काठमाडौँ / शुक्रबार एकै दिन सुनको भाउ तोलामा ३ हजार ९ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार तोलामा १ लाख ७५ हजार ४ सय रुपैयाँ रहेकोमा बिहीबार बढेर १ लाख ८१ हजार १ सय रुपैयाँ पुगेको थियो । बिहीबार एकैपटक ५ हजार ७ सय रुपैयाँले बढेर नयाँ कीर्तिमान बनाएको थियो । शुक्रबार पनि ३ हजार ९ सय रुपैयाँले बढेको सुनको भाउले यसअघिको मूल्यलाई ब्रेक गरेको छ ।
आज नेपाली बजारमा छापावाल सुनको भाउ तोलामा १ लाख ८५ हजार रुपैयाँ पुगेको छ । जुन हालसम्मकै उच्च हो ।
किन बढिरहेको सुनको भाउ ?
अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि नेपाली बजारमा पनि सुनको भाउमा उच्च बृद्धि भइरहेको छ । विश्व बजारमा शुक्रबार सुनको भाउ पहिलो पटक प्रतिऔँस ३ हजार २०० डलरमाथि उक्लिएको छ ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी सामानमाथि अतिरिक्त भन्सार महसुल लगाउने घोषणा गरेका छन् । जसको बदलामा अन्य देशहरूले पनि अमेरिकी सामानमा अतिरिक्त कर लगाउने चेतावनी दिइरहेका छन् । यसले व्यापार युद्ध निम्तिने भयले लगानीकर्ताहरू सुनतर्फ आकर्षित भएका छन् ।
लगानीकर्ताहरूले सुनको माग बढाएपछि सुनको भाउ अन्तर्राष्ट्रिय बजारमै उच्च भएको हो । अमेरिकाले लगाएका कर र व्यापार युद्धको चिन्ताले लगानीकर्ताहरूले सुरक्षित लगानीको लागि सुन रोज्दा मूल्यमा नयाँ रेकर्ड बनिरहेको छ ।
केन्द्रीय बैंकहरूले आर्थिक मन्दि र बजारमा सङ्कट देखिएमा मौज्दात बृद्धि गर्न सुन नै किनेर राख्ने गर्छन् । जसले गर्दा बजारमा सुनको माग उच्च हुने गर्छ । अहिले विश्व बजारले नै सुस्त रूपमा चलिरहेको समयमा विभिन्न देशबिच करलाई लिएर बढ्दो विवादले सुनको मूल्य प्रभावित भएको हो ।
चाँदीको मूल्य भने आज सामान्य बढेको छ । यसअघि तोलामा १ हजार ९ सय रुपैयाँ रहेको चाँदीको भाउ आज १ हजार ९०५ रुपैयाँ पुगेको हो ।