काठमाडौँ / सुनको मूल्यले आज दोस्रो दिन पनि रेकर्ड ब्रेक गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज मङ्गलबार सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । सोमबारको तुलनामा प्रतितोला ३ सय रुपैयाँले बढेर आज छापावाल सुनको मूल्य १ लाख १७ हजार ७ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख १७ हजार १ सय ५० रुपैयाँ पुगेको छ ।
हिजो सोमबार नेपाली बजारमा सुनको भाउ प्रतितोला १ लाख १७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । यता, चाँदीको भाउ भने आज स्थिर रहेको महासङ्घले जनाएको छ । चाँदी आज प्रतितोला १ हजार ५ सय रुपैयाँमा नै कारोबार हुनेछ ।
किन बढ्यो सुनको मूल्य ?
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा लगानीका मुख्य क्षेत्र अमेरिकी डलर र पेट्रोलियम पदार्थका तुलनामा सुन नै सबैभन्दा सुरक्षित र प्रतिफल योग्य ठानिएकाले यसको मूल्य लगातार बढ्दो क्रममा देखिएको छ । त्यस्तै, नेपालले डलरको आधारमा विदेशी राष्ट्रसँग व्यापार गर्ने गर्दछ । जसले गर्दा डलरको मूल्य बढ्दा सुनको मूल्य स्वतः प्रभावित हुन्छ ।
यद्यपि, डलरको मूल्य बढ्दा नेपालको अर्थतन्त्र प्रभावित भए पनि विश्व बजारमा पछिल्लो समय डलरको विश्वसनीयता कम भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष मणिकरत्न शाक्य बताउँछन् ।
विश्वका ठुला अर्थतन्त्र भएका मुलुकहरू ब्राजिल, रसिया, इन्डिया, चाइना, साउथ अफ्रिकालगायतका देशहरूले खडा गरेको ब्रिक्स समूहले डलरको विकल्पमा नयाँ मुद्रा जारी गर्ने चर्चालेसमेत सुनको मूल्य वृद्धि हुनुमा भूमिका खेलेको उनको भनाइ छ ।
अध्यक्ष शाक्यले भने, “यसले सुनको विकल्पमा ग्यारेन्टी भएको नोट प्रचलनमा ल्याउनुपर्छ भनेर नयाँ मुदाको सुरुवात गर्दै छ । विश्व बजारमा डलरको विकल्पको खोजी भइरहेको छ । डलर अहिले कागजी रूपमा मात्रै छ । युक्रेन–रुस युद्ध, प्यालेसटाइन–इजरायलको युद्धमा भूमिका देखिएसँगै डलरको विश्वनीयतामा कमि आइरहेको छ ।” डलरको विकल्पमा नयाँ मुद्रा सुनको ग्यारेन्टीको रूपमा राख्ने भएपछि यसले सुनको मागसँगै मूल्यमा दबाव परेको उनले बताए ।
“यसले सुनको भाउमा प्रेसर बढेको छ । डलर नेपालको सन्दर्भमा महँगो भए पनि विश्व बजारमा यसको विश्वसनीयतामा कमि आएको छ । अमेरिकाले तिर्नुपर्ने ऋण तिर्न नसकेर डिफल्ड गर्ला कि भन्ने विश्व बजारमा शंका गरिएको छ । ठुला अर्थतन्त्र भएका मुलुकहरूले डलरलाई विश्वास गर्न छोडेका छन्,” उनले भने ।
अमेरिकामा ब्याजदर वृद्धि रोक्ने अनुमानका कारण सुनको भाउ वृद्धि भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । त्यस्तै, २०२४ मा विश्वव्यापी मन्दीको डर, बढ्दो मूल्यवृद्धि र विश्वभरका केन्द्रीय बैङ्कहरूले सञ्चितीका लागि सुन खरिद गर्दा मूल्य प्रभावित भएको हो ।
के हो ब्रिक्स समूह ?
बीबीसीका अनुसार सन् २००१ मा गोल्डमन स्याक्सका एक अर्थविद् जिम ओनीलले ब्राजिल, रुस, भारत र चीनको सङ्क्षिप्त रूप ‘ब्रिक’ बनाएका थिए । उनले सन् २०५० सम्म यी देशहरू विश्वको अग्रणी अर्थतन्त्र बन्ने भविष्यवाणी गरेका थिए ।
सन् २००६ मा ती चारवटा देश मिलेर ब्रिक समूह गठन गर्ने निर्णय गरे । सन् २०१० मा दक्षिण अफ्रिका आबद्ध भएपछि त्यो ब्रिक्स बन्न पुग्यो । आईएमएफ र विश्व बैङ्क जस्ता अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूको सुधार गर्ने उपायको खोजी गर्नु र उदीयमान अर्थतन्त्रहरूको ‘आवाज र प्रतिनिधित्व’ गर्ने ब्रिक्सको उद्देश्य रहेको छ ।
ब्रिक्स देशहरूको कुल जनसङ्ख्या ३.२४ अर्ब छ भने तिनको कुल राष्ट्रिय आय २६० खर्ब डलर छ अर्थात विश्व अर्थतन्त्रको २६ प्रतिशत हिस्सा रहेको बीबीसीले उल्लेख गरेको छ । अन्तर्राष्ट्रिय व्यापार र वित्तमा अमेरिकी डलरको प्रभुत्वलाई चुनौती दिन ब्रिक्स समूहका लागि साझा मुद्रा प्रचलनमा ल्याइनुपर्ने ब्रजिल र रुसका अग्रणी राजनीतिज्ञहरूले प्रस्ताव गरेका थिए ।
‘ब्रिक्स’ देशहरूको धारणा राखेका गोल्डम्यान स्याक्सका जिम ओनीलले यूकेको फाइनान्सियल टाइम्स पत्रिकालाई साझा मुद्राको धारणा ‘हास्यास्पद’ भएको बताएका थिए । पछिल्लो समय डलरले विश्वसनीयता गुमाउदै गएको र सुनको ग्यारेन्टीको रूपमा नयाँ मुद्रा आउने विषय चर्चामा आइरहेको छ ।
अझै कति बढ्ला ?
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस २ हजार १५ डलरमा कारोबार हुँदैछ । अब यो मूल्य बढेर ३ हजार डलर पुग्ने अनुमान गरिएको छ । सुनको तौल प्रतिऔँस बराबर ३१.१ ग्राम हुन्छ । सुनबाहेक अन्य वस्तुमा भने प्रतिऔँस बराबर २८.३४ ग्रामले हिसाब गरिन्छ ।
त्यस्तै, प्रतितोला सुन ११.६६४ ग्राम बराबर हुन्छ । अहिले डलरको बिनिमयदर एक सय ३३ रुपैयाँ ७० पैसा छ । यदी, सुनको मूल्य प्रतिऔँश ३ हजार डलर पुगेमा नेपालमा नेपालमा प्रतिऔँस सुनको करिब ४ लाख रुपैयाँ पर्न आउँछ । जसअनुसार एक तोला सुनको भाउ प्रतितोला डेढ लाख रुपैयाँभन्दा बढी पर्ने देखिन्छ ।
अन्तर्राष्ट्रिय बजारमा हुने सुनको मूल्य निर्धारणले नै नेपाली बजारमा पनि मूल्य तोकिन्छ । नेपाली बजारको मागले मूल्यमा खासै भूमिका खेल्दैन । नेपालमा रहेका सुनचाँदी व्यवसायी महासङ्घहरूले जुन दिन सुनको मूल्य तोक्ने हो, सोही दिन ११ बजेसम्म अन्तर्राष्ट्रिय बजारमा कायम हुने मूल्यलाई आधार लिन्छन् ।
सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत सुन र चाँदीको भन्सार दर १५ प्रतिशतले वृद्धि गरेको थियो । १५ प्रतिशत राजस्व र बैङ्कको ब्याजदरलगायतको खर्च गरी अन्तर्राष्ट्रिय बजारको तुलनामा नेपालमा सुनको मूल्य झण्डै १८ प्रतिशत बढी रहेको छ । यसकारण अन्तर्राष्ट्रिय बजारको तुलनामा नेपाली बजारमा सुनको मूल्य उच्च हुने गरेको छ ।
सिजनमै सुनसान छ बजार
मूल्य उच्च हुँदा बजारमा सुन खरिद गर्ने उपभोक्ताको चहलपहल नभएको अध्यक्ष शाक्यले बताए । माग नहुँदा सुनको आयात पनि घटेको भन्सार विभागको तथ्याङ्क छ । विभागका अनुसार चालु आवको कार्तिक मसान्तसम्म ८ अर्ब २० करोड ८१ लाख रुपैयाँ बराबरको १ हजार केजी ५०० ग्राम मात्रै सुन आयात भएको छ ।
गत आवको सोही अवधिमा नेपालले ७ अर्ब ९५ करोड १८ लाख रुपैयाँ बराबरको १ हजार १ सय १६ केजी ५४६ ग्राम सुन आयात भएको थियो । जुन ११६ केजी अर्थात १०.३९ प्रतिशतले कम हो ।
आर्थिक मन्दीको मार खेपिरहेको नेपालमा सुनको मूल्य वृद्धि हुँदा अर्थतन्त्रमा थप दबाव पुग्ने देखिन्छ । सिजनको समयमा सुनको मूल्य वृद्धि हुँदा र आर्थिक मन्दीका कारण सोचेजस्तो व्यापार हुन नसकेको अध्यक्ष शाक्यले बताए । उनले भने, “बजार सुनसान छ । सोचेजस्तो व्यापार छैन । अब नेपालीहरूले सुन किन्न सक्दैनन् । अब सुनको मूल्य नेपालीहरूको पर्चेज क्यापसिटीभन्दा बाहिर जाने देखिन्छ ।”
आधारभूत खर्चका लागि पैसा नभएको समयमा सुनमा खर्च गर्दैनन् । जसले गर्दा नेपाली बजारमा खरिद गर्नेभन्दा बिक्री गर्ने बढी देखिएको व्यवसायीहरू बताउँछन् । भूकम्पअघि लगनको समयमा ६० किलो सुन खपत हुन्थ्यो भने अहिले ४० किलोमा सीमित भएकोमा बढ्दो मूल्यवृद्धिले अझै खपत घट्ने व्यवसायीहरूको भनाइ छ ।