काठमाडौं / पछिल्लो समय गाउँदेखि शहरसम्म मोही सेवन गर्ने प्रचलन बढ्दै गएको छ । होटल रेष्टुराँहरुका मेनुमा पेय पदार्थको रुपमा मोही राख्न थालिसकेको छ ।
मोही स्वादिलो पोसिलो त छदैछ । स्वास्थ्यका दृष्टिले समेत उत्कृष्ट भएकोले अन्य पेय पदार्थभन्दा बढि स्वस्थकर छन् । स्वदेशी उत्पादनको प्रवद्र्धन हुने बाह्य केमिकलयुक्त हानीकारक पेय पदार्थभन्दा स्वस्थकर भएपछि उपभोक्तासमेत बढ्दै गएको छ ।
हरेक वर्ष जस्तै यो वर्ष पनि नेपाल डेरी एसोसिएसनको पहलमा राष्ट्रिय मोही दिवस तथा मोही सेवन अभियान– २०८१ को भव्य सुरुवात आज काठमाडौंको नयाँ बानेश्वरस्थित अलकोभ होटलमा भएको छ ।
कार्यक्रममा सम्बोधन गर्ने सबै वक्ताहरूले ‘मोही अभियान’ हामी सबैको साझा अभियान भएको भन्दै स्वदेशी उत्पादनको प्रवर्द्धनलाई राष्ट्रिय कर्तव्यको रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिए। बक्ताहरुले मोही कोक पेप्सी जस्ता पेयपदार्थ भन्दा धेरै स्वस्थ र सस्तो छ, प्रयोग गर्न जोड दिए ।
प्रमुख अतिथि सचिव मिश्रले मोही अभियान सुरु गरेकोमा अध्यक्ष प्रल्हाद दाहालको प्रशंसा गर्दै खादा ओढाई सम्मान समेत गरे ।
कार्यकारी निर्देशक यादवले नेपाल डेरी एसोसिएसन सधैं फरक ढंगले कार्यक्रम गर्दै आएको उल्लेख गर्दै, यस्ता अभियानले दुग्ध क्षेत्रको विकासमा महत्वपूर्ण टेवा पुग्ने बताए ।
कार्यक्रममा सिडिक्यानका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद सापकोटाले किसानका तर्फबाट मोही अभियानको प्रशंसा गर्दै राज्यले यस्तो प्रयासलाई सम्मान गर्नु पर्ने धारणा राखे ।
मोही अभियानको इतिहास र उपलब्धि
नेपाल डेरी एसोसिएसनले विगत दुई वर्षदेखि विद्यालय, अस्पताल, आश्रम लगायत सामाजिक संस्थाहरूमा निस्शुल्क मोही वितरण गर्दै आएको छ।
काठमाडौं दरबारमार्गस्थित ओरियन्ट क्याफेमा प्रत्येक शनिबार ठेकीमा तुल्याइएको मोही निःशुल्क वितरण गरिंदै आएको छ।
हालसम्म ८५ हप्तामा २५ हजार लिटर मोही झन्डै २ लाख जनाले सेवन गरिसकेको तथ्यांक छ, जुन एसोसिएसनको व्यवस्थापनमा सञ्चालित छ।
मोहीको व्यापक प्रचार–प्रसार र नियमित सेवन अभियानका कारण मोही अब गाउँघरमा मात्र सीमित नरही, शहर बजारमा समेत लोकप्रिय पेय बनेको छ। विभिन्न मेला, भोज, विवाह लगायत सार्वजनिक कार्यक्रममा मोही राख्ने चलन बढ्दै गएको छ।
बजार व्यवस्थापन र ब्रान्डिङ
देशभर हाल करिब २५ हजार लिटर प्याकेजिङ गरिएको मोही दैनिक खपत भइरहेको छ ।
झण्डै १ लाख लिटर मोही अनौपचारिक रूपमा खपत हुने गरेको छ। कास्कीको बजगाईं डेरी उद्योगले “सञ्जीवनी ब्रान्ड”मा र पाटन औद्योगिक क्षेत्रको नवप्रभात डेरी उद्योगले “प्रभात मोही” नाममा मोही बजारमा ल्याएका थिए।
मोही स्वास्थ्य लाभ र वैज्ञानिक मान्यता
मोही तातो मौसममा शरीरलाई शितल बनाउने, हाइड्रेटेड राख्ने र पाचन प्रणालीलाई सबल बनाउने गुणयुक्त पेय हो।
मोहीमा पाइने प्रोबायोटिक तत्वहरूले पाचन सुधार गर्ने, डिहाइड्रेसन रोक्ने, एसिडिटी घटाउने र रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने विज्ञानले प्रमाणित गरेको छ ।
मोही कम क्यालोरीयुक्त पेय भएकाले तौल घटाउने प्रयत्नमा रहेका व्यक्तिका लागि विशेष उपयुक्त मानिन्छ।
ल्याक्टोज इन्टोलरेन्स भएका व्यक्तिहरूका लागि पनि मोही सजिलै पच्ने पेय भएकोले राम्रो विकल्प हो।
आगामी दिनमा मोहीको अझ व्यापक प्रचार, प्याकेजिङ, ब्रान्डिङ गर्नुपर्ने देखिन्छ ।
यस वर्ष “नियमित मोही सेवन, स्वस्थ र फुर्तिलो जीवन” भन्ने नारासहित मनाइएको राष्ट्रिय मोही दिवसले नेपाली मौलिकता, परम्परा र स्वास्थ्यप्रतिको सचेतनालाई सशक्त रूपमा उजागर गरेको छ।
कार्यक्रमका समापनमा नेपाल डेरी एसोसिएसनका अध्यक्ष एवं मोही अभियानता प्रल्हाद दाहालले सबै पत्रकार, डेरी व्यवसायी, सरोकारवालाहरू र शुभेच्छुकलाई धन्यवाद दिँदै मोही अभियानको सफलताप्रति खुशी व्यक्त गरे ।
पशु सेवा विभाग तथा राष्ट्रिय दुग्ध विकास बोर्डको सहकार्यमा आयोजित उक्त कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्र प्रमुख अतिथिको रूपमा सहभागी हुनु भएको थियो भने राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा। राजेन्द्रप्रसाद यादव विशेष अतिथिको रूपमा उपस्थित थिए ।
कार्यक्रममा दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड, कृषि उद्यम केन्द्र, नेपाल कृषि तथा पशुपन्छि व्यवसाय संघ, केन्द्रीय पशुपन्छी मत्स्य सहकारी संघ लिमिटेड, कृषि पत्रकारहरूको संस्था ‘अनाज’ तथा रोटरी क्लब अफ कपनका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।