झापा / मेचीनगर नगरपालिका–१२ स्थित प्राकृतिक रबर उद्योगमा आज आगलागी हुँदा रु ३५ लाखको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र रिजालका अनुसार शुक्रबार बिहान ९ बजेतिर उद्योगको स्मोक हाउसबाट अचानक सल्किएको आगोले उद्योगको मेसिनरी र भण्डारण कक्षमा क्षति पुर्याएको थियो ।
आगलागीबाट उद्योगको रोलर मेसिन र स्मोक हाउसमा पूर्णरूपमा क्षति पुगेको र भण्डारण गरेर राखिएको १० टन तयारी रबर खरानी भएको उद्योगका सञ्चालक शान्तिराम चिमरियाले बताए।
भण्डारण कक्षमा राखिएको डेढ सय मन धानसमेत जलेको छ । मेचीनगर नगरपालिकाबाट आएको दुईवटा दमकलले स्थानीयवासीको सहयोगमा आगो निभाएको थियो । झापामा प्राकृतिक रबरको खेती र उत्पादन हुँदै आएको छ ।
रबरको रुखबाट सङ्कलन गरिने दूध जस्तै देखिने तरल पदार्थलाई प्रशोधन गरेर तयारी रबर बनाउने गरिन्छ । आगलागी भएको उद्योग रबर जोनमार्फत सरकारकोसमेत अनुदानमा स्थापना भएको थियो ।
यसैगरी, शनिबार बिहान गौरादह–२ का मुक्तिप्रसाद मिश्रको गोठमा आगलागी हुँदा रु एक लाख ६० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
खोले पकाउने क्रममा अचानक गोठमा सल्किएको आगोका कारण एउटा बाच्छी जलेर मरेको छ भने एउटा गाई घाइते भएको उनले जानकारी दिए। आगो गौरादह र कमल गाउँपालिकाको दमकल, स्थानीयवासी र प्रहरीले गोठमा लागेको आगो नियन्त्रणमा लिएका छन् ।