काठमाडौँ / सोमबार सेयर बजार परिसूचक नेप्से ३०.५२ अङ्कले बृद्धि भएको छ । लगातार घटेको बजार आज भने १.१६ प्रतिशतले बढेर २६४५.२० बिन्दुमा उक्लिएको हो । आइतबार उच्च गिरावट आएको बजार सोमबार बढ्दा २१० कम्पनीको सेयर मूल्य बृद्धि भएको छ भने ३३ कम्पनीको घटेको छ ।
नेप्से बढे पनि आज कारोबार रकम भने घटेको छ । अघिल्लो कारोबार दिन आइतबार ६ अर्ब रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको बजारमा आज भने ४ अर्ब ४८ करोड ३५ लाख ९९ हजार रुपैयाँको मात्रै सेयर किनबेच भएको छ । त्यस्तै, आज ९७ लाख ३९ हजार ७३८ कित्ता सेयर ५८ हजार २३५ पटकमा खरिद बिक्री भएको छ । बजार पुँजीकरण रकमसमेत बढेर आज ४४ खर्ब ८३ अर्बमा उक्लिएको छ ।
वित्तमा आकर्षण
आइतबार अधिकांश सेक्टरको परिसूचकमा पहिरो गएकोमा सोमबार भने सबैमा हरियाली छाएको देखिन्छ । जसमध्ये वित्त समूहको परिसूचकमा लगानीकर्ताहरू झुम्मिएका छन् । वित्त समूहको परिसूचक सर्वाधिक बढी ३.७५ प्रतिशतले बढेको छ भने होटल तथा पर्यटन समूहको १.१६ प्रतिशत, हाइड्रोपावर १ प्रतिशत, जीवन बिमा १.६४ प्रतिशत, अन्य १.९१ प्रतिशत र व्यापार समूह १.५५ प्रतिशतले बढेको छ ।
यसैगरी, बैंकिङ उपसमूह ०.९२ प्रतिशत, विकास बैंक ०.७८ प्रतिशत, लगानी ०.९५ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.८० प्रतिशत, लघुवित्त ०.९० प्रतिशत, म्युचअल फण्ड ०.४९ प्रतिशत र निर्जीबन बिमा ०.६१ प्रतिशतले बढेको छ ।
सोमबार सबैभन्दा बढी गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्य बृद्धि भएको देखिन्छ । यो कम्पनीको मूल्य ९.२९ प्रतिशतले बढेर प्रतिकित्ता २२६१ रुपैयाँ कायम भएको छ । यसैगरी, पोखरा फाइनान्सको सेयर मूल्य ७.४७ प्रतिशतले बढेर प्रतिकित्ता ४३८ रुपैयाँ, समृद्धि फाइनान्सको ६.३० प्रतिशतले बढेर ५३९.९० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, उपर हेवाखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य सर्वाधिक बढी ४.९२ प्रतिशतले घटेर प्रतिकित्ता ८ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य ४.०५ प्रतिशतले घटेर प्रतिकित्ता १९१५ रुपैयाँ कायम भएको छ ।
सोमबारको कारोबार रकममा हिमालयन रिइन्स्योरेन्सको हिस्सा सर्वाधिक बढी रहेको छ । प्रतिकित्ता ९६६ रुपैयाँ सेयर मूल्य कायम भएको यो कम्पनीको आज ३२ करोड ६९ लाख ७७ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको हो ।
यसैगरी, सिइडिबी होल्डिङ्स लिमिटेडको १५ करोड २९ लाख २६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता २२०४ रुपैयाँ छ ।
प्रतिकित्ता १२८० रुपैयाँ सेयर मूल्य कायम भएको नेपाल पुनर्बिमाको १२ करोड ९६ लाख २२ हजार बराबरको सेयर कारोबार भएको छ भने गार्डियन माइक्रो लाइफको १२ करोड ४४ लाख ८३ हजार रुपैयाँ र सिन्धु विकास बैंकको ११ करोड ८५ लाख १३ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।