काठमाडौँ / हिमालयन रि इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा उपासना पौडेललाई नियुक्त गरेको छ । गत साता बसेको कम्पनी सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृत रहेका चन्द्रशेखरनको राजीनामा स्वीकृत गर्दै नयाँ सीईओमा पौडेललाई नियुक्त गर्ने निर्णय गरेको हो।
पौडेलाई सीईओ नियुक्त गर्ने प्रस्ताव बीमा प्राधिकरणमा पठाएको छ । बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले पौडेललाई सीईओ नियुक्त गर्न प्राधिरकणमा पत्राचार भएको भएपनि प्राधिकरणले कुनै निर्णय नगरेको बताउँछन् ।
युनाइटेड इन्स्योरेन्स कम्पनीको सीईओ भइसकेकी पौडेल हाल हिमालयन रि–इन्स्योरेन्समा नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत छिन् । साविक युनाइटेड इन्स्योरेन्सबाट उपसना पौडेल कार्तिक अन्तिम साता बाहिरिएकी थिइन् ।
पौडेलले युनाइटेडमा डेढ वर्ष सिइओ र डेढ वर्ष नायब प्रमुख कार्यकारी अधिकृत सहित तीन वर्ष काम गरिन् । भारतको दिल्ली युनिभर्सिटिबाट एमबिए गरेकी पौडेलले भारतकै आईसीआईसीआई लोम्बार्ड इन्स्योरेन्स र भारतीय एक्सामा एक दशक भन्दा लामो समय काम गरेकी थिइन् । भारतबाट उनि सिधै तत्कालिन सानिमा जनरलको सहायक महाप्रवन्धक पदमा रहेर काम गरेकी थिइन् ।
भारतमै पढेर भारतमै एक दशक भन्दा लामो समय काम गरेकै कारण पनि उपसाना पूर्व सिइओ रामामुर्थीको रोजाइमा परेकी थिइन् । हिमालयनको सञ्चालक तथा प्रमुख लगानीकर्ता मारवाडी समुदायका धेरै छन् । उनिहरुको सम्बन्ध भारत सँग धेरै छ । त्यसैले गर्दा उनिहरुले भारतीय बजारमा राम्रो सम्बन्ध भएका जनशक्तिको खोजि गरिरहेका थिए ।