काठमाडौँ / नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले लामो सङ्घर्ष र जनताको बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउन नहुने बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने कुनै प्रकारको षड्यन्त्र सह्य नहुने बताए ।
नेपाली जनताको मुक्ति र नेपाली समाजको रूपान्तरणका लागि स्थापित कम्युनिष्ट पार्टी अहिले विभिन्न रूपमा विभाजित भएकाले विगतका कमजोरीलाई सच्याएर एकताबद्ध हुनुपर्ने उनको भनाइ थियो ।
सो कार्यक्रममार्फत जनता समाजवादी पार्टीका केन्द्रीय सदस्यहरू विशेश्वर यादव, धनेश्वर यादव, कुलदीप यादवलगायत नेताहरू नेकपा (एस)मा प्रवेश गरेका थिए ।
विशेश्वर यादव जसपा धनुषा क्षेत्र नम्बर २ (क)का पार्टी इन्चार्ज रहेका छन् भने धनेश्वर यादव धनुषा कमलानगर नगरपालिका–३ का पूर्व वडाध्यक्ष हुन् । अध्यक्ष नेपाल, पार्टीका केन्द्रीय सदस्य रामचन्द्र झा, सोमप्रसाद पाण्डे, केदार सञ्जलले उनीहरूलाई पार्टीमा स्वागत गरे ।