images
images

सार्वजनिक ऋणको भार २३ खर्ब ५७ अर्ब, तपाईको भागमा कति पर्छ ?

सार्वजनिक ऋणको भार २३ खर्ब ५७ अर्ब, तपाईको भागमा कति पर्छ ?

हरेक नेपालीको टाउकामा ८० हजार ८ सय १९ रुपैयाँ बराबरको ऋणको भार !

बिहिवार, मंसिर १४ २०८०
बिहिवार, मंसिर १४ २०८०
  • सार्वजनिक ऋणको भार २३ खर्ब ५७ अर्ब, तपाईको भागमा कति पर्छ ?
    images
    images

    काठमाडौँ / तपाईको टाउकामा ऋणको भार कति छ ? उत्तर पनि तपाईसँगै छ । व्यक्तिगत कारोबारका लागि लिइएको ऋणको हिसाब व्यक्तिगतरुपमा नै हुन्छ । त्यसको जिम्मेवार पनि तपाई नै हो ।  तर, देशले लिएको ऋण तपाई हामी सबैको गन्तीमा हिसाब गर्दा के कति पुग्यो होला ? आम मानिसको चासो स्वभाविकरुपमा रहन सक्छ नै । 

    सरकारले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार हरेक नेपालीको टाउकामा ८० हजार ८ सय १९ रुपैयाँ बराबरको ऋणको भार परेको छ । सार्वजनिक ऋण व्ययवस्थापन कार्यालयको विवरणअनुसार नेपालको कूल सार्वजनिक ऋण २३ खर्ब ५७ अर्ब ६ करोड ८७ लाख रुपैयाँ  पुगेको छ । यो नेपाली जनताले तिर्नुपर्ने ऋण भने होइन । तर, सरकारले तिर्ने ऋण भने अवश्य नै हो । गत आर्थिक बर्ष २०७९/८० को अन्तयसम्ममा यस्तो ऋण २२ खर्ब ९५ अर्ब रुपैयाँ थियो । 

    कूल सार्वजनिक ऋणमध्ये कात्तिकसम्ममा सरकारले तिर्न बाँकी कुल ऋणमध्ये बाह्यभन्दा आन्तरिक ऋण करिब १० अर्ब रुपैयाँले बढी छ । कात्तिकसम्ममा ११ खर्ब ८३ अर्ब ५७ करोड २१ लाख आन्तरिक ऋण र ११ खर्ब ७३ अर्ब ४९ करोड ६६ लाख बाह्य ऋण तिर्न बाँकी छ । 

    पछिल्ला वर्षमा सार्वजनिक ऋण उच्च दरले बढेको छ । सोही क्रममा पछिल्लो पाँच वर्षमा मात्र १३ खर्ब ७ अर्ब रुपैयाँ सार्वजनिक ऋण थपिएको सरकारी प्रतिवेदनले देखाएको छ । यसले उक्त अवधिमा हरेक वर्ष औसतमा साढे २ खर्बभन्दा बढीले सार्वजनिक ऋण बढिरहेको देखाउँछ । 

    कार्यालयको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७९/८० सकिँदासम्म २२ खर्ब ९९ अर्ब ३५ करोड २४ लाख रुपैयाँ बराबर थियो । चालु आर्थिक वर्षको शुरुआती चार महिनामा मात्रै १ खर्ब ३५ अर्ब ३९ करोड रुपैयाँ बराबर ऋण थपिएको छ । 

    आर्थिक वर्ष २०७३/७४ मा नेपालको सार्वजनिक ऋण ६ खर्ब ९७ अर्ब ६८ करोड बराबर थियो । भस्कम्पपछिको पुनःसंरचनाका लागि नेपालले ठूलो माात्रामा ऋण उठाएपछि आर्थिक बर्ष २०७४/७५ मा यस्तो ऋण ९ खर्ब १७ अर्ब पुग्यो । 

    यस्तै, २०७५/७६ मा सार्वजनिक ऋण १० खर्ब ४८ अर्ब रुपैयाँ, २०७६/७७ मा १४ खर्ब ३३ अर्ब रुपैयाँ, २०७७/७८ मा १७ खर्ब ३७ अर्ब रुपैयाँ, २०७८/७९ मा २० खर्ब १३ अर्ब रुपैयाँ र २०७९/८० मा २२ खर्ब ९५ अर्ब रुपैयाँ बराबर पुगेको छ । हरेक वर्ष ऋण बढेसँगै तिर्नुपर्ने साँवा र ब्याज पनि बढ्दै गएको सरकारी तथ्यांक छ ।

    हरेक वर्ष बजेटको आकार बढ्दै गएकाले सार्वजनिक ऋणको आकारसमेत बढ्दै गएको छ । यसो हुँदा सार्वजनिक ऋणको साँवा भुक्तानी वार्षिक वृद्धिदर बढ्दै गएको छ । 

    कात्तिकसम्मको सार्वजनिक ऋण नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को अनुपातमा करिब ४३.८० प्रतिशत हो । राष्ट्रिय तथ्यांक कार्यालयले गत आर्थिक वर्षमा जीडीपी ५३ खर्ब ८१ अर्ब रुपैयाँ पुग्ने प्रक्षेपण गरेको थियो ।

    1.JPG

    सरकारले तिर्यो ८१ अर्ब ऋण 

    सरकारले चालु आर्थिक वर्षको चार महिनामा ८१ अर्ब रुपियाँभन्दा बढी ऋण तिरेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार कात्तिकसम्म सरकारले ८१ अर्ब ६४ करोड ३३ लाख रुपैयाँ बराबर ऋणको साँवा तथा ब्याज भुक्तानी गरेको हो । 

    यसमध्ये सरकारले आन्तरिक ऋणबापतको ६५ अर्ब ४५ करोड ८३ लाख रुपैयाँ भुक्तानी गरेको छ । भुक्तानी भएमध्ये ४२ अर्ब ८४ करोड १७ लाख रुपैयाँ साँवा र २२ अर्ब ६१ करोड ६६ लाख रुपैयाँ ब्याज रहेको छ । 

    त्यस्तै सरकारले कात्तिकमा १६ अर्ब १८ करोड ६१ लाख रुपैयाँ बराबरको बाह्य ऋणबापतको दायित्व भुक्तानी गरेको छ । जसमध्ये १२ अर्ब ६० करोड ५१ लाख रुपैयाँ साँवा र ३ अर्ब ५८ करोड १० लाख रुपैयाँ ब्याज भुक्तानी भएको छ । 

    चार खर्ब ५२ करोड ऋण उठाउने लक्ष्य

    सरकारी राजस्व सङ्कलनको तुलनामा ठूलो आकारको बजेट ल्याउँदा सरकारले आन्तरिक र बाह्य ऋणलाई बजेट स्रोतका रुपमा देखाउँछ । सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को घाटा बजेट पूर्ति गर्नका लागि रू चार खर्ब ५२ अर्ब ७५ करोड बराबर ऋण उठाउने लक्ष्य राखेको छ । जसमध्ये रू दुई खर्ब ४० अर्ब आन्तरिक र रू दुई खर्ब १२ अर्ब ७५ करोड बाह्य ऋण उठाउने सरकारको लक्ष्य छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार