images
images

वैदेशिक शिक्षा : तीन महिनामा नै बाहिरियो झण्डै ३३ अर्ब रुपैयाँ !

वैदेशिक शिक्षा : तीन महिनामा नै बाहिरियो झण्डै ३३ अर्ब रुपैयाँ !

देशकै ठूलो विश्वविद्यालयको बजेटभन्दा बढी रकम वैदेशिक शिक्षाको नाममा बाहिरिन्छ !

शुक्रवार, कार्तिक २४ २०८०
शुक्रवार, कार्तिक २४ २०८०
  • वैदेशिक शिक्षा : तीन महिनामा नै बाहिरियो झण्डै ३३ अर्ब रुपैयाँ !

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो तीन महिनामा नेपालबाट वैदेशिक शिक्षाको नाममा झण्डै ३३ अर्ब रुपैयाँ बाहिरिएको छ । तथ्याङ्क अनुसार गत आर्थिक बर्षको सोही अवधिमा १७ अर्ब ८९ करोड रुपैयाँ वैदेशिक शिक्षाको नाममा बाहिरिएको थियो । 

    images
    images

    पछिल्लो समय वैदेशिक शिक्षाका नाममा देश छाड्ने युवाको संख्या तीव्र गतिमा बढ्दो छ ।विगतमा गाउँ खाली गरेर काठमाडौँ आउनेहरूको ट्रेन्ड फेरिएर अहिले काठमाडौँ छाडेर युरोप, अस्ट्रेलिया, जापान, क्यानाडा, अमेरिका लगायत विश्वका विकसित र राम्रा भनिएका मुलुकमा जाने प्रवृत्ति बढ्दै गइरहेको छ । 

    नेपालमा दर्जनको हाराहारीमा विश्वविद्यालय छन्, हजारौं क्याम्पस छन् । सिप आर्जनका लागि इन्स्टिच्युटहरु छन् । प्राविधिक शिक्षालयको पनि समस्या छैन तर, पनि मुलुकमा रोजगारी र भविष्यको सुनिश्चितताको सम्भावना नदेखेपछि युवाको एउटै मात्र सोच त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा विद्यार्थी भिसा च्यापेर देश छाड्ने, विदेश जाने र जे भए पनि काम गर्ने ! 

    सेवा आयमा २९ अर्ब ५६ करोड घाटा

    शैक्षिकसँगै व्यावसायिक तथा अन्य भ्रमणले सेवातर्फको व्यापारमा मुलुकलाई ठूलो घाटा लाग्न पुगेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/८१ को पहिलो तीन महिनामा खुद सेवा आय २९ अर्ब ५६ करोड रुपैयाँ घाटामा रहेको छ । 

    आर्थिक वर्षको असोज मसान्तसम्ममा सेवा खाता अन्तर्गत भ्रमण शीर्षकतर्फ खुद ३४ अर्ब ७८ करोड रुपैयाँ घाटा व्यहोरेको सरकारले वैदेशिक शिक्षा खर्चतर्फ यसै अवधिमा ३२ अर्ब ९२ करोड रुपैयाँ गुमाएको हो । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवाआय २३ अर्ब ७४ करोड रुपैयाँले घाटामा गएको थियो ।

    साथै, समीक्षा अवधिमा सेवा खाता अन्तर्गत भ्रमण आय ५१.३ प्रतिशतले वृद्धि भई १७ अर्ब २ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लोवर्षको सोही अवधिमा यस्तो आय ११ अर्ब २४ करोड रुपैयाँ रहेको थियो ।

    समीक्षा अवधिमा सेवा खाता अन्तर्गत भ्रमण व्यय ७६.१ प्रतिशतले वृद्धि भई ५१ अर्ब ८० करोड रुपैयाँ पुगेको छ भने सो मध्ये शिक्षातर्फको व्यय ३२ अर्ब ९२ करोड रुपैयाँ रहेको राष्ट्र  बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय २९ अर्ब ४१ करोड रुपैयाँ रहेकोमा शिक्षातर्फको व्यय १७ अर्ब ८९ करोड रुपैयाँ रहेको थियो ।

    ५ बर्षमा वैदेशिक शिक्षाको नाममा बाहिरियो साढे २ खर्ब भन्दा बढि रकम ! 

    नेपालबाट ५ बर्षको अवधीमा २ खर्ब ६५ अर्ब २० करोड रकम बाहिरिएको छ । कोरोनापछि विदेश अध्ययनमा जाने नेपाली विद्यार्थीको संख्या बढेसँगै नेपालबाट पैसा बाहिरिने क्रम बढेको हो । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक बर्ष २०७९/८० मा मात्रै नेपाली विद्यार्थीहरुले १ खर्ब ४२ करोड रुपैयाँ विदेश लिएर गएका थिए । उक्त समयमा  १ लाख १० हजार २ सय १७ जना विद्यार्थीले नो अब्जेक्सन सर्टिफिकेट अर्थात एनओसी लिएका थिए । आर्थिक बर्ष २०७८/७९ को तुतनामा यस्तो खर्च ४८.३३ प्रतिशतले बढेको हो । आर्थिक बर्ष २०७८/७९ मा यस्तो खर्च ६७ अर्ब ७० करोड रुपैयाँ रहेको  केन्द्रीय बैंकको तथ्याङ्कले देखाउँछ ।
     
    २०७६ को अन्त्यमा अर्थात कोरोना महामारी सुरु भएसँगै २०७७ र २०७८ मा नेपालबाट विदेशिने विद्यार्थीको संख्या अत्याधिक घटेको थियो । अन्तराष्ट्रिय सीमानाकाहरु बन्द भएसँगै नेपाल सरकारले पनि एनओसी वितरण पनि बन्द गरेको थियो । जसका कारण यी दुई बर्ष नेपालबाट विदेश जाने विद्यार्थीहरुको संख्यामा अत्याधिक गिरावट आएको थियो । शिक्षा मन्त्रालय अन्तर्गत वैदेशिक अध्ययन अनुमतिपत्र शाखाका अनुसार आर्थिक बर्ष २०७६/७७ र २०७७/७८ मा एनओसी लिने विद्यार्थीहरुको संख्या क्रमशः ३३ हजार ३७ र २९ हजार ४ सय ३२ थियो भने उक्त दुई बर्षमा शैक्षिक यात्रामार्फत क्रमशः २४ अर्ब ९५ करोड र २५ अर्ब ८१ करोड रुपैयाँ मात्रै बाहिरिएको थियो । 

    तथ्याङ्क अनुसार नेपालबाट हरेक बर्षमा १ खर्ब भन्दा बढि रकम शिक्षाकै नाममा बाहिरिदै छ । यसरी खर्बै रुपैयाँ शिक्षाकै नाममा बाहिरिनुले ‘ब्रेन ड्रेन’को खतरा पनि बढ्दै गइरहेको छ । ‘ब्रेन ड्रेन’एक प्रकारको बसाइसराइ हो, जसले आर्थिक रूपमा पिछडिएको देशका दक्ष मानिसहरू राम्रो अवसरको खोजीमा विकसित देशहरूमा सर्ने गर्दछ । यो पनि बसाइसराइ कै आर्थिक परिणाम हो।
     
    कुन आर्थिक बर्षमा कति रकम बाहिरियो ? 
     
    आर्थिक बर्ष २०७९/८०– १ खर्ब ४२ करोड
     
    आर्थिक बर्ष २०७८/७९– ६७ अर्ब ७० करोड
     
    आर्थिक बर्ष २०७७/७८– २४ अर्ब ९५ करोड
     
    आर्थिक बर्ष २०७६/७७– २५ अर्ब ८१ करोड
     
    आर्थिक बर्ष २०७५/७६– ४६ अर्ब ३२ करोड

    देशकै ठूलो विश्वविद्यालयको बजेटभन्दा बढी रकम बाहिरिन्छ 

    चालु आर्थिक बर्षको लागि त्रिभुवन विश्वविद्यालयले २६ अर्ब २४ करोड ९४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । तर, त्योभन्दा ठूलो रकम वैदेशिक अध्ययनका नाममा बाहिरिएको तथ्याङ्क छ । राष्ट्र बैंकको रिपोर्टअनुसार चालु आर्थिक बर्षको तीन महिनामा मात्रै त्रिभुवन विश्वविद्यालयको बजेट भन्दा ६ अर्ब ६८ करोड रुपैयाँ बढि रकम वैदेशिक शिक्षाको नाममा बहिरिएको छ । 

    यस्तै, गत आर्थिक बर्ष २०७९/८० मा त्रिभुवन विश्वविद्यालयले २४ अर्ब ८७ करोड ५७ लाख १४ हजार रुपैयाँको बजेट पारित गरेको थियो । रिपोर्टअनुसार आर्थिक बर्ष २०७९/८० मा विदेश अध्ययन गर्न जान नेपाली विद्यार्थीले १ खर्ब ४२ करोड रुपैयाँ खर्च गरेका छन् । उच्चशिक्षा अध्ययन गर्ने देशभरका विद्यार्थीको ८० प्रतिशत त्रिविमा अध्ययनरत छन् ।

    शिक्षा क्षेत्रमा बजेट कति ? 

    शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर सरकारले आर्थिक वर्ष २०८०/८१ मा शिक्षा, विज्ञान तथा प्रविधि क्षेत्रको कूल विनियोजित परिमार्जित वार्षिक बजेट एक खर्ब ९७ अर्ब २९ करोड रुपैयाँ विनियोजन गरिएको छ। यो कुल बजेटको ११.२६ प्रतिशत हो। आर्थिक वर्ष २०७९/८० का लागि शिक्षामा कुल एक खर्ब ९६ अर्ब ३३ करोड रुपियाँ छुट्याइएको थियो। 

    अन्तर्राष्ट्रिय मान्यता अनुसार कुल बजेटको २० प्रतिशत रकम शिक्षा क्षेत्रका लागि बिनियोजन हुनुपर्दछ । शिक्षा क्षेत्रमा सरकारले गरेको लगानी न त व्यवहारिक छ न रोजगारमूलक नै । जसका कारण धेरै युवाहरू नेपालमा पढेर कुनै सीप तथा ज्ञान प्राप्त गरिन्छ भन्ने कुरामा विश्वस्त छैनन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार