काठमाडौँ / काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह ( बालेन) नेपाली क्रिकेट टिमलाई ढाडस दिँदै सफलताका लागि हिँड्नुपर्ने बाटो यही नै रहेको बताएका छन् ।
हिजोबाट सुरु भएको एसिया कप क्रिकेटमा नेपाल पाकिस्तानसँग २३८ रनको फराकिलो अन्तरले पारजित भएपछि सामाजिक सञ्जाल फेसबुकमा बिहीबार स्टाटस लेख्दै बालेनले सफलताका लागि हिँड्नुपर्ने बाटो यही नै रहेको बताएका छन् ।
उक्त स्टाटसमा बालेनले नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्कासँगको कुराकानीलाई पनि समेटेका छन् । पारससँगको कुरा उल्लेख गर्दै बालेनले लेखेका छन्, ‘एकपल्ट नेपालका सर्वकालिक खेलाडि पारस खडकाज्युसँग कुरा भएको थियो मेरो । उहाँ भन्नु हुन्थ्यो, २००८ ताका हामीलाई युएईको बलरसँग खेल्न एकदम गाह्रो हुन्थ्यो । बलको पेस र स्विङले गर्दा बल कहाँदेखि आउँथ्यो, हामीलाई थाहा नै हुन्न थियो । हामी उनीहरुसँग खेल्दै गयौँ । सिक्दै गयौँ । तर हामीले हिजोबाट सिकाइको नयाँ चरण भोगेको बालेनको भनाइ छ । त्यो सिकाइले हामीलाई भारतसँग खेल्न केही सहज बनाउने विश्वास उनले व्यक्त गरेका छन् ।’
‘अझै यस्तै विश्वस्तरीय टिम र खेलाडीहरुसँगको सिकाइले केही वर्षमा नै युएईहरुसँग सिकेर हामीले एसोसिएट मुलुकसँग राम्रो खेल्न सकेजस्तै भारत, पाकिस्तान जस्ता देशहरुसँग पनि अवश्य राम्रो गर्ने छौँ,’ बालेनले लेखेका छन्, ‘बाटो लामो छ तर सफलताका लागि हिँड्नु पर्ने बाटो यही हो । लगाउनु पर्ने हारहरुका मालाहरु पनि यिनै हुन् ।’
उनले खेलाडी, व्यवस्थापक र समर्थकहरुलाई सम्बोधन गर्दै लेखेका छन्, ‘हामी हिँडेको बाटो गलत छैन । जय नेपाल ।’ नेपालले आफ्नो दोस्रो खेलमा आगामी सोमबार भारतसँग खेल्दैछ ।