images
images

वायु गुणस्तर विज्ञ डा.भुपेद्र दासलाई ८ प्रश्न : वायु प्रदूषणको जोखिम कहिलेसम्म रहला ? नियन्त्रण गर्न सरकार सक्षम नभएको हो ?

वायु गुणस्तर विज्ञ डा.भुपेद्र दासलाई ८ प्रश्न : वायु प्रदूषणको जोखिम कहिलेसम्म रहला ? नियन्त्रण गर्न सरकार सक्षम नभएको हो ?

वायु प्रदूषणलाई हट इस्यू मात्र बनाइएको छ । प्रदूषणको विषय बर्षा र हावाहुरी चलेपछि सेलाएर जाने गरेको छ । सरकार पनि यही मानसिकतामा छ ।

मंगलवार, चैत २६ २०८१
मंगलवार, चैत २६ २०८१
  • वायु गुणस्तर विज्ञ डा.भुपेद्र दासलाई ८ प्रश्न : वायु प्रदूषणको जोखिम कहिलेसम्म रहला ? नियन्त्रण गर्न सरकार सक्षम नभएको हो ?
    images
    images
    images
    images

    काठमाडौँ / उपत्यकालगायत देशका विभिन्न शहरहरू पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरू देखिरहेका छन् ।

    साथै, हवाइ उडानहरू प्रभावित हुँदा विश्वमा नेपालप्रति नकरात्मक दृष्टिकोणहरू विकसित भइरहेका छन् । तर वायु प्रदूषण नियन्त्रण सरकारको प्राथमिकतामा नपरेको भनेर आलोचना समेत भइरहेको छ । यसै सिलसिलामा वायु गुणस्तर विज्ञ वा वातावरण सम्बन्धी जानकार डा.भुपेन्द्र दाससँग गरिएको कुराकानीको सम्पादित अंश प्रस्तुत छ:

    १. काठमाडौँ विश्वकै प्रदूषित सहरको पहिलो नम्बरमा परेको तथ्याङ्कहरू आइरहेको छ । खास काठमाडौंँ किन यति प्रदूषित भएको हो ?

    सवारी साधनहरूको चाप पहिलाभन्दा अहिले एकदमै बढेको छ । कलकारखानाहरूको सङ्ख्या बढेको छ । जस्तै इँटा भट्टहरूबाट पनि प्रदूषण बढिरहेको छ । किनकी ईंटा भट्टहरूमा पनि प्रयोग भएको कोइलाहरूको गुणस्तरको कुराले पनि प्रभाव पार्छ । त्यसमा विशेष ध्यान दिनुपर्ने देखिएको छ ।

    हामीले मापन गर्दा सल्फडाइअक्साइड पनि वायु मण्डलमा भेटेको पाइएको छ । सल्फडाइअक्साइड अणु भनेको चाँही कोइलाबाट आउने हो । यसले पनि प्रदूषण बढाउँछ । तर वायु प्रदूषणको सबैभन्दा ठूलो कारण चाँही आगलागी नै हो । खुला रूपमा आगलागी हुँदा धेरै समस्या आउँछ । त्यसमा पनि वन डढेलो, कृषि औजार पगाल्ने जस्ता कार्य व्यापक बढेको छ ।

    अध्ययनले पनि के देखाउँछ भने अप्रिल महिना भनेको चाँही एकदमै धेरै प्रदूषण हुने समय हो । वर्षभरी जतिपनि खुला रूपमा आगलागी हुन्छ त्यसको ५० प्रतिशत प्रदूषण भनेकै अप्रिलमा हुन्छ । त्यसैले यतिबेला नै हामीले न्यूनीकरण गर्नेतिर ध्यान दिनुपर्छ । यो कुरा हामी बारम्बार उठाइरहेका छौँ । हालको अवस्था त्यसकै जोखिममा हो ।

    एयर क्वालिटी इन्डेक्सको गाइडलाइन्स छ नि त्यसको पनि क्रम कुनै कुनै ठाउँमा भइसकेको छ । केही दिन अगाडिदेखि प्रदूषण निकै बढेको थियो । फेरि केही घट्यो । फेरी विस्तारै बढ्दै छ । हरेक बर्ष प्रायः अप्रिलमा चाँही एक महिना जति नै यस्तै रहन्छ । हाम्रो अध्ययनले त्यो पुष्टि गरेको छ । तर अप्रिल सकिने वित्तिकै विस्तारै घटेर जान्छ । 

    २. तपाईंको अध्ययनले कस्तो मापदण्ड र विधि अपनायो भने प्रदूषण कम गर्न सकिने देखिन्छ ?

    न्यूनिकरणको लागि सरकारी पक्षबाट पनि पहल हुनुपर्यो । त्यसका अलवा सर्वसाधारणहरूले पनि आफ्नो तर्फबाट नियन्त्रणमा ध्यान दिनुपर्छ । आगजनी गर्नु हुँदैन् । वन डढेलो लाग्नबाट जोगिनुपर्छ बन्ने सोच हुनुपर्छ । कतिपय ठाउँमा के देखिन्छ भने चुरोटको ठुट्टा फाल्ने, पिकनिकको रमाइलो गरेको ठाउँमा राम्रो घाँस आउँछ भनेर जानी जानी आगो लगाइदिने गरेको पाइन्छ । यसो गर्नु भएन् । गाउँघरतिर यस्ता क्रियाकलापले गर्दा अनियन्त्रित भएर जंगलमा आगलागी भएको विभिन्न घट्नाहरूबाट पुष्टि भइसकेको छ । त्यस्तै कृषि अवशेषहरू पनि व्यापक रूपमा जलाइरहेको पाइन्छ । पश्चिक तराईमा यस्ता कामहरू भइरहेको देख्छौं । काठमाडौँमा बाहिरको प्रदूषण पनि आएर थुप्रेको देखिन्छ । त्यसैले सरकार र सर्वसाधारण यसको न्यूनीकरणको लागि लाग्न आवश्यक छ । 

    ३. सरकारले वर्षेनी योजना बनाउने, नीति बनाउने र बजेट खर्च गर्ने गरिरहेको छ । यो पर्याप्त छ कि छैन ? वायु प्रदूषणको सूचीमा नेपाल पहिलो, दोस्रोमा नम्बर परिरहेको छ । के प्रदूषण न्यूनिकरण सरकारको प्राथमिकतामा नपरेकै हो त ?

    मेरो अनुभवले के भन्छ भने वायु प्रदूषण नेपाल सरकारको प्राथमिकतामा चाँही परेको छैन । यसलाई हट इस्यू मात्र बनाइएको छ । जुनबेला प्रदूषण बढ्छ त्यो बेला मात्र आवाज उठाउने र योजना बनाउने गरेको पाइन्छ  । त्यसपछि बर्षा हुने, हावाहुरी चल्ने अनि इस्यू आफैँ सेलाएर जाने गरेको पाइन्छ । यस्तै खालको मानिकतामा अहिलेपनि बाँचिरहेको छौँ ।

    सम्बन्धित निकाय वा सरकारले पनि त्यही सोही अनुसार काम गरिरहेको छ । यस कुरामा संवेदनशिल बन्न हामीले बारम्बार कुरा उठाइरहेको छौं । यस विषयमा सरकारी निकायहरूले ठूलो भूमिका खेल्नुपर्छ । तर उहाँहरूबाट कुनै ठोस कदम चाल्ने खालको मनसाय देखिएन । विस्तारै कम भएर गइहाल्छ नि भन्ने मानसिकतामा हुनुहुन्छ उहाँहरू । पानी पर्छ, हावाहुरी चल्छ कम भइहाल्छ नि भन्नेमा उहाँहरू हुनुहुन्छ । हामी वातावरणसँग काम गरिरहेकाहरूलाई पनि प्रोत्साहन गरिएको छैन । हामी निरन्तर अध्ययन अनुसन्धान गरिरहेको छौँ ।

    सरकारलाई हामीले प्रमाण पनि दिइरहेको छौँ । अप्रिलभर प्रदूषण हुन्छ भनेर भनिरहेका छौँ । प्रमाण हुँदाहुँदै पनि आफैं सेलाएर जान्छ भन्ने भ्रममा सबैजना देखिन्छन् । तर यो विषय मानव अधिकारसँग पनि जोडिन्छ  भन्नेमा गम्भीर भएको पाइदैन् । सरकारको चित्त बुझदो प्रतिक्रिया पनि आएको छैन् । अरू भनेको उपकरणहरूको पनि कुरा छ, अकस्मात रोकथामका कुराहरू छन् । अकस्मात रोकथामका कुरामा हामी एकदमै पछाडि छौँ । हामीसँग हेलिकप्टर छैन, आगोमा पस्न चाहिने उपकरणहरू छैन । त्यस्तै फायर प्रुफ ड्रेसहरू आवश्यकता पर्छ भन्नेमा सबै चिन्तित छैनौँ । यस्तो अवस्थामा यि सबै चिजहरू राज्यले उपलब्ध गराउनुपर्छ । त्यसैले अकस्मात रोकथामको विषयमाचाँही सरकारको ध्यान जाओस् । 

    ४. त्यसो भए प्रदूषण नियन्त्रणका लागि सरकारी बजेट पनि अपुग भएको हो ?

    बजेटका कुरामा सरकारी निकायबाट पनि ध्यान जानुपर्छ भन्ने हाम्रो आग्रह छ । अर्को कुरा यसलाई सकेसम्म लोकल तहको मुद्दा बनाउनुपर्छ । जतिपनि नगरपालिका र गाँउपालिकाहरू छन् उनीहरूले पनि वन डडेलोलाई नियन्त्रण गन सक्नुपर्छ। खेतहरूमा कृषिउपजहरू जलाउने काम बन्द गराउनुपर्छ, फोहोरहरू जलाउने कामलाई सकेसम्म न्यूनीकरण गर्नका लागि छुट्टै योजना बनाउनुपर्छ । वडाको तहदेखि गाँउपालिका र नगरपालिका हुँदै सबै निकायमा यसलाई विशेष प्राथमिकता दिएर आउनुपर्छ । यसलाई बहसको विषय बनाएर बजेट छुट्टाउने र विकासको ठूलो एजेण्डामा समेट्नुपर्छ । 

    प्रदूषणले गर्दा हाम्रो औसत आयु पनि घटिरहेको छ । यो वैज्ञानिक अध्ययनले पुष्टि गरेको कुरा हो । रोगहरू लाग्नेको संख्या पनि बढेको अस्पतालहरूबाटै पुष्टि हुन्छ । यस्तो विषयलाई मूल्याङ्कन गरेर न्यूनिकरण गर्नुपनि धेरै ठूलो विकास हो । सफा र स्वच्छ वातावरण निर्माण गर्नु जस्तो ठूलो विकास अरु हुन सक्दैँन । हामी स्वस्थ्य रहन सक्यो भने मात्र देश विकासमा अगाडि बढ्न सक्छौँ । 

    वायु प्रदूषणलाई बेवास्ता गर्न मिल्दैन । न्यनीकरणको लागि हामी तयार हुनुपर्छ । सबै एकै ठाँउमा केन्द्रीत भएर एकअर्कासँग समन्वय गरेर संस्थागत रूपमा अगाडि बढ्नुपर्छ । एक अर्कालाई दोष दिएर जिम्मेवारीबाट पन्छिने प्रवृत्ति अहिले देखिरहेको छ । सम्बन्धित निकायसँग कुरा गर्दा हाम्रो विभाग होइन भन्ने अनि अन्त पठाउने खालको कामहरू बढिरहेको छ । यसको जिम्मेवारी कसले लिने भन्ने कुरा केन्द्रीय सरकारले सोच्नुपर्ने कुरा हो । मेरो विचारमा वायु प्रदूषणको बारेमा अध्ययन गर्न एउटा छुट्टै युनिट बनाउनुपर्छ । 

    वायु प्रदूषण पनि एकप्रकारको विपद् नै हो, यसले धेरै जाखिमहरू निम्ताएको छ । नेपालमा अहिले मृत्युदर बढ्दो क्रममा छ । जति जति समय बित्दै जान्छ, जलवायु परिवर्तन हुँदै गइरहेको छ ।

    सोही अनुसार वायु प्रदूषण पनि बढि रहेको छ । यसको न्यूनीकरणका लागि नयाँ प्रविधिहरू प्रयोगमा ल्याउनुपर्छ । घर घरमा सकेसम्म इन्डकशन चुल्हो प्रयोगलाई बढाउनु पर्छ । इलेक्ट्रिक सवारी साधनहरूलाई बढि प्राथमिकता दिनुपर्छ । खनिज इन्धनहरूलाई सकेसम्म कम प्रयोग गर्नुपर्छ र सफा इनर्जीलार्ई प्रयोग गर्नुपर्छ ।

    हामीले कुनै पनि क्रियाकलाप गर्दा वातावरणमैत्री क्रियाकलाप गर्नुपर्छ । त्यो भनेको अनावश्यक रूपमा डिजेल, पेट्रोलको प्रयोग नगर्ने, फोहोरहरू नबाल्ने, कृषिउपज, रूखका पातहरू पनि जलाउने काम बन्द गर्नुपर्छ । सम्बन्धित निकायले यस्तो कुराहरूको बारेमा जानकारी वा सचेतना गराएर फोहोरहरू सङ्कलन गर्न लगाउनुपर्छ ।

    सुख्खा मौसममा वन डडेलोको घटना बढ्न सक्छ । त्यसको लागि वनको नजिक नजिक पोखरीहरू खन्नुपर्छ र पानी जम्मा पार्नुपर्छ । यसको लागि बजेट छुट्टाएर योजना बनाएर अगाडि बढ्नुपर्छ ।

    ५. मानव स्वास्थ्यमा वातावरण प्रदूषणले कस्तो खालको असर गर्छ र के कुरामा बढि ध्यान दिनुपर्छ ?

    वायु प्रदूषणमा पनि थरि थरिका कणहरू हुन्छन । पिएम् २.५ लाई अहिले हेर्दा यसको ठूलो भूमिका छ । यसले रगतमा गएर, मुटुको रोग लगाउने, श्वास प्रणालीबाट गएर फोक्सोमा जम्मा हुने र फोक्सोको जोखिम बढ्न सक्छ । यस्तो धेरै लामो समयसम्म भयो भने फोक्सोको क्यान्सर पनि हुन्छ । सास फेर्न पनि समस्या बनाउँछ । एलर्जी हुने, आँखा पोल्ने साथै रिंगटा लाग्ने समस्या पनि देखिन्छ । 

    यसका साथै यसले हाम्रो सोच्न सक्ने शक्तिमा पनि असर गर्छ । बाँझोपन पनि बढ्दो क्रममा छ । बच्चाहरूलाई एलर्जीहरू पनि बढि देखिन थालेको छ । बच्चाहरूमा दमको रोग पनि देखिएको छ । अझै बाँकी अध्ययनहरू हामी गरिरहेका छौँ । त्यसको नतिजा आएपछि भनौँला ।  
    ६. सवारी साधनहरूको सङ्ख्या पनि एकदमै बढ्दो क्रममा छ । आगलागी र सवारी साधनको धुँवाले प्रदूषण बढेको भनेर तथ्यहरू आइरहेका छन् । तर इँटा भट्टाहरूको कारणले पनि प्रदूषण बढेको हो वा भट्टाहरूको धुँवाले कस्तो असर गर्छ ?

    इँटा भट्टाबाट बढि सल्फÞरअक्साइड निस्किन्छ । किनभने कोइलाहरूमा सल्फÞरको मात्रा बढि हुन्छ । त्यही भएर कोइलाहरूलाई पनि परीक्षण गर्नुपर्छ । नेपाल सरकारले यसलाई पनि ध्यान दिनुपर्छ । कोइला आयात गर्दा त्यसको मापन गर्ने, जाँच गर्ने गर्नु अनिवार्य छ । मापदण्ड अनुसार बाहिरबाट आएको कोइलाहरूको क्रसचेकचाहिँ गर्नुपर्छ । 

    कोइलाहरू इँटाभट्टामा मात्र होइन उद्योगहरूमा पनि प्रशस्त प्रयोग भएको छ । अहिले पनि इँटाभट्टा र वरपरको बस्तीहरूमा हेर्दा खासै फरक छैन् । भक्तपुरमा आफैँले अवलोकन गर्दा इँटा भट्टाबाट एक किलोमिटर भित्र भएका बस्तीहरू थुप्रै छन् । त्यसले पनि मानव स्वास्थ्यमा असर परेको घटना सुनिरहेका छौँ ।

    कुनै ठाउँमा लुगा सुकाउँदा लुगा नै कालो भइदिने जस्ता गुनासाहरू सुनिरहेका छौँ ।
    इँटा भट्टाबाट स्वास्थ्यमा असर पर्ने भनेको एलर्जी हुने, दमको लक्षणहरू देखिने, सास फेर्न गार्हो हुनेजस्ता घटनाहरू देखिने गरेको हाम्रो अध्ययनले नै देखाएको छ । भट्टा नजिकै बस्ती राख्नु राम्रो हुँदैन । यसमा सरकारले सोच्नुपर्ने कुरा हो । कि बस्ती त्यहाँबाट हटाउनुपर्छ या इँटा भट्टा बन्द गर्नुपर्छ या नयाँ प्रविधिमा लैजानुपर्छ । 

    ७. सवारी साधान जोर विजोर गरेर चलाउने, हप्तामा दुई दिन विदा दिने प्रस्ताव पनि आएको छ । यो कत्तिको सान्दर्भिक छ ?

    यस्तो प्रस्ताव कार्यान्वयनमा आए केही राहत त मिल्छ । तर प्रदूषण बाहिरबाट आएको हो । त्यसैले जोर विजोर गर्दैमा तुरून्तै परिणाम आउँदैन ।

    हाम्रो अध्ययनबाट के पुष्टि भएको छ भने बढीजसो कृषिजन्य बस्तुहरू जलाउने, वन डढेलो भइरहेको छ । अप्रिल महिनामा ५० प्रतिशत वायु प्रदूषण खुल्ला आगलागीबाट भइरहेको हुन्छ । सवारी साधनलाई जोर विजोर गर्दा केही कम त हुन्छ तर दिगो समाधान हुँदैन । विशेषगरी आगलागी र वन डढेलो रोक्नुपर्छ । कृषि औषधि जलाउन रोक्नुपर्छ । डिजेल प्रेट्रोलबाट गाडि गुडिरहेका छन् सकेसम्म इलेक्ट्रिफिकेसन तिर लग्नुपर्छ । 

    ८. सरकारले वायु प्रदूषण चाँडै न्यूनीकरण हुन्छ । प्राथमिकतामा राखेर विज्ञहरूसँग छलफल गरेर पहल गरिहेको छौं भन्ने किसिमको दाबी गरिरहेको छ नि ? 

    आफ्नो आफ्नो सोच हुन्छ । सरकारी निकायको आफ्नो सोच होला । हाम्रो एउटा कामना के हो भने सफा, स्वच्छ हावामा बाँच्न पाउँ भने कामना मात्र हो । त्यो कसरी गर्ने उहाँहरूको कुरा हो  । हामीले सल्लाह दिइरहेका छौँ । म सरकारलाई के अनुरोध गर्न चाहन्छु भने आफैँ प्रदूषण घटेर जान्छ भनेर नबसौँ । केही तयारी गरौँ ।

    आवश्यक सामग्री वा यन्त्रहरूको जोहो गरौँ भन्ने हो । जस्तै फायर फाइटिंग, हेलिकप्टर, फायर फाइटिंग ड्रेसहरू, हेल्मेटहरू, जुत्ताहरू, पञ्जाहरू जतिपनि उपकरणहरू हुन्छ त्यतातिर फोकस गरौँ । समुदायमा पुगेर आपतकालिन तालीम दिने, स्थानीय वा बढी जोखिममा रहेकाहरू समुदायलाई तालिम दिने काम गर्न जरुरी छ । तर, प्रदूषण आफैँ हराएर जान्छ भन्ने होइन । यहाँ कति मानिसको ज्यानको जोखिम परिरहेको छ । त्यसैले कडा भन्दा कडा एक्सन लिनुपर्छ । कन्ट्रोलतिर जानुपर्छ । फिल्डमा पुग्नुपर्छ । काठमाडौँमा बसेर यसको समाधान हुँदैन ।   

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com