नेपालमा पत्रकारिता सुरुआत गर्ने व्यक्तित्व एवं राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५८ औँ जन्मजयन्ती आज नेपाल राज्यभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
विसं १९२३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर विसं १९५३ साल भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा निधन भएका मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पुर्याएका थिए।
नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिएका युवाकवि मोतीराम भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनाका साथै नेपालमा छापाखानासमेत भित्र्याएका थिए।
यही छापाखानामार्फत नेपालमा पत्रकारिताको सुरुआत भएको हो। दिवसका अवसरमा आज नेपाली शिक्षा परिषद्लगायत विभिन्न संस्थाले कार्यक्रम आयोजना गर्न लागेको जनाइएको छ।
नेपाली साहित्य व्योमका चम्किला नक्षत्र, बहुमुखी प्रतिभाका धनी, मोतीराम भट्ट नेपाली साहित्यका निम्ति अद्वितीय व्यक्तित्व हुन् ।
माध्यमिककालीन साहित्यका विराट प्रतिभा, मोतीरामले नेपाली साहित्य र पत्रकारिता क्षेत्रमा बिर्सनै नसकिने गुण लगाएका छन् । भक्ति धारामा सीमित प्राथमिक कालको साहित्य परम्परालाई भत्काउँदै माध्यमिक कालीन शृङ्गार धाराको विजारोपण गर्ने श्रेय मोतीरामलाई नै जान्छ । उनी शृङगार धाराका प्रवर्तक र प्रवर्धक दुवै हुन् । त्यसैले सिङ्गो माध्यमिक काललाई मोती युग वा शृङगार युग भन्ने चलन पनि छ ।
वंशज भने गुमाउगढबाट बसाइँ सरेर आएका मोतीराम भट्टको जन्म काठमाडौंमा भएको थियो । पण्डित दयाराम भट्ट र रिपुमर्दिनी देवीका प्रथम सन्तान जन्मनासाथ दिवङ्गत भएका थिए । त्यसैले माइला सुपुत्रको रूपमा मोतीरामको जन्म भएको थियो ।
उनी ६ वर्षको उमेरमा काशी पुगेका थिए । उनको शिक्षाको प्रारम्भिक जग काशीमा नै बस्यो । फारसी स्कुलमा भर्ना भई फारसी र उर्दू पढेका उनी भारतेन्दु हरिशचन्द्रको प्रभावले मोतीरामले, साहित्यका धेरै विधाहरूसँग परिचित हुने मौका पाए ।
नेपालमै बसेर संस्कृत र अंङ्ग्रेजी पढ्न थाले । मोतीरामले आइ. ए. सम्मको अध्ययन गरेका थिए ।
मोतीराम नेपाली साहित्यका अन्वेषक पनि हुन् । भानुभक्तको कृतिको खोजी गर्ने, पाण्डुलिपि खोजेर छपाउने, कार्यबाट पनि यिनी नेपाली साहित्यका कुशल अन्वेषक थिए भन्ने पुष्टि हुन्छ । त्यस्तैगरी मोतीराम भट्ट नाटककार तथा निर्देशक पनि थिए । भट्ट आफैले शकुन्तला, प्रिदर्शिका र पद्मावली जस्ता तीन नाटकहरू लेखेका थिए ।
मनोद्वेग प्रवाह (१९४२), प्रह्लाद भक्ति कथा (१९४३), शकुन्तला (१९४४) उषाचरित्र । (१९४४), पिकदूत (१९४४) प्रियदर्शिका (१९४९) भानुभक्तको जीवन चरित्र (१९४८) लगायत मोतीराम भट्टले दर्जनौं कृति लेखेका छन् । उनको साहित्यमा सक्रिय समय १५ वर्षजति रहेको देखिन्छ ।
विषमज्वरले सात महिना ओछ्यानमा थला परेका भट्ट कुशे औंसकिा दिन रोगसँग लड्दा लड्दै एकतीस बर्ष लागेकै दिन १९५३ सालमा पशुपति आर्यघाटमा उनको देहावसान भएको हो । उनको योगदानको कदर गर्दै मोतीरामकै नाममा युवावर्ष मोती पुरस्कार (२०४२) स्थापना गरिएको छ । मोतीरामकै नाममा हुलाक टिकट पनि प्रकाशन गरिएको छ । राष्ट्रिय विभूतिको रूपमा घोषणा गरी मोतीरामको योगदानको कदर गरिएको छ ।