images
images

बन्यो सडक बनेन ढल, पक्की सडकमुनी डुब्छ बसबिट्टा बस्ती

बन्यो सडक बनेन ढल, पक्की सडकमुनी डुब्छ बसबिट्टा बस्ती

आइतवार, भदौ १६ २०८१
आइतवार, भदौ १६ २०८१
  • बन्यो सडक बनेन ढल, पक्की सडकमुनी डुब्छ बसबिट्टा बस्ती

    सिरहा/  सिरहाको सदरमुकामस्थित बजारसँगै जोडिएको बसबिट्टा बस्ती थोरै बर्खामा पनि डुबानमा पर्ने गरेको छ । 

    पानीको निकास नहुँदा बस्तीका करिब पाँच सय घरपरिवार बर्सेनि डुबानको समस्यामा पर्दै आएका छन् ।
    बस्तीको पूर्वतर्फ गत वर्ष पक्की सडक बनेसँगै डुबान प्रभावित क्षेत्र झन् विकराल बन्दै गएको स्थानीय पीडित रामविलास यादवले बताए । 

    “बस्तीको पूर्वतर्फबाट नाला निर्माण नगरी पक्की सडक बन्यो । त्यसपछि यो वर्ष त पूरै गाउँ सामान्य वर्षामै डुबानमा पर्‍यो”, उनले भने, “कति महिनासम्म डुबान रहिरहने हो टुङ्गो छैन ।” समस्याको दीर्घकालीन समाधान गर्नतर्फ कसैले ध्यान नदिएको उनले गुनासो गरे ।

    बस्तीको पश्चिमतर्फ नजिकै कमला नदीमा रहेको तटबन्धका कारण पानी निकासमा समस्या भएको अर्का स्थानीयवासी राजकुमार यादवको भनाइ छ । 

    उनले भने, “एकातर्फ कमला नदीको तटबन्ध छभने अर्कातर्फ बस्तीभन्दा अग्लो गरी पक्की सडक निर्माण गरिएको छ । अनि कहाँबाट पानीको निकास हुन्छ ? भारी वर्षा हुँदा घरबाट बाहिर निस्कन सकिने अवस्था छैन । केटाकेटी र वृद्धवृद्धालाई झन् जोखिम बढेको छ ।” पानीको उचित निकास नहुँदा बस्ती नै विस्थापित हुनुपर्ने अवस्था आइसकेको उनले बताए ।

    मुख्यगरी यहाँको पासमान गाउँ, महाराजा टोल, कजकलवा, यादव बस्तीलगायत क्षेत्रमा डुबानको समस्या हुँदै आएको सिरहा नगरपालिका–६ का वडाध्यक्ष इन्द्रजित यादवले जानकारी दिए । 

    कमला तटबन्ध व्यवस्थित नहुँदासम्म समस्या सुल्झन गाह्रो हुने उनको भनाइ छ । कमला तटबन्ध क्षेत्रका ठाउँठाउँमा राखिएको कलभर्ट (कजवे) बाट वर्षामा कमला नदीमा आएको बाढी उल्टो बस्तीतिर पस्ने गरेको अध्यक्ष यादवको भनाइ छ ।

    “कमला तटबन्धका कजवे व्यवस्थित नहुँदा यो समस्या बढिरहेको छभने अर्को, पानी निकासमा ध्यान नदिई बिनानालाको सडक निर्माण गरिनु हो । पानीको निकास नहुँदा यहाँ बर्सेनि डुबान क्षेत्र फैलिँदै गएको छ । 

    वर्षा सुरु भएदेखि बस्तीभरि पानी भरिएर एक घरबाट अर्को घरमा जान पनि समस्या छ”, अध्यक्ष यादवले भने, “बिनानाला कुनैपनि बाटो स्वीकृत गरिनुहुँदैन ।” उनले बसबिट्टा क्षेत्रमा डुबान हुनुको मुख्य जिम्मेवार कमला सिँचाइ, सडक डिभिजन र नगरपालिका भएको आरोप लगाए ।

    अर्कातर्फ बजार क्षेत्रमा व्यापार गर्ने व्यवसायीको सङ्ख्यामा वृद्धि भएसँगै नयाँ घर निर्माण गर्ने क्रममा पानीको निकास हुने क्षेत्र मासिँदा बजार जलमग्न हुन थालेको अध्यक्ष यादवको भनाइ छ ।

     जसले गर्दा सदरमुकाम नजिकै रहेको बजार क्षेत्रका अधिकांश पसल र सडक डुबानमा पर्दा स्थानीय बासिन्दा, यात्रु, पसल सञ्चालक र सर्वसाधारणले सास्ती खेप्नुपरेको उनले जानकारी दिए । 

    पानी निकासका लागि सामान्य ‘ह्युमपाइप’ले नहुने भन्दै वडाको स्रोत र साधनले नधान्ने उनले बताए ।

    सिरहा नगरपालिकाका नगरप्रमुख डा नवीनकुमार यादवले बसबिट्टा क्षेत्रको पानी निकासका लागि सरोकारवाला निकायसँग समन्वयको कार्य भइरहेकोे बताए । 

    “तत्कालका लागि बजारलगायत बस्ती क्षेत्रमा जम्मा भएको पानी निकासका लागि दक्षिण–पूर्वतर्फको क्षेत्रमा नाली खनेर निकास गर्छौँ । त्यसैगरी पानीको दिगो व्यवस्थापनका लागि बजेटको व्यवस्था गरी ढल निर्माण गर्ने सोचिरहेका छौँ ।”

    तराई मधेसका अधिकांश स्थानमा दीर्घकालीन असर र प्रभाव मूल्याङ्कन नगरी विकास निर्माणका काम गरिँदा बर्सेनि डुबानका समस्या आउने गरेको जानकारहरू बताउँछन् । 

    मुख्यगरी सडक निर्माण गर्दा नाली र ढलको व्यवस्था नगरी पूर्वाधार विकास गरिँदा यहाँको हुलाकी सडक र महेन्द्र राजमार्गका ठाउँठाउँमा डुबानको समस्या हुँदै आएको छ । 

    खासगरी सदरमुकाम सिरहा, सुखीपुर नगरपालिका, गोलबजार नगरपालिका, धनगढीमाई नगरपालिकालगायत विभिन्न ठाउँमा बर्सेनि डुबानको मारमा स्थानीय छन् । यहाँका कतिपय विद्यालय, अस्पताल, सरकारी भवन डुबानमा पर्दै आएका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार