काठमाडौँ / भर्गो एग्रो इन्डस्ट्रिज प्रालिले उत्पादन गरेको चामलको काठमाडौँको कलंकीमा सञ्चालनमा आएको छ । ‘आफ्नै उत्पादन, आफ्नै बजार, समृद्ध किसान, समृद्ध राष्ट्र’ भन्ने मूल नारासहित स्थापित कम्पनीले पहिलो बिक्री केन्द्र सञ्चालनमा ल्याएको हो । बुधबार एक विशेष समारोह आयोजना गरी उक्त केन्द्र उदघाटन गरिएको हो ।
भर्गो एग्रो इन्डस्ट्रिज घामखेती गुरु कम्पनी लिमिटेड र सौर्य कृषि कम्पनी लिमिटेडबाट प्रवर्तित संयुक्त लगानीको कृषि उद्योग हो, जसले कृषि उपजलाई स्थानीय उत्पादन र प्रशोधन प्रणालीमार्फत बजारमा पुर्याउने लक्ष्य लिएको छ।
“अब देशको दिगो विकास र समृद्धिको मेरुदण्ड उन्नत कृषि बन्नुपर्ने समय आएको छ,” कम्पनीका कार्यकारी अध्यक्ष गुरुप्रसाद न्यौपानेले भने, ‘कृषिमा आधुनिकीकरण र उद्यमशीलता जोडिएर मात्र किसान समृद्ध बन्न सक्छन् । र देश पनि आत्मनिर्भर बन्न सक्छ ।”
उद्घाटन कार्यक्रममा उनले ऊर्जा र कृषि क्षेत्रसँग प्रत्यक्ष रूपमा जोडिएका यस्ता उद्योगलाई निरन्तर अघि बढाउने आफनो प्रतिबद्धतासमेत व्यक्त गरे ।
लामो समयदेखि आफू नेपालको ऊर्जा क्षेत्रमा जोडिएको र अब कृषि क्षेत्रमा पनि नयाँ जोस-जाँगरसाथ काम गर्ने उनको भनाइ छ।
“अबको युग कृषिको हो, यसैमार्फत मुलुकलाई समृद्धितिर लैजान सकिन्छ । किसानको उत्पादनलाई सीधै उपभोक्तामाझ गदान पुर्याउन हामी पुलको काम गर्छौं,” उनले भने, “यसले किसानले आफनो उत्पादनको मूल्य पाउँछन्, उपभोक्ताले सहुलियतमा सामान पाउँछन् ।”
कम्पनीको उद्योग स्थल नवलपुरको गैडाकोट नगरपालिका–१४, अमरापुरीमा अवस्थित छ, जहाँ अत्याधुनिक जापानी प्रविधियुक्त चामल प्रशोधन मेसिन प्रयोग गरी चामल उत्पादन हुँदै आएको छ । हाल कम्पनीले उत्पादन गरेको गुणस्तरीय चामल ‘मनास्लु’ ब्रान्डमार्फत बजारमा उपलब्ध गराइएको छ ।
आफूहरुले केवल उत्पादन र बिक्रीमा मात्रै होइन, किसानको प्रत्यक्ष हितमा जोड दिने योजनासमेत अघि सारेको कम्पनीका प्रबन्ध निर्देशक मुकेश बाबु कार्कीले जनाए ।
“चाँडै नै किसानसँग प्रत्यक्ष सम्बन्ध राख्ने, उनीहरूका उत्पादन क्षमता वृद्धि गर्ने, सीप विकास गर्ने र बजारमा पहुँच सुनिश्चित गर्ने विभिन्न कार्यक्रम सार्वजनिक गर्दै जानेछौँ,” उनले भने ।
उद्घाटन समारोहमा विभिन्न सहकारी संस्था, कृषक समूह, व्यावसायिक संघसंस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीको उल्लेख्य उपस्थिति थियो ।
भर्गो एग्रो इन्डस्ट्रिज प्रालिको यो पहलले स्वदेशी उत्पादनको प्रवर्द्धन र स्थानीय किसानको आयस्तर वृद्धिमा योगदान गदान पुर्याउने विश्वास गरिएको छ ।
कम्पनीले निकट भविष्यमा देशभरका प्रमुख सहरमा पनि यस्तै बिक्री केन्द्र स्थापना गर्ने योजना अघि सारेको छ ।