काठमाडौँ / नेपालको अर्थतन्त्र अझै पनि संकटपूण र तनावपूर्ण अवस्थामा रहेको सरोकारवालाहरूले बताएका छन् । नेपाल बैंकर्स संघले मंगलबार काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्ने अधिकांश वक्ताहरूले अर्थतन्त्रमा समस्यामै रहेको औंल्याएका हुन् ।
नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले नेपाल कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ग्रोथको हिसाबले बलियो रहेपनि अर्थतन्त्रमा भने धेरै परिवर्तन हुन नसक्ने बताए ।
उनले भने, "यस वर्ष र आगामी दुई वर्षमा विश्वव्यापी रूपमा धेरै परिवर्तनको अपेक्षा गर्न सकिदैन । नेपालको सन्दर्भमा हेर्दा अलिकति बलियो जस्तो देखिन्छ । विश्वव्यापी रूपमा समस्याहरू भएपनि नेपालमा जीडीपी ग्रोथको लागि अलिकति ठाउँ छ ।"
यसको साथै, उनले पछिल्लो समय पर्यटन क्षेत्रमा केही सुधार भएको, आयात निर्यातको क्षेत्र पनि सही दिशातर्फ गइरहेको बताए । सोही क्रममा नेपाल बैंकर्स संघका अध्यक्षमा सन्तोष कोइरालाले अर्थतन्त्र अहिले तनावपूर्ण अवस्थामा नै रहेको औंल्याए । उनले भन्दै लोनको ग्रोथ सोचे अनुसारको हुन नसकेको बताए ।
कोइरालाले बैंकहरूले कर्जा रिकभरीका क्रममा कर्मचारीहरूले भोग्नुपरेको हिंसा र आक्रमणको विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएको जानकारी दिए । उनले बैंकका कर्मचारीहरूको सुरक्षाको ग्यारेन्टीका लागि सरकारले तत्काल कदम चाल्नुपर्ने माग गरे ।
कर्जा रिकभरीका क्रममा विभिन्न बाधाहरूको सामना गर्नुपरेको कोइरालाको भनाइ थियो । विशेष गरी स्थानीय तहको सहयोगको अभावले बैंकहरूलाई धितो लिलाम गर्न र बेच्न समस्या भइरहेको उनले बताए ।
उनले लोन उठाउन जाने क्रममा कर्मचारीहरूमाथि हातपात हुने गरेको गुनासो गरे । उनले भने, "अर्थतन्त्र अहिले तनावपूर्ण अवस्थामा छ । लोनको ग्रोथ सोचे अनुसारको हुन सकेको छैन् । डिमान्ड राम्रो छैन् । विभिन्न ठाँउमा लोन उठाउन जाने क्रममा कर्मचारी साथीहरूलाई विभिन्न खालको हमलाहरू हुने गरेको छ । यस बारेमा सरकारसँग पनि कुरा भएको छ । सुरक्षाको बारेमा पनि कुरा उठाइरहेका छौँ । नकारात्मक कुराहरू धेरै आइरहेको समयमा सकरात्मक पक्षहरूलाई पनि महत्व दिएर अगाडि बढ्न आग्रह गर्न चाहन्छु ।"
त्यस्तै संघका उपाध्यक्षसमेत रहेका ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र रेग्मीले ऋणी र बैंकबीचको सुमधुर सम्बन्ध भएको र ऋणीलाई विश्वास गरेर नै ऋण लगानी गर्ने बताए ।