images
images

किन घटिरहेको छ सुनको मूल्य ?

किन घटिरहेको छ सुनको मूल्य ?

एक सातामा सुनको भाउ प्रतितोला ५ हजार २ सय रुपैयाँले घटेको छ ।

मंगलवार, असोज १६ २०८०
मंगलवार, असोज १६ २०८०
  • किन घटिरहेको छ  सुनको मूल्य ?

    काठमाडौँ / पछिल्लो केही दिन यता सुनचाँदीको मूल्यमा निरन्तर गिरावट आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घको तथ्याङ्क अनुसार एक सातामा सुनको भाउ प्रतितोला ५ हजार २ सय रुपैयाँले घटेको छ । गत मङ्गलबार १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आजसम्म घटेर १ लाख ६ हजार ६ सय रुपैयाँमा झरेको छ । सोमबारको तुलनामा आज सुनको भाउ प्रतितोला १ हजार ३ सय रुपैयाँले घटेको हो । आज तेजावी सुनको भाउ प्रतितोला १ लाख ६ हजार १ सय रुपैयाँ रहेको छ भने चाँदी प्रतितोला १ हजार ३ सय १० रुपैयाँ रहेको छ । सोमबार चाँदीको मूल्य १ हजार ३ सय ४० रुपैयाँ थियो । 

    images
    images

    किन घटिरहेको सुनको मूल्य ? 

    विश्व बजारमा मागभन्दा बढी सुनको आपूर्ति भएको कारणले सुनको मूल्यमा गिरावट आएको देखिन्छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका संस्थापक अध्यक्ष मणिरत्न शाक्यका अनुसार पछिल्लो समय मूल्य घट्नुमा अन्य प्रमुख कारण नभई ‘सेलिङ प्रेसर’ रहेको बताउँछन् । उनका अनुसार विश्वबजारमा ठुलो मात्रामा सुनको ‘सेलिङ प्रेसिर’ बढिरहेको छ । विभिन्न बैङ्कहरू, कम्पनीहरू र व्यक्तिसमेतले आफ्नो आवश्यकता पूर्तिका लागि भएको सुन बिक्री गर्ने गरेको कारणले ‘सेलिङ प्रेसिर’ बढेको उनको भनाइ छ । त्यस्तै, अर्को कारण युरोपियन मुलुकहरू र अमेरिकालगायतका देशमा बेरोजगारीको समस्या उच्च हुँदै गएको छ । आम्दानी नभएपछि मानिसहरूले भएको सुन बेचेर आवश्यकता टार्ने गरेका छन् ।

    अमेरिकालगायतका देशहरूमा आम्दानी घटेका कारण हाउस सेलिङ पनि कम भइरहेको छ । यसको असर पनि सुनको बजार प्रभावित भएको उनले बताए । उनी भन्छन्, “युरोपियन मुलुकहरू र अमेरिकामा बेरोजगारी समस्या बढ्दा आफुसँग भएको सुन बिक्री गरेर खर्च चलाउन थालेका छन् । अर्को कारण आम्दानी घटेका कारण अमेरिकालगायतका देशहरूमा हाउस सेल घटेको छ । यसले पनि सुनमा प्रभाव पारेको हो ।” 

    शाक्यका अनुसार विश्व बजारमा सुनमाफियाहरूले चलखेल गर्न लागेको हो कि भन्ने आशंका पनि गरिएको छ । केही समयअघि अर्थशास्त्रीहरूले विश्व बजारमा सुनको मूल्य डेढदेखि दुई लाख पुग्छ भनेका थिए । तर, भनेअनुसार मूल्य नबढ्दा सुनको बिक्री भने बढ्न थालेको उनको भनाइ छ । अमेरिका र चाइनाको ट्रेड वार पहिलेभन्दा केही शान्त हुनु र युक्रेन र रसिया युद्ध रसियाले सोचेजस्तो नहुनु पनि सुनको बिक्रीमा गिरावट आउने कारणहरू हुन सक्ने शाक्यले बताए । 

    आन्तरिक बजारमा पनि घट्यो माग 

    आन्तरिक बजारमा पनि सुन बिक्री गरेर आवश्यकता आपूर्ति गर्ने क्रम बढेको उनले जानकारी दिए । मूल्य बढेपछि नेपाली बजारमा खरिद गर्नेभन्दा बिक्री गर्नेहरू बढेको उनी बताउँछन् । उनी भन्छन्, “नेपाली बजारमा महङ्गी बढेको छ । घरखर्च चलाउन आम्दानीले नपुगेपछि सुन बिक्री गर्ने क्रम बढिरहेको छ ।”

    कर बृद्धि र अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेका कारण नेपालमा सुनको मूल्य उच्च छ । जसले गर्दा बजार प्रायः सुनसान रहने शाक्यको भनाइ छ । सिजनमै पनि सुनको माग हुन नसकेको उनले बताए । उनी भन्छन्, “तीन चार बर्षअघिको तथ्याङ्कको आधारमा तीजको मौसममा ३० केजीभन्दा बढी काँचो सुन खपत हुनुपथ्र्यो । तर यस बर्ष त्यसको तुलनामा १५ प्रतिशत पनि हुन सकेन । दशैँको समयमा ३५÷४० किलो कट्नुपथ्र्यो । लगनको समयमा भूकम्पअघि ६० किलो सुन खपत हुन्थ्यो भने अहिले ४० किलोमा सीमित भएको छ ।”

    यसपालि दशैँ तिहारमा ३० किलोसम्म सुन खपत हुने अनुमान गरिएको शाक्यले बताए । उनले थपे, “यस बर्ष दशैँ तिहारको बजार केही सकारात्मक देखिएको छ । हाम्रो अनुमानमा यसपालि भने २५÷३० किलोसम्म सुन खपत हुनसक्छ ।” अहिले दैनिक सुनको मूल्य घटिरहेको कारण नेपालीहरू ‘पर्ख र हेर’को अवस्थामा रहेको उनले बताए । खरिद गरेकाहरूले सुनको मूल्य घट्ने देखेर त्रसित भएर बिक्री गरिरहेको र खरिद गर्नेहरू अझै घट्छ कि भनेर पर्खिरहेको अवस्था रहेको उनको भनाइ छ । 

    अझै कति घट्छ मूल्य ? 

    नेपालमा अन्तर्राष्ट्रिय मूल्यका आधारमा सुनको भाउ निर्धारण हुने गर्दछ । आज अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔँस २ हजार २० डलर रहेको छ । यो मूल्य घटेर २ हजार डलरसम्म कायम हुने अनुमान गरिएको शाक्यले जानकारी दिए । जुन नेपाली बजारमा १ लाख ५ हजार रुपैयाँ हुन आउँछ । मूल्य घटेर २ हजार डलरसम्म भएमा नेपालमा सुनको भाउ घटेर प्रतितोला १ लाख ५ हजार प्रतितोलासम्म कायम हुने उनले बताए । 

    सुन आयातको सीमा बढाउदा किन उत्साही छैनन् व्यवसायी ? 

    नेपाल राष्ट्र बैङ्कले दैनिक सुन आयात गर्न पाउने परिमाणको सीमा बढाए पनि व्यवसायीहरू भने उत्साही भएका छैनन् । बजारमा माग नभएपछि आयातको सीमा बढाउनुको औचित्य नभएको उनीहरूको भनाइ छ । दैनिक १० किलो मात्रै सुन आयात गर्न दिइरहेको केन्द्रीय बैङ्कले अब २० किलोसम्म सुन ल्याउन दिने भएको हो । बैङ्कले बुधबार परिपत्र जारी गर्दै आयातको सीमा बढाउने निर्णय कार्यान्वयनमा ल्याएको हो । तर, बजारमा माग कमजोर भएको समयमा सुन आयातको सीमा बढाउनुको कुनै अर्थ नभएको व्यवसायीहरूको भनाइ छ । अहिले १० किलोको कोटामा पनि सुनको माग बढ्न नसकेको शाक्य बताउँछन् । 

    सरकारले विगतमा विदेशी मुद्रा सञ्चिति घटेको समयमा सुन आयातमा कडाइ गर्दै दैनिक १० किलोको सीमा लगाएको थियो तर अहिले विदेशी मुद्राको सञ्चिति बढेसँगै राष्ट्र बैङ्कले सीमा बढाएको हो । सुन आयात परिणाको सीमा बढाए पनि सरकारले एउटा महिनामा सुन आयात नभएको सट्टा अर्को महिनामा आयात गर्न नपाइने प्रावधान उल्लेख गरेको छ । 

    दुई महिनामा ४ अर्ब १२ करोडको सुन आयात 

    चालु आर्थिक बर्षको दुई महिनामा ४ अर्ब १२ करोड रुपैयाँ बराबरको सुन आयात भएको भन्सार विभागको तथ्याङ्क छ । यस अवधिमा ५ सय ग्राम सुन खरिदबापत ४ अर्ब १२ करोड ८१ लाख ८३ हजार रुपैयाँ विदेशिएको हो । सुन आयातबाट सरकारले दुई महिनामा ६१ करोड ९२ लाख ३३ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । गत आर्थिक बर्ष २०७९÷८० मा २२ अर्ब ३५ करोड ४५ लाख ९१ हजार रुपैयाँ बराबरको २ हजार ९१६ किलो सुन आयात भएको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार