चौधरी ग्रुपले सुरु गर्यो नानो युरियाको बिक्री, सहजै नेपाली बजारमा पाउन सकिने

चौधरी ग्रुपले सुरु गर्यो नानो युरियाको बिक्री, सहजै नेपाली बजारमा पाउन सकिने

अर्थ डबली
आइतवार, कार्तिक २७ २०७९
अर्थ डबली
आइतवार, कार्तिक २७ २०७९ (अर्काइभ बाट)
  • चौधरी ग्रुपले सुरु गर्यो नानो युरियाको बिक्री, सहजै नेपाली बजारमा पाउन सकिने

    काठमाडौँ / चौधरी समूह अन्तर्गतको सिजी एग्रोले नानो युरिया बजारमा ल्याएको छ। भारतीय कम्पनीले उत्पादन गरेको सिजी–इफ्को ब्रान्डको नानो युरिया नेपाली बजारमा ल्याएको हो।  

    images
    images

    उक्त ब्राण्डको तरल (झोल) मल भारतीय सहकारी इन्डियन फार्मर फर्टिलाइजर कोअपरेटिभले उत्पादन गरेको हो। अबदेखि तरल नानो युरिया सहजै नेपाली बजारमा पाउने चौधरी समूहका प्रबन्धक निर्वाण चौधरीले जानकारी दिए। 

    उक्त मलले कृषि उत्पादन बढाउन, माटोको गुणस्तर सुधार्न, वातावरण प्रदूषण रोक्न, किसानको आम्दानी बढाउन र लागत घटाउन सहयोग पुग्ने उनको भनाइ छ। नानो युरिया तरल अन्नबाली, दाल, तरकारी, चिया, उखु, फलफूल, औषधीलगायात अन्य सबै बाली तथा बोटबिरूवामा छर्कन सकिन्छ। 

    नानो प्रविधिबाट निर्मित मलले परम्परागत रासायनिक मलको मात्रा घटाउँछ। नानो प्रविधिमा आधारित नानो युरिया सुक्ष्म तरल मल हो। 

    यसले विरुवाको उचित वृद्धि र विकासका लागि आवश्यक पर्ने प्रमुख पोषकतत्व नाइट्रोजन प्रदान गर्दछ। नानो युरियालाई पातबाट छर्कने गरिन्छ।

    परम्परागत दानादार युरियालाई माटोमा छर्ने गरिन्छ भने तरल नानो युरिया पानीमा मिसाएर बिरुवाको पातमा छर्कने गरिन्छ। झण्डै २–४ मिलिलिटर नानो युरियालाई एक लिटर पानीमा मिसाएर छर्नु पर्दछ।

    बिरुवाको वृद्धि हुने महत्वपूर्ण चरणहरूमा मल छर्किएपछि बिरुवाका कोषहरूद्वारा चाडै सोस्ने गर्दछ। नानो युरिया साना कोषबाट अवशोषित हुने हुँदा दानादार युरियाभन्दा निकै प्रभावकारी मानिन्छ। 

    नानो युरिया वातावरणमैत्री, परम्परागत युरियाभन्दा सस्तो, स्वास्थ्य वातावरण, माटोको गुणस्तर र बढी उत्पादनका लागि उपयुक्त हुनुका साथै यसको प्रयोगले माटो, हावा र पानीमा नकारात्मक प्रभाव नपर्ने कम्पनीले बताएको छ। 

    कम्पनीका अनुसार एक बोरा (५० किलो) परम्परागत युरिया ५ सय मिलिलिटर नानो युरिया बराबर हुन्छ। एक लिटर सफा पानीमा दुईदेखि चार मिलिलिटर नानो युरिया झोल मल मिसाएर बालीको पातमा छर्कन सकिन्छ।

    साताको लोकप्रीय