काठमाडौँ / चालु आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा नेपालले कूल ९ खर्ब २१ अर्ब १६ करोड रुपैयाँको वैदेशिक व्यापार गर्दा ७ खर्ब २३ अर्ब ५८ करोड १३ लाख रुपैयाँ बढी घाटा व्यहोरेको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत पुस मसान्तसम्ममा ८ खर्ब २२ अर्ब ३७ करोड ५ लाख रुपैयाँ बराबरको वस्तु आयात हुँदा ९८ अर्ब ७८ करोड ९२ लाख रुपैयाँ बराबरको मात्रै निर्यात भएको छ ।
गत आर्थिक वर्षको अर्धवार्षिक समीक्षा अवधिको तुलनामा चालु आवको सोही अवधिमा आयात ७ प्रतिशत र निर्यात ३१.७८ प्रतिशतले बढेको छ ।
त्यस्तै, व्यापार घाटा ४.३८ प्रतिशतले बढेको छ । गत आवको अर्धवार्षिक समीक्षा अवधिको तुलनामा चालु आवको सोही अवधिमा कूल वैदेशिक व्यापारमा निर्यातको योगदान २.०१ प्रतिशतले घटेर ८९.२८ प्रतिशत कायम भएको छ ।
नेपालले सबैभन्दा धेरै व्यापार घाटा भारतसँग व्यहोरेको छ ।
पछिल्लो ६ महिना अवधिमा भारतबाट ५ खर्ब २ अर्ब ८५ करोड रुपैयाँ बराबरको वस्तु आयात गर्दा ७३ अर्ब ७१ करोड १२ लाख रुपैयाँ बराबरको निर्यात गरेको छ । जसअनुसार यो अवधिमा भारतसँगको मात्र व्यापार घाटा ४ खर्ब २९ अर्ब १४ करोड रुपैयाँ बराबर छ ।
त्यस्तै, चालु आवको पुस मसान्तसम्ममा चीनसँग १ खर्ब ५८ अर्ब ६२ करोड रुपैयाँ र अर्जेन्टिनासँग २२ अर्ब ६२ करोड रुपैयाँ व्यापार घाटा व्यहारेको छ ।
नेपालले १२३ मुलुकसँग व्यापार घाटा बेहोरेको छ भने ३२ वटा मुलुकसँग व्यापार नाफा बेहोरेको छ । नेपालले गर्ने वैदेशिक व्यापारमा बढी नाफा रहेका मुलुकमा डेनमार्क, अस्ट्रिया, रसियन फेडेरेसन, माल्दिभ्सलगायत छन् ।