काठमाडौँ / एभरेष्ट बैंक लिमिटेडले निष्काशन गरेको ऋणपत्र ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०९१’ मा आजसम्म आवेदन दिन सकिनेछ । बैंकले १० वर्ष अवधिको वार्षिक ७.५० प्रतिशत ब्याजदरमा फागुन १८ गतेदेखि निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन हो ।
बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो।
सोमध्ये ६० प्रतिशत अर्थात १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ।
सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको छ। सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम् २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १२ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ।
ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल ए माइनस प्रदान गरेको छ।
उक्त ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्थवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी भुक्तानी गरिनेछ।
ऋणपत्रमा आवेदन दिन चाहने लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूका शाखा कार्यालयहरू तथा मेरो शेयर एपबाट आवेदन दिन सक्नेछन्।
ऋणपत्र निष्काशन तथा विक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।