काठमाडौँ / भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका नेपाल बैंक लिमिटेडका तत्कालीन उपप्रबन्धक शशीकिरण श्रेष्ठलाई प्रहरीले १३ वर्षपछि पक्राउ गरेको छ । उनलाई प्रहरी वृत्त स्वयम्भूको टोलीले शुक्रबार पक्राउ गरेको हो ।
नेपाल बैंकमा कार्यरत रहेको बेला विभिन्न कर्जा प्रवाह गर्दा अख्तियारको दुरुपयोग गरी बैंकलाई ३९ करोड ८९ लाख ३१ हनार ७८४ रुपैयाँ हानीनोक्सानी गरी भ्रष्टाचार गरेको कसुरमा उनी दोषी ठहर भएका थिए ।
उनलाई दुई छुट्टाछुट्टै मुद्दामा प्रतिमुद्दा ६ महिना कैद सजाय तोकिएको छ । उनीबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो ।
२०६८ भदौ ६ मा ऋणी लक्ष्मीप्रसाद आचार्य समेतलाई विशेष अदालतले दोषी ठहर गरेको थियो ।
२०७३ कार्तिकमा सर्वोच्च अदालतका न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र आनन्दमोहन भट्टराईले सो फैसलालाई सदर गरेका थिए ।
श्रेष्ठलाई फैसला कार्यान्वयनका लागि अदालतमा पेश गरिने बताइएको छ। शनिबार र आइतबार सार्वजनिक बिदा परेकोले उनलाई सोमबार अदालतमा पेस गरिने प्रहरीले जनाएको छ ।
त्यसपछि उनलाई फैसला कार्यान्वयनको लागि कारागार चलान गरिनेछ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५४ बमोजिम कैदमा नै बसेर भुक्तानी गर्नुपर्ने र त्यस्तो भ्रष्टाचारको कसुरमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५५ (१) बमोजिमको सुविधा प्रदान गर्न नमिल्ने भनी सर्वोच्च अदालतबाट आदेश भएकाले देखिदा निज श्रेष्ठले उक्त दफा १५५ बमोजिम रकम बुझाई कैदमा नबसी फैसला कार्यान्वयन गर्न सक्ने अवस्था देखिँदैन ।
नेपाल बैंक लिमिटेडको अनियमिततासम्बन्धी चर्तित मुद्दामा दोषी ठहर भई सजाय पाएका निज शशिकिरण श्रेष्ठलाई तोकिएको जम्मा एक वर्ष कैदको सजाय कारागारमा नै बसी भुक्तानी गर्नुपर्ने र १० हजार रुपैयाँ जरिवाना बुझाएर मात्र सजाय चुक्ता हुने देखिन्छ ।
उक्त मुद्दामा दोषी ठहर भएका कतिपय व्यक्तिहरूको सम्बन्धमा अझै पनि फैसला कार्यान्वयन हुन बाँकी रहेको प्रहरीले जनाएको छ । ।