व्यापार भएको छ ।

    यस आवको असार मसान्तसम्ममा १५ खर्ब ९२ अर्ब ९८ करोड रुपैयाँको आयात हुँदा नेपालबाट १ खर्ब ५२ अर्ब रुपैयाँको निर्यात भयो । यस वर्ष आयात १.१६ प्रतिशत र निर्यातमा ३.०३ प्रतिशतको गिरावट आयो ।

    अघिल्लो आवको असार मसान्तसम्म १६ खर्ब ११ अर्ब ७३ करोड रुपैयाँको आयात हुँदा १ खर्ब ५७ अर्ब रुपैयाँको मात्र निर्यात भएको थियो । यस वर्ष आयात १६.०८ प्रतिशत र निर्यातमा २१.४४ प्रतिशतको गिरावट आयो । 

    यता, यस आवमा वैदेशिक व्यापारमा आयातको हिस्सा ९१.२७ प्रतिशत हुँदा निर्यातको हिस्सा मात्र ८.७३ प्रतिशत छ । अघिल्लो आवमा वैदेशिक व्यापारमा आयातको हिस्सा ९१.१२ प्रतिशत हुँदा निर्यातको हिस्सा मात्र ८.८८ प्रतिशत छ । वैदेशिक व्यापारमा निर्यातको हिस्सा कम्जोर बनिरहेको विभागको तथ्याङ्कले दखाएको हो ।

    करिब २ खर्बले घट्यो आयात

    भन्सार विभागका अनुसार आव ०८०/८१ मा आयात करिब २ खर्बले ओरालो लागेको छ । यस आवमा १५ खर्ब ९२ अर्ब ९८ करोड ५५ लाख २८ हजार रुपैयाँ बराबरको वस्तु तथा सामान आयात भएको छ । यो अघिल्लो आव तुलनामा १.१६ प्रतिशतले कम हो । 

    आव ०७९/८० मा १६ खर्ब ११ अर्ब ७३ करोड १७ लाख ७० हजार रुपैयाँ बराबरको वस्तु तथा सामान आयात भएको थियो ।  गत आर्थिक वर्ष विभिन्न मुलुकबाट सामान आयात गरेबापत ४ खर्ब २० अर्ब १६ करोड ८२ लाख रुपैयाँ राजस्व उठेको छ । सबैभन्दा बढी पेट्रोल, डिजेल र एलपीजी ग्यास आयात गरिएको विभागको तथ्याङ्क छ । 

    एक वर्षमा १ खर्ब ४३ अर्ब ९७ करोड रुपैयाँको पेट्रोल आयात गरिएको छ । ६८ अर्ब १० करोड रुपैयाँको डिजेल र ५५ अर्ब ६१ करोड रुपैयाँ बराबरको एलपीजी ग्यास आयात गरिएको छ ।

    निर्यात पनि घट्यो

    आव ०८०/८१ मा १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाख ४४ हजार रुपैयाँँको निर्यात भएको छ । यो अघिल्लो आवको तुलनामा ३.०३ प्रतिशत कम हो । अघिल्लो आवमा १ खर्ब ५७ अर्ब १४ करोड ६ लाख ९५ हजार रुपैयाँको निर्यात भएको थियो ।

    निर्यात हुने वस्तुमा गलैंचा, अलैंची, फलामजन्य वस्तु, मिश्रित जुस छन् । एक वर्षमा १० अर्ब ५७ करोड रुपैयाँ बराबरको गलैंचा र ७ अर्ब ९३ करोड रुपैयाँ बराबरको अलैंची निर्यात भएको विभागको तथ्याङ्क छ ।

    व्यापार घाटामा सामान्य सुधार

    आयात ठूलो मात्रामा घट्दा व्यापार घाटामा भने सामान्य सुधार भएको देखिएको छ । तर विभागको तथ्याङ्क अनुसार व्यापार घाटा कम हुनुमा निर्यातले भने योगदान गर्न नसकेको देखिएको छ । 

    यस आवमा १४ खर्ब ४० अर्ब ६० करोड ४२ लाख ८३ हजार रुपैयाँको व्यापार घाटा भएको छ । यो अघिल्लो आवको तुलनामा ०.९६ प्रतिशत कम हो । अघिल्लो आवमा १४ खर्ब ५४ अर्ब ५९ करोड १० लाख ७४ हजार रुपैयाँको व्यापार घाटा भएको थियो ।

    पेट्रोलियम पदार्थ आयातमा मात्र साढे ३ खर्ब बाहिरियो 

    यस वर्ष पेट्रोलियम पदार्थ आयातमा मात्र ३ खर्ब ३७ अर्ब ३४ करोड रुपैयाँ विदेशिएको छ । पेट्रोलियम आयातमा नेपालको सबैभन्दा धेरै व्यापार घाटा व्यहोरेको छ । 

    तर, विभागको तथ्याङ्क अनुसार यस बर्षको आयात १.१६ प्रतिशतले घटेसँगै पेट्रोलियम पदार्थ आयात पनि घट्न पुगेको छ । अघिल्लो आवको तुलनामा पेट्रोलियम पदार्थ आयात ४.३५ प्रतिशतले घटेको पाइएको छ । आघिल्लो आवमा पेट्रोलियम पदार्थको आयातमा मात्र ३ खर्ब ५२ अर्ब ७१ करोड रुपैयाँ बाहिरिएको थियो । 

    यस्तै, यस आवमा १ खर्ब २५ अर्ब रुपैयाँ बराबर फलाम तथा स्टिल आयात भएको छ । एक वर्ष अवधिमा २८ अर्ब बराबर तरकारीजन्य वस्तु आयात भएको देखिन्छ । ८५ अर्ब ७४ करोड बराबर सवारीसाधन आयात भएको छ ।

    सबैभन्दा धेरै व्यापार घाटा भारतसँग

    गत आवमा सबैभन्दा धेरै व्यापार भारतसँग भएको छ । भरतबाट नेपालमा ९ खर्ब ९६ अर्ब ६८ करोड बराबर वस्तु आयात भएको छ । नेपालबाट भारततर्फ १ खर्ब ३ अर्ब बराबरको वस्तु निर्यात भएको छ ।

    चीनबाट नेपालमा २ खर्ब ९८ अर्ब बराबर वस्तु आयात भएको छ । नेपालबाट भने मात्र २ अर्ब ५८ करोड बराबर वस्तु निर्यात भएको देखिन्छ । 

    तेस्रो ठूलो व्यापार साझेदार देश युनाइटेड अरब इमिेरेट्स (यूएई) देखिएको छ । यूएईबाट २९ अर्ब रुपैयाँ बराबर सामान आयात भएको छ । नेपालबाट भने २ अर्ब ५७ करोड रुपैयाँको निर्यात भएको छ । 

    चौथो स्थानमा अमेरिका छ । अमेरिकाबाट नेपालमा १९ अर्ब ४८ करोडको आयात भएको छ । निर्यात १७ अर्ब ३१ करोड बराबर भएको छ । अमेरिका कम व्यापार घाटा भएको मुलुकमध्ये सबैभन्दा अगाडि पर्छ । 

    आयात घट्दा सरकारले भन्सारबाट उठाउने राजस्व समेत कम भएको छ । यस वर्ष भन्सार विभागले लक्ष्यको ६७ प्रतिशतमात्र राजस्व उठाएको छ । यस वर्ष भन्सार विभागलाई ६ खर्ब २७ अर्ब रुपैयाँको लक्ष्य रहेको थियो । तर, प्राप्ति भने ४ खर्ब २० अर्ब रुपैयाँ मात्र रहेको विभागले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार