images
images

नेपालमा अटोमोवाइल व्यवसायको विकास, वर्तमान स्थिति र चुनौतिहरू

नेपालमा अटोमोवाइल व्यवसायको विकास, वर्तमान स्थिति र चुनौतिहरू

images

राजश्व तथा रोजगारीको सम्बाहकको रूपमा नेपालको अटोमोवाइल क्षेत्र

बुधवार, चैत २० २०८१
बुधवार, चैत २० २०८१
  • नेपालमा अटोमोवाइल व्यवसायको विकास, वर्तमान स्थिति र चुनौतिहरू
    images
    images
    images
    images

    नेपालमा अटोमोवाईल ब्यवसायको विस्तार भएको चार दशक पनि भएको छैन । राजधानीमा केहि संख्यामा मात्र अटोमोवाईल ब्यवसायीहरू थिए । यातायातका साधनहरू पनि अधिकांशतः सरकारी, कूटनितिक तथा भाडाका मात्र हुन्थ्यो । 

    जसमा सार्वजनिक क्षेत्रका यातायातका साधनहरूमा ट्रक, बस, मिनिवस र राजधानीमा ट्याक्सिको वाहुल्यता थियो । 

    एक दशक अघि सम्म पनि सवारीका साधनहरू सम्पन्न वर्गले मात्र प्रयोग गर्ने साधन मानिन्थ्यो । तर समय क्रमसंगै यस्तो स्थिति र सोचमा भारी परिवर्तन आईसकेको छ । अव सवारीका साधनहरू सीमित सम्पन्न बर्गको मात्र साधन रहेन । यो मध्यम र निम्न मध्यम बर्गका लागि समेत आवश्यक वस्तु भईसकेको छ । 

    राजधानीका ब्यवसायिक र कामकाजी ब्यक्तिहरूको लागि समेत सवारी साधन आवश्यक वस्तु मात्र नभई घर परिवारको लागि इज्जत र प्रतिष्ठाको विषय समेत भईसकेको छ । समाजमा वढ्दो यस्तो प्रवृत्तिले सवारी साधनको आयातमा केही बर्ष  बृद्धि भए पनि सरकारका विभिन्न नीतिहरूका कारण अहिले अटोमोवाइल व्यवसाय खस्कदै गएको छ । अटोमोवाईल साधनहरूको आयातलाई हेर्दा हाम्रो देशमा सङ्ख्यात्मक दृष्ट्रिले भारतिय र चिनिया उत्पादनका अटोमोवाईल साधनहरूले  झण्डै ९० प्रतिशत बजार ओगटेको छ । 

    झण्डै दुई दशक अघिसम्म तुलनात्मक रूपले तेस्रो मुलुक र भारतवाट हुने अटोमोवाईल वस्तुहरूको आयात करिव समान प्रतिशतमा रहदै आएकोमा भारतमा र चीनमा वाह्य लगानी खुल्ला गरिएपछि त्यहाको अटोमोवाईल क्षेत्रमा समेत बढ्दो बैदेसिक लगानीको परिणामस्वरूप नै भारत र चीनमा अटोमोवाईल बस्तुहरूको उत्पादनमा पनि तिब्रता आएको छ ।

    लका वर्षहरूमा भारतिय उत्पादनका अटोमोवाइल वस्तुहरूको आयातमा बृद्धि भए संगै चिनमा निर्मित विद्युतिय सवारी साधनहरूको आयात पनि क्रमशः बढदै गएको छ । दुई दशककोे अवधिमा उच्च मूल्यका कारण जापानमा निर्मित यातायातका साधनहरूको आयातमा गिरावट आएको देखिए पनि आकर्षक मोडेल र उपयूक्त मुल्यका कारण मुलतः भारत, चीन तथा कोरियामा निर्मित ८०० सिसि देखि १६०० सिसि सम्मका कार, जिप र भ्यानको आयातमा वृद्धि हुदै आएकोे छ । ढुवानीका साधनहरूको हकमा भने झण्डै सतप्रतिशत नै भारतबाट आयात गर्नू पर्ने अवस्था छ ।

     हालका वर्षहरूमा नेपालको वित्तिय क्षेत्रले अटोमोवाईलको क्षेत्रमा समेत सहुलियत दरमा ऋण प्रवाह गर्न थालेपछि मध्यम र निम्न वर्गका लागि समेत सवारी साधन खरिद गर्नु सामान्य भईसकेको छ । भारतमा जापानी र युरोपेली कम्पनीका गाडिहरू समेतको उत्पादन हुन थाले पछि सोझै जापानी तथा युरोपियन गाडिहरूको आयात पनि क्रमशः घटन थालेको छ । 

    तुलनात्मक रूपले हेर्दा बागमती प्रदेशमा नीजि प्रयोजनका यातायातका साधनहरू-कार जीप भ्यान र मोटरसाइकलको सख्या अधिक रहेको देखिन्छ भने अन्य प्रदेशहरूमा त्यसको विपरित सार्वजनिक प्रयोजनका यातायातका साधनहरू र निर्माण कार्यमा प्रयुक्त साधनहरूको सख्या अधिक रहेको स्पष्ट देखिन्छ । नेपालमा वार्षिक रूपमा दर्ता हुने यातायातका साधनहरूमा झण्डै ३६ प्रतिशत बागमती प्रदेशमा मात्र दर्ता हुने गर्दथ्यो तर हालका बर्षहरूमा वागमति प्रदेशको सवोच्चता क्रमशः घटदै गएको देखिन्छ । यद्यपी अधिक जनसंख्याको कारणवाट मात्र होईन सेवा लगायत बन्द व्यवसाय र उद्योग धन्दाहरूको अत्यधिक केन्द्रिकरणका कारण उपत्यकामा यातायातका साधनहरूको चाँप बढदै गएकोे देखिन्छ । 

    आजको विश्वमा यातायातका साधन र सडकलाई आर्थिक र सामाजिक गतिशिलताको द्यौतक मानिन्छ । दुई विशाल छिमेकी मुलुकहरूको तुलनामा एउटा चारपागे्र सवारी साधन खरिद गर्दा झण्डै पाँच गुणा र एउटा मोटरसाइकल खरिद गर्दा तीन गुणा बढी मूल्य तिर्न नेपालीहरू वाध्य भएका छन् । तथ्य र तथ्याङ्कलाई दृष्ट्रिगतगर्दा अहिले कूल सवारी साधनहरू मध्ये ७५ प्रतिशत मोटरसाइकल÷स्कुटर मात्र रहेको छ । आर्थिक बर्ष २०७९÷८० को तथ्याङ्क अनुसार अहिले मुलुकमा कूल ६६ लाख ६० हजार ८४१ घरपरिवारमध्ये ३.०८ प्रतिशतमा मात्र कार÷जीप÷भ्यान रहेको छ । यो अनुपात अन्य दक्षिण एशियाली राष्ट्रहरूको तुलनामा पनि ज्यादै कम हो ।

    प्रदेशगत रूपमा हेर्दा सवैभन्दा बढी बागमती प्रदेशमा ६.३७ प्रतिशतमा कार/जीप/भ्यान रहेको देखिन्छ । यस अनुसार कोशिमा २.१८, मधेशमा १.४४, गण्डकीमा ३.६४, कर्णालीमा ०.८३, र सुदूर पश्चिममा १.१३ प्रतिशत परिवारमा कार÷जीप÷भ्यान रहेको देखिन्छ । त्यसैगरी नेपालको कूल घरपरिवार मध्ये २७.२७ प्रतिशतमा मोटरसाइकल÷स्कुटर रहेको देखिन्छ । प्रदेशगत रूपमा हेर्दा बागमतीमा सवैभन्दा बढी ३५.७६, कोशिमा २४.७७ मधेसमा ३४.१२, गण्डकीमा ३४.२० लुम्बिनीमा २५.५३, कर्णालीमा ६.६९ र सुदूर पश्चिममा १५.५९ प्रतिशत घर परिवारमा मोटरसाइकल रहेको देखिन्छ ।
    राजश्व तथा रोजगारीको सम्बाहकको रूपमा नेपालको अटोमोवाइल क्षेत्र

    पाँच बर्ष अघिसम्म नेपालको अटोमोवाइल क्षेत्र राज्यलाई सर्वाधिक राजश्व प्राप्त हुने क्षेत्र हुदै आएको थियो । यद्यपी अझै पनि नेपालमा गरिने व्यवसायहरू मध्ये सवैभन्दा बढी पारदर्शिता कायम भएको व्यवसाय पनि यही हो । पुँजी निर्माणमा अटो क्षेत्रले महत्वपुर्ण भुमिका निर्वाह गर्दे आएको छ । पेट्रोलीयम पदार्थ सबैभन्दा बढी उपभोग यहि क्षेत्रले गर्ने हो । नेपालको अटोमोबाइल क्षेत्रले देशको भन्सार राजस्वमा २१ प्रतिशतको योगदान दिएको छ । त्यसैगरी प्रत्यक्ष रूपमा १ लाख र अप्रत्यक्ष रूपमा १० लाख नागरिकलाई रोजगारी समेत प्रदान गरेको छ ।

    नेपालको बिज्ञापन बजारमा लगभग चालिस प्रतिशत हिस्सा अटोमोबाइल क्षेत्रले लिएको छ भने निर्जिबन विमामा पनि यस क्षेत्रले ५० प्रतिशत योगदान दिएको छ । त्यसैगरी नेपालको अटोमोवाइल क्षेत्रमा अहिले १ खर्व भन्दा बढीको लगानी रहेको छ । हाम्रो जस्तो देशमा सवारी तथा ढुवानीका लागि एक मात्र विकल्पको रूपमा अटोमोबाइलका साधनहरू नै रहेकोमा कुनै सन्देह छैन । बर्तमान विश्व परिवेशमा अटोमोबाइलका साधनहरू नभई नहुने अत्यावश्यक साधन भई सकेको भए पनि सरकारले अझै पनि अटोमोवाइलका साधनहरूलाई विलासीताका बस्तुहरूमा बर्गिकरण गरी सोही अनुरूप नीतिहरूको निर्माण गर्दे आएको छ । 

    बर्तमान विश्व परिबेशमा सवारी साधनहरू अत्यावश्यक बस्तुमा परिणत भएका छन्, सिद्धान्ततः नेपाल सरकारले यस तथ्यलाई स्वीकार गरेको भएपनि व्यवहारतः सवारी साधनहरूलाई चुरोट, विडी र रक्सीको समूहमा राखि सोहि अनुरूप कर निर्धारण गरेको छ । नेपालमा सार्क क्षेत्रकै तुलनामा सवैभन्दा उच्च दरको कर लाग्दै आएको छ । एउटा नेपाली नागरिकले सामान्यतया एउटा कार÷जीप÷भ्यान खरिद गर्दा उसले ब्राण्ड र सिसिको आधारमा ३५१.४८ प्रतिशतदेखि ४५८.६७ प्रतिशतसम्म महशुल बुझाउनु पर्ने हुन्छ ।

    उच्च महशुल दरका कारण सवारी साधनहरू विलाशी बस्तुमा परिणत भएका छन् । यसरी सवारी साधनहरूलाई विलासी बस्तुहरूको बर्गिकरणबाट बाहिर नल्याएसम्म सवारी साधनमा सर्बसाधारणको पहुँच पुग्न सक्दैन । त्यसमा पहुँच नपुग्नु भनेको उनिहरूको अर्थिक हैसियत माथी उठ्न नसक्नु हुन्छ । तुलनात्मक रूपले हेर्दा आ.व.२०४६/४७ मा नेपाल अधिराज्यमा कूल ७६३७८ वटा मात्र यातायातका साधनहरू थिए । आ.व.२०७९/८० सम्म आइपुग्दा नेपालमा ४० लाख भन्दा बढी यातायातका साधनहरू भएको देखिन्छ । नेपालमा थपिदो साधनहरूसंगै यसको चुनौतिहरू पनि थपिदै गएको छ ।

    छिमेकी मुलुकहरू विश्व अटोमोवाइल हवको रूपमा विकसित हुंदै 

    नेपाल आज विश्वको अटोमोवाइल हव मानिने चीन र भारत जस्ता मुलुकहरूबाट घेरिएको छ । हाम्रो छिमेकी मुलुक चीन विश्वमा सवारी साधनहरूको उत्पादन र विक्रीमा पहिलो मुलुक बनिसकेको छ । त्यसैगरी कार जीप र भ्यान जस्ता सवारी साधनहरूको निर्यातमा पनि पहिलो राष्ट्र बन्दै विद्युतिय सवारी साधनहरूको प्रविधि, उत्पादन र विक्रीमा विश्वलाई नै नेतृत्व गरिरहेको अवस्था छ । त्यसैगरी हाम्रो अर्को छिमेकी मुलुक भारत हालका बर्षहरूमा जर्मनी र अमेरिका जस्ता विश्वका विकसित र औद्योगिक मुलुकहरूलाई समेत पछि पार्दै विश्वको तेश्रो ठूलो अटोमोवाइल उत्पादक र विक्रेता राष्ट्र बन्न पुगेको छ । आर्थिक बर्ष २०२२—२३ को तथ्याङ्क अनुसार भारतमा कूल २९ लाख कार उत्पादन भएको छ । भारतले सन् २०३० सम्म ३ करोड विद्युतिय सवारी साधनहरू उत्पादन गर्ने अपेक्षा राखेको छ ।

    भारत यतिबेला विश्व कै पहिलो ट्रयाक्टर उत्पादक देश हो भने दोश्रो ठूलो बस उत्पादक, र तेश्रो ठूलो हेभी ट्रक उत्पादक देश पनि हो । अहिले भारतको अटोमोवाइल क्षेत्रको देशको कूल गार्हस्थ उत्पादनमा ७.१ प्रतिशतको योगदान दिएको छ । त्यसैगरी भारतको अटोमोवाइल क्षेत्रले आफना २ करोड नागरिकलाई रोजगारी समेत दिएको छ । यी कुराहरू नेपालको समग्र अटोमोवाइल क्षेत्रका लागि नै प्रासंगिक विषय हो । यसरी हाम्रा दुई छिमेकी मुलुकहरू दिन प्रतिदिन सवारी तथा ढुवानीका साधनहरूको उत्पादन, विक्री र निर्यातमा तिब्र गतिले अघि बढीरहदा त्यसको ठीक विपरित नेपालको अटोमोवाइल व्यवसाय भने सुस्ताउदै गएको अवस्था छ । नेपालको अटोमोवाइल व्यवसायमा यस्तो अवस्था कसरी आयो भन्नेतर्फ मनन गर्दे अटोमोवाइल व्यवसायलाई थप गतिशिल बनाउने नीति र कार्यक्रम ल्याउनेतर्फ सरकारले आवश्यक पहल गर्नु पर्ने देखिन्छ । 

    नेपालमा विद्युतिय सवारी साधनहरूको आयात

    सरकारले विद्युतिय सवारी साधनहरूको आयातलाई प्राथमिकता दिई सोही अनुरूप महशुलहरूमा केही छुट दिएको कारण नेपालमा विद्युतिय सवारी साधनहरूको आयात पनि बढदै गएको छ । नेपालमा आयात हुने विद्युतिय सवारी साधनहरू मध्ये ६२ प्रतिशत चीनबाट मात्र आयात हुने गरेको र आयात हुने अधिकांश साधनहरू ५१ देखि ११० किलोवाटका हुने गरेको छ ।

    नेपालमा विद्युतिय सवारी साधनहरूको आयातमा बृद्धि भईरहेको देखिए पनि पेट्रोलियम पदार्थबाट चल्ने साधनहरूको आयातमा भने त्यसरी बृद्धि हुन सकेको छैन, पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको व्यवसायमा ठूलो लगानी भएको र यसले धेरै रोजगारी समेत सृजना गरिरहेको, देशको पर्यटन विकास र उत्पादनमा यसले ठूलो योगदान दिने भएकोले पेट्रोलियम पदार्थबाट चल्ने सवारी तथा ढुवानीका साधनहरूको आयातलाई निरूत्साहन गर्ने सरकारको बर्तमान नीति उपयुक्त नभएकोले पेट्रोलियम पदार्थबाट चल्ने सवारी तथा ढुवानीका साधनहरूलाई पनि सरकारले प्राथमिकता दिनु पर्ने देखिन्छ ।    

    नेपाललाई अवसर र चुनौती

    यी दुई मुलुकहरूको विचमा पर्ने नेपालले त्यसबाट प्राप्त हुने अबसरहरूलाई सदुपयोग गर्न विद्यमान अवरोधात्मक नीतिहरूलाई परिमार्जन गर्दै अटोमोवाइल उद्योग र व्यवसायलाई थप प्रोत्साहित गर्नु पर्ने देखिन्छ । यसका लागि सरकारले नेपालमा अटोमोवाइल स्पेयर पार्टस र एसेसरिज, व्याट्री, लुव्रिकृण्टस र टायर लगायतका उद्योगहरू स्थापनागरी ती उद्योगहरूबाट उत्पादित अटोमोवाइल बस्तुहरूलाई हाम्रा दुई छिमेकी मुलुकहरूमा निर्यातगरी त्यसबाट प्रशस्त लाभ लिन सकिने अवस्था सिर्जना हुनसक्ने देखिन्छ । यसका लागि सरकारले अटोमोवाइल उद्योग र व्यवसायका लागि अनुकुल र स्थायी प्रकृतिको नीति अवलम्बन गर्न जरूरी छ । विश्वको अटोमोवाइल बजार हाल झण्डै ४ ट्रिलियन यु.यस डलर पुगेको सन्दर्भमा हामीले त्यसबाट एउटा सानो मात्र अंश लिन सक्यौ भने मात्र पनि नेपालीहरू समृद्धिको बाटोमा जानसक्ने देखिन्छ ।

    (लेखक प्रधान नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका एशोसिएसन सचिव हुन् ।) 

     

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार