images
images

तनहुँमा पहिलो वर्ष १८ लाखको अङ्गुर उत्पादन, साढे एक करोडको लगानी

तनहुँमा पहिलो वर्ष १८ लाखको अङ्गुर उत्पादन, साढे एक करोडको लगानी

बिहिवार, भदौ ७ २०८०
बिहिवार, भदौ ७ २०८०
  • तनहुँमा पहिलो वर्ष १८ लाखको अङ्गुर उत्पादन, साढे एक करोडको लगानी
    images
    images

    तनहुँ / तनहुँको घिरिङ गाउँपालिका-४ स्थित बाह्रबिसेमा १८ लाख मूल्यबराबारको अंगुर उत्पादन भएको छ । खेती सुरु गरेको पहिलो वर्षमै उद्यमी कुमार कार्कीले सो मूल्यबराबारको अंगुर उत्पादन गरेका हुन् ।

    गत वर्ष उनले ७० रोपनी जग्गा खरिद गरेर व्यावसायिक अंगुरखेती थालेका थिए । ‘भाइन यार्ड एन्ड रिसर्च सेन्टर’ फार्म स्थापना गरी सुरुमा एक करोड ५० लाख लगानी गरेको सञ्चालक कार्कीले जानकारी दिए ।

    ‘नौ हजार किलो अंगुर उत्पादन भएको छ,’ उनले भने, ‘बजारको मूल्यअनुरुप प्रतिकिलो दुई सय रुपैयाँका दरले उक्त मूल्यको अंगुर उत्पादन भएको हो ।’ उक्त क्षेत्रमा करिब ९ हजार पाँच सय बिरुवा रोपिएको छ ।

    कम्पनीले वार्षिक १० हजार किलो अंगुर उत्पादन गर्ने लक्ष्य राखेकोमा लक्ष्यको नजिक-नजिक पुग्न सफल भएको उनले बताए । ‘जिल्लामा उत्पादन भएको सबै अंगुरबाट वाइन उत्पादन गर्न धादिङ पठाइएको छ,’ उनले भने, ‘कम्पनीले सात सय ५० एमएलको बोतलमा तीन प्रकारका वाइन उत्पादन गरिरहेको छ ।’

    धादिङको थाँक्रे गाउँपालिका-१० जुङेखोला केवलपुरमा १५ वर्षदेखि तीन सय रोपनी क्षेत्रफलमा ३० हजार बिरुवा लगाएर व्यावसायिक अंगुरखेती गरी वाइन उत्पादन गरिँदै आएको छ । कम्पनीले धादिङमा ३८ करोड ५० लाखको लागतमा अंगुरखेती र वाइन उत्पादन गर्दै आएको हो । वाइन बजारमा प्रतिबोतल एक हजार दुई सयमा बिक्री भइरहेको उनले बताए ।

    ‘हामीसँग हाल वार्षिक तीन लाख लिटर वाइन उत्पादन गर्ने क्षमता छ,’ उनले भने, ‘यसले पनि अंगुरखेतीलाई प्रोत्साहन गरेको छ ।’ वर्षमा एक पटक अंगुर फल्ने भएकाले अन्य समयमा फार्ममा रेखदेख, गोडमेल, काँटछाँट र बिरुवा मरेका ठाउँमा नयाँ बिरुवा लगाउनेलगायतका कार्य गर्ने गरिएको छ । फार्ममा विभिन्न ३२ प्रजातिका अंगुरखेती गरिए पनि ८ देखि १० प्रजातिका अंगुरले मात्रै राम्रो उत्पादन दिएको कार्कीले बताए ।

    फार्ममा हारियोमा सुजी, कायाबिनेट क्यान्टर, मनाज, सोबिनियन ग्रिस तथा खानका लागि फन्नी, सोफिया, आरकडिया, पोलिस्की, दुचबा, चालिचमानलगायतका जातका अंगुर छन् । अंगुरको बोटमा चैत, वैशाखमा फूल फूल्छ भने त्यसपछि तीन महिनामा फल टिप्न तयार हुने फार्ममा कार्यरत प्राविधिक सान्नानी तामाङले बताइन् ।

    फागुनदेखि फूल खेल्ने र असार पहिलो सातासम्म फल टिप्न सकिने छ । फार्ममा दैनिक ज्यालादारीमा आवश्यकता अनुरुप स्थानीय मानिसले प्रत्यक्ष रोजगारी पाउने गरेका छन् ।

    धादिङमा भएको फार्मका लागि बागमती प्रदेश बिग फार्म शीर्षअन्तर्गत १२ फार्ममा पर्न सफल भई ५५ लाख अनुदानसमेत प्राप्त गरिसकेको सञ्चालक कार्कीले बताए । घिरिङको माटोमा अंगुर उत्पादन राम्रो हुने भएपछि किसानलाई पनि खेतीतर्फ प्रोत्साहन गर्न पालिकासँग समन्वय भइरहेको कृषि शाखा अधिकृत रवि रामदामले बताएका छन् ।

    यस क्षेत्रको हावापानी र माटो अंगुरखेतीका लागि उपयुक्त मानिएकाले किसानलाई यसतर्फ आकर्षित गराउन लागिएको सो गाउँपालिकाले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार