काठमाडौं/ निर्माण व्यवसायीहरुले दसैँ अघि नै भुक्तानी पाउने भएका छन् । सरकारले निर्माण व्यवसायीहरुलाई ६ अर्ब रुपैयाँ भुक्तानी गर्न लागेको अर्थमन्त्रालयले जनाएको छ । लामो समयदेखि निर्माण क्षेत्रमा भुक्तानी हुन नसकेर व्यवसायीहरु आन्दोलित थिए । भने निर्माण क्षेत्र पनि असहज थियो ।
गत वर्ष दायित्व सिर्जना भइ भुक्तानी हुन बाँकी रहेको निर्माण व्यवसायीहरुको ६ अर्ब रुपैया भुक्तानी हुने अर्थमन्त्रालयले जनाएको छ ।
निर्माण व्यवसायीको भुक्तानी दसैँ अघि नै खातामै पाउने गरी नीतिगत निर्णय गरेर सम्बन्धित कार्यालयहरुमा परिपत्र गरिसकेको अर्थमन्त्रालयले भनेको छ ।
निर्माण व्यवसायीहरुका अनुसार अझै कागजात पेस भएका विभिन्न आयोजनाको ७ अर्ब रकम भुक्तानी हुन बाँकी रहेको छ । अर्थमन्त्री डा. रामशरण महतले भुक्तानी क्रमशः हुँदै जाने बताएका थिए ।