रुवीभ्याली गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत टंक बहादुर नेगी, इन्जिनियर सुदिप रेग्मी, लेखापाल बाबुलाल नेगी र असिष्टेन्ट सबइन्जिनियर लालमान तामाङलाई सडक निर्माण कार्यमा अनियमितता गरेको आरोपमा अख्तियारले अनुन्धान गरेको छ ।
धादिङ, रुवीभ्याली गाउँपालिका अन्तर्गत पागोमा देखि स्कूलसम्म शाखा सडक निर्माण कार्यमा अनियमितता गरेको भन्ने व्यहोराको उजुरीको आधारमा विभागले अनुसन्धान गरेको थियो ।
आर्थिक वर्ष २०७६/ ०७७ मा गाउँपालिकाको वडा ४ बोराङ स्थित पागोमा देखि स्कूलसम्म शाखा सडक निर्माणको लागि २०७६ चैत १७ गते देखि २०७७ असार २५ गतेसम्ममा कार्य सम्पन्न गर्ने गरी योजनाको सम्झौता भएको थियो । अख्तियारको अनुसन्धान अनुसार लागत अनुमान भन्दा थोरै काम गरी प्राविधिक मूल्यांकन सहितको नापी किताब तयार एवं कार्य सम्पन्न प्रतिवेदन स्वीकृत गरी भुक्तानी सम्बन्ध टिप्पणी र आदेशलाई सदर गरेको उल्लेख छ । १०,८९,९८९ रुपैयाँ उपभोक्ता समितिलाई बढी भुक्तानी दिएको देखिएको छ ।
प्रतिवादीहरुले आफैले तयार गरेको लागत अनुमान प्रतिकूल हुने गरी गलत प्राविधिक मूल्यांकन प्रतिवेदनको आधारमा योजना सम्वन्धी बिल तयार गरी सोही बमोजिम भुक्तानी सदर गरेका थिए ।
आरोपितहरुलाई बिगोसमेत जफत हुने गरी मागदाबी लिई हिजो विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले बताए ।