देशभर सुरु भयो माओवादीको रूपान्तरण अभियान, कुन नेता कहाँ ?

देशभर सुरु भयो माओवादीको रूपान्तरण अभियान, कुन नेता कहाँ ?

आइतवार, भदौ १७ २०८०
आइतवार, भदौ १७ २०८०
  • images
    images
    देशभर सुरु भयो माओवादीको रूपान्तरण अभियान, कुन नेता कहाँ ?

    काठमाडौँ  / झन्डै २५ लाख जनतासँग प्रत्यक्ष संवाद गर्ने लक्ष्यका साथ सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले शनिबारदेखि जनतासँग माओवादी रूपान्तरण अभियान सुरु गरेको छ। सो अभियानको उद्घाटन पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शनिबार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाबाट गरे।

    यस्तै, औपचारिक कार्यक्रमका लागि अध्यक्ष प्रचण्ड शनिबार नै चन्द्रागिरिस्थित वडा नं २ मा रहेको घट्टेडाँडा पार्कमा पुगेका थिए। गत स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले चन्द्रागिरि नगरपालिकाको वडा नं २ मा प्यानलसहितै विजयी भएको थियो। माओवादीले सात प्रदेशका सात सय ५३ वटै पालिकाका छ हजार सात सय ४३ वडामा नै शनिबार अभियानको उद्घाटन भएको जनाएको छ।

    जनताको घरदैलोमा पुग्ने र आफ्ना एजेन्डा बताउने लक्ष्यका साथ अभियान सुरु गरिएको माओवादीका नेताहरूले बताएका छन्। अभियानका क्रममा विकास निर्माणका काम पनि भएका छन्। कतै सफाइ अभियान चलेको छ। कतै रक्तदान त कतै सहिद परिवारलाई सम्मान गरिएको छ।

    सडक मर्मत गर्ने, स्थानीयसँग अन्तर्किया एवं पार्क सफाइ गर्ने कामसमेत अभियानको क्रममा सुरु भएको छ। यस्तै, सरकारले गरेको भ्रष्टाचार नियन्त्रण र सुशासनको पक्षमा गरेको काम कारबाहीलाई जनताको बिचमा लैजाने माओवादीको ध्येय छ।

    माओवादीले पहिलोपटक फरक कार्यक्षेत्रमा आफ्ना नेता तथा कार्यकर्ता परिचालन गरेको छ। त्यसबाट स्थानीयस्तरमा भएको कमी–कमजोरी सुधार्ने तथा नयाँ ढङ्गले सङ्गठनको विस्तार हुने केन्द्रको विश्वास छ। 

    माओवादीका हरेकजसो नेता अभियानमा खटिएका छन्। यसबाट जनतामा नयाँ खालको सम्बन्ध विकास हुने र त्यसले आगामी दिनमा पार्टी विस्तार गर्न सहयोग पुग्ने अपेक्षा लिइएको छ।

    अभियानको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाली जनतामा भरोसा जगाउन र सिङ्गो पार्टीपङ्क्तिमा उत्साहको सञ्चार गराउन आफूले सुशासनको पक्षमा भ्रष्टाचारविरोधी अभियान चलाउनुपरेको बताए।

    घट्टेडाँडा पार्कमा अध्यक्ष प्रचण्डलगायतका शीर्षनेतालाई स्थानीयवासीले पञ्चेबाजा बजाएर स्वागत गरेका थिए। 

    पार्कमा उनले बिरुवासमेत रोपेका थिए। गत केन्द्रीय समितिको बैठकले गरेको निर्णयानुसार नै सात प्रदेशका सातवटा वडामा अध्यक्ष प्रचण्ड आफैँ अभियानमा सहभागी हुने कार्यक्रम छ।

    प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले प्रतिक्रियावादीले अहिले पनि सत्तारुढ गठबन्धन फुटाउनका लागि आफ्नो भ्रष्टाचारविरोधी अभियानबारे भ्रम फैलाउने प्रयास गरिरहेको उल्लेख गरे। 

    आफूले यसपटक देश र जनताको पक्षमा केही न केही गर्ने लक्ष्यसाथ काम सुरु गरेको जानकारी दिँदै उनले भने, “यो पटक नयाँ सङ्कल्पसाथ प्रधानमन्त्री शपथग्रहणपछि नयाँ अभियानको थालनी आफैँले गरेँ, भ्रष्टाचारविरुद्ध सुशासनको अभियान। यो एउटा महाअभियान हो। यो एउटा ठूलो अभियान हो। यो एउटा नयाँ क्रान्ति हो। यो नयाँ प्रकारको जनयुद्ध नै हो।”

    उनले भने, “विगतमा जनयुद्धमा हामीलाई घेरा हाल्ने र सखाप पार्ने हिजोको सामन्ती राजा–महाराजाका सपना थिए। अहिले अनेक किसिमले हाम्रो गठबन्धन फुटाउन सरकारले सुरुआत गरेको सुशासन र भ्रष्टाचारविरोधी अभियानलाई भ्रमित पार्न अनेक कुचेष्टा भएको छ।”

    प्रधानमन्त्री दाहालले आफूले सुरु गरेको भ्रष्टाचारविरोधी अभियानलाई पनि नयाँ खालको जनयुद्धको रूपमा लिनुपर्ने दाबी गरे। अभियानकै क्रममा प्रधानमन्त्री प्रचण्डले नागढुङ्गा–सिस्नेरी सुरुङमार्गका आयोजना प्रमुखलाई फोन गरी तत्काल स्थानीयवासीको माग सम्बोधन गर्न निर्देशन दिए।

    स्थानीयले सुरुङ निर्माणको क्रममा घर तथा आवास चर्केको, पानीको मुहान सुकेको भन्दै समस्या समाधान गरिदिन प्रधानमन्त्रीसमक्ष माग गरेका थिए। स्थानीयको माग सम्बोधन गर्दै प्रधानमन्त्रीले सात दिनभित्र आवश्यक विवरण तयार पारेर आफूलाई भेट्नसमेत प्रधानमन्त्रीले निर्देशन दिए।

    कुन नेता कहाँ ? 

    पार्टीका वरिष्ठ उपाध्यक्ष तथा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ ललितपुरको सैँबुमा आयोजित कार्यक्रममा सहभागी भए। उपाध्यक्ष कृष्णबहादुर महरा सुनछहरी गाउँपालिका जेलवाङ रोल्पा, उपाध्यक्ष अग्निप्रसाद सापकोटा लिसङ्खुपाखर–३ सिन्धुपाल्चोक, उपाध्यक्ष पम्फा भुसाल ललितपुर महानगरपालिका–२२ मा अभियानको नेतृत्व गर्दै सहभागी भए।

    माओवादीका अनुसार महासचिव देवप्रसाद गुरुङ सुन्दरबजार नगरपालिका–८ भोटेओडार, उपमहासचिव गिरिराजमणि पोखरेल गोकर्णेश्वर नगरपालिका–४ काठमाडौँ, उपमहासचिव वर्षमान पुन कामनपा–१६ गोङ्गबु, उपमहासचिव हरिबोल गजुरेल कमलामाई नगरपालिका सिन्धुली, उपमहासचिव जनार्दन शर्मा चन्द्रागिरि नगरपालिका–२ काठमाडौँमा सहभागी भए।

    यस्तै उपमहासचिव शक्तिबहादुर बस्नेत भेरी नगरपालिका–१ जाजरकोट, उपमहासचिव मातृकाप्रसाद यादव वीरेन्द्रनगर नगरपालिका–१ सुर्खेत, सचिव दीनानाथ शर्मा बागलुङ नगरपालिका–१२ बाग्लुङ, सचिव चक्रपाणि खनाल विराटनगर महानगरपालिका–१८ मोरङ, सचिव देवेन्द्र पौडेल पोखरा महानगरपालिका–२० कास्की, सचिव लीलामणि पोखरेल बर्दिबास नगरपालिका महोत्तरी, सचिव गणेश साह काठमाडौँ महानगरपालिका–१० मध्यबानेश्वर काठमाडौँमा अभियानको नेतृत्व गरे।

    यसैगरी सचिव हितमान शाक्य सिस्ने गाउँपालिका–६ रुकुमपूर्व, सचिव हितराज पाण्डे पालुङटार नगरपालिका–६ गोरखा, सचिव डिलाराम आचार्य धनगढी उपमहानगरपालिका–१६ कैलाली, सचिव सुरेन्द्रकुमार कार्की बुद्धशान्ति गाउँपालिका–४ झापा र कोषाध्यक्ष श्रीराम ढकाल भने चन्द्रागिरि नगरपालिका–२ मा नै सहभागी भए। माओवादीले यसपटक सबै पदाधिकारीलाई अभियानको नेतृत्व गर्ने गरी कार्यक्षेत्र निर्धारण गरेको छ।

    अभियानको उद्घाटन गर्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले अभियानका मुलभूतरूपमा पाँचवटा कार्यभार रहेको चर्चा गर्दै राष्ट्रिय स्वाधिनता, अखण्डता र राष्ट्रिय सुरक्षालाई बलियो बनाउनु रहेको बताए।

    उनले सङ्घर्षपछि प्राप्त उपलब्धिको रक्षा गर्नु, परिवर्तनपछिको उपलब्धि अपहरण र प्रहार गर्ने षड्यन्त्र भइरहेकाले त्यसका विरुद्ध जनतालाई गोलबन्द गर्नु रहेको अभियानको अर्को कार्यभार रहेको बताए।

    यसैगरी राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धिबाट सामाजिक–आर्थिक रुपान्तरण गर्नु, नागरिकको जीवनमा देखिने गरी परिवर्तन गर्नु, जनताले अपेक्षा गरेअनुसार उपलब्धि भएन, सुखी जीवनयापनका लागि तीव्रगतिमा विकासका कार्य अगाडि बढाउनु तथा देशमै श्रम र रोजगारीको सुनिश्चित गर्नु अभियानको अर्को ध्येय रहेको उनको भनाइ छ।

    शान्ति प्रक्रियालाई पूर्णता दिँदै सङ्क्रमणकालीन न्याय पूरा गर्नु, सत्यनिरुपण तथा बेपत्ता छानविन आयोगका काम पूरा गर्नु तथा समाजवादको आधार तयार गरी समाजवादी नेपाल निर्माण गर्नका लागि जनमत तयार पार्नु अभियानको अर्को महत्त्वपूर्ण कर्तव्य भएको उनको भनाइ छ।

    बागमती प्रदेशका इञ्चार्जसमेत रहेका उपमहासचिव शर्माले जनताले चाहेको अधिकार, जनमुखी शासन प्रणाली र भ्रष्टाचारमुक्त समाज निर्णाण गर्न रुपान्तरण अभियान चलाइएको बताए। 

    चन्द्रागिरिको घट्टेडाँडामा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले ‘जनताको सुख–दुःखको साथी माओवादी हुनैपर्ने उल्लेख गरे।

    उनले रुपान्तरित हुनका लागि माओवादी जनताको घरदैलोमा आएको बताए। गोङ्गबुमा आयोजित अभियानको उद्घाटन गर्दै अर्का उपमहासचिव वर्षमान पुनले वर्तमान सरकारले देश र जनताको पक्षमा इमान्दार भएर काम गरिरहेको बताए। उनले भ्रष्टाचारमा दोषी देखिए माओवादीका नेता तथा कार्यकर्तालाई पनि कारबाहीको दायरामा ल्याउनैपर्ने बताए।

    उपमहासचिव पुनले माओवादीभित्र कोही भ्रष्टाचार र राज्य दोहनमा संलग्न भएको देखिए कसैले उन्मुक्ति नपाउने दोहोर्‍याए। 

    राष्ट्रिय र आत्मनिर्भर पुँजी निर्माण गर्ने राष्ट्रप्रेम तथा देशभक्तिको भावना भएका युवाहरूलाई तयार गर्ने अभियान पनि भएको उनको कथन छ। देशव्यापीरूपमा जनतासँग जोडिने लक्ष्यसाथ सुरु भएको अभियानले माओवादीलाई पुनःस्थापित गर्ने नेताहरूको भनाइ छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार